काठमाडौँ, जेठ २८ गते। राष्ट्रिय वाणिज्य बैङ्कको मुलुकभरका विभिन्न शाखाबाट छानिएका २५ प्रबन्धकहरूको सहभागितामा आयोजित पाँचदिने प्रबन्धकस्तरीय समग्र बैङ्किङ तालिम आइतबारबाट सुरु भएको छ।
तालिम कार्यक्रमको बैङ्कका नायब महाप्रबन्धक ज्योतिचन्द्र ओझाले एक समारोहबीच शुभारम्भ गर्नुभएको वाणिज्य बैङ्कले जनाएको छ। व्यवसाय विस्तार, मुनाफा, जनसेवाका क्षेत्रमा शाखाहरूको कार्यदक्षता वृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। बैङ्कको केन्द्रीय कार्यालय तालिम तथा विकास विभागले आयोजना भएको तालिम थापाथलीस्थित बैङ्कको सभाकक्षमा सञ्चालन हुने जनाइएको छ। कार्यक्रममा नायब महाप्रबन्धक ओझाले राष्ट्रिय वाणिज्य बैङ्कसँग कर्जा प्रवाह योग्य तरलता सुदृढ रहेकोले न्युन ब्याजदर तथा स्तरीय ग्राहक सेवाजस्ता सवलपक्षको अधिकतम सुदपयोग गर्दै गुणस्तरीय कर्जा प्रवाहमा जोड दिन प्रबन्धकहरूलाई आग्रह गर्नुभएको थियो।
ओझाले नेपाल राष्ट्र बैङ्कको निर्देशानुसार बैङ्कले छिट्टै व्यावसायिक, कृषि र विद्युत् उत्पादनका क्षेत्र लक्षित कर्जा सेवाहरू बजारमा ल्याउन लागेको जानकारी दिँदै यसबाट बैङ्कले कर्जा प्रवाहका क्षेत्रमा नयाँ प्रस्थानबिन्दु प्राप्त गर्ने बताउनुभयो। बैङ्कका ब्रान्च अपरेसन विभागका प्रमुख भेषराज पन्थी, तालिम विभागका उपप्रमुख मित्रलाल पंगेनी, लेखा अधिकृत शिवराज पौडेललगायतले तालिमको उपादेयताबारे प्रकाश पार्नुभएको थियो।