काठमाडौँ, जेठ २८ गते। दुई दिनको अन्तरमा थ्री बाई थ्री राष्ट्रिय बास्केटबलको दुई प्रतियोगिता हुने भएका छन्। नेपाल बास्केटबल सङ्घ -नेबा)ले सोमबार दोस्रो पि्रमियर कप र के गरिरा नामक संस्थाले मङ्गलबार पहिलो रुसलान बिग बक्स खुला थ्री बाई थ्री राष्ट्रिय बास्केटबल प्रतियोगिता गर्ने घोषणा गरेका छन्। नेबाको आयोजनामा हुने प्रतियोगितामा नगद पुरस्कार राखिएको छैन भने बिगबक्स खुला थ्री बाई थ्री बास्केटबलमा आकर्षक नगद पुरस्कारको व्यवस्था छ।
नेबाका वरिष्ठ उपाध्यक्ष तथा प्राविधिक निर्देशक नरेन्द्र थापाले दुई आयोजकबीच पहिले नै कुराकानी नहुँदा प्रतियोगिता जुधेको जानकारी दिए। बिगबक्स खुला थ्री बाई थ्री बास्केटबलको प्राविधिक टोली नेबाकै रहने पनि उपाध्यक्ष थापाले जनाए।
तीनदिने पि्रमियर कपमा कास्की, सुनसरी र झापा जिल्लाले सहभािगता जनाउने छन्। पुरुष बास्केटबलमा २४ र महिला बास्केटबलमा १२ टोली रहनेछन्। यो प्रतियोगिता गि्रसमा हुने थ्री बाई थ्री वल्र्ड बास्केबल च्याम्पियन्सीपको छनोटका रूपमा पनि रहेको छ। ग्रीसमा आगामी अगस्टमा प्रतियोगिता हुने बताइएको छ।
प्रतियोगिताबाट पहिलो चरणका लागि दस/दस पुरुष र महिलाको खेलाडीको चयन गरिनेछ। अन्तिम चरणमा चार पुरुष र चार महिला खेलाडी वल्र्ड च्याम्पियन्सीपका लागि छनोट हुनेछन्। पि्रमियर कलेजको प्रायोजनमा सञ्चालन हुने प्रतियोगिताको पछिल्लो वर्ष गोल्डेन गेटले जितेको थियो।
यसैगरी, नकआउटको आधारमा सञ्चालन हुने रुसलान बास्केटबलमा १६ देखि २० टिम सहभागी हुने अनुमान गरिएको छ। चारदिने प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ५० हजार तथा तेस्रो स्थान र उत्कृष्ट खेलाडीले समान २५/२५ हजार रुपियाँ प्राप्त गर्नेछन्।