संविधानसभाको समय सीमा समाप्तिपछि पार्टीहरूको विवाद अहिले चरमचुलीमा छ। सरकारमा रहेका एवं सरकार समर्थक दल र व्यक्तिहरू एक कित्तामा र सरकार विरोधीहरू अर्को कित्तामा देखिएका छन्। अहिले के देशका राजनीतिक शक्तिहरूबीच राजनीतिक ध्रुवीकरण सुरु भएको हो ? प्रश्न उठिरहेछ।
बाह्रबुँदे समझदारीपछि राजतन्त्र एकातर्फ र विरोधीहरू अर्कोतर्फ भएका थिए। सो घटना सबैले चाल पाउने प्रकारको ध्रुवीकरण थियो। जब ध्रुवीकरण हुन्छ, दुई ध्रुवबीच टक्कर हुन्छ, तत्काल एउटाको विजय र अर्काको पराजय अवश्यम्भावी हुन्छ। सो बेला त्यस्तै भयो, एक ध्रुवको पराजय भयो, राजतन्त्रले घुँडा टेक्यो।
समाजमा निरन्तर शक्तिहरूबीच मेल र टक्कर भइरहन्छ। यसले समाजमा गति पैदा गर्छ र परिवर्तन भइरहन्छ। यो कुनै नौलो कुरा हैन। जब एक प्रकारको ध्रुवीकरण प्रक्रिया अन्त भएर अर्को प्रक्रिया सुरु हुन्छ अब धेरैलाई नौलो अनुभूति हुनथाल्छ।
राजतन्त्रको अन्त पछि यहाँ ध्रुवीकरणको नयाँ प्रक्रिया सुरु हुन अनिवार्य थियो। अहिले सो प्रक्रियाको प्रारम्भ भइरहेछ। अझै यसले स्पष्ट आकार ग्रहण गर्न सकिरहेको छैन, यो प्रक्रियामा नै छ। ध्रुवीकरण प्रक्रियाले स्पष्ट आकार ग्रहण गर्दै जाँदा अहिले एक या फरक ठाउँमा देखिएका शक्तिहरू पनि यता उता हुन्छन्, होलान् भन्ने आकलन गर्न सकिन्छ।
अहिले सबै राजनीतिक पार्टीभित्र विवाद देखिन्छ। विवादका कारण कतिपय स-साना पार्टीहरू त फुटि पनि सकेका छन्। कुनै दिन कुनै पनि बेला अमूक ठूलो पार्टी फुट्यो वा चोइटियो भन्ने समाचार बाहिर आयो भने कसैलाई नौलो नलाग्ने भएको छ।
नफुटेकाहरू प्रायः सबै फुटको डिलमा पुगेका देखिन्छन्। यस्तै बेला नयाँ राजनीतिक शक्तिको उदय पनि हुनसक्छ, भइरहेको राजनीतिक शक्ति अस्त हुन पनि बेर लाग्दैन। राजनीतिक शक्तिहरूबीच ध्रुवीकरण प्रक्रिया चलिरहेकोले यस्तो भइरहे जस्तो देखिँदैछ। अझै बढी हुँदै जाने देखिन्छ। यो प्रक्रियामा पछाडि भएका वा अस्तित्वमा नभएका समेत कोही अगाडि आउने र अगाडि भएका कोही पछाडि धकेलिने हुनजान्छ। यहाँ पनि यस्तो हुनसक्नेछ।
हाम्रो सन्दर्भमा यहाँ मूलतः दुईथरि शक्ति विद्यमान छन्। वर्गीय हिसाबले यी दुईवर्गको प्रतिनिधित्व गर्छन्- श्रमिक र पुँजीपति वर्ग। यी दुई वर्गभित्र पनि विविध रूप छन्। यी प्रत्येक वर्ग र तीभित्र भएका विविध रूपका कारण तिनैको प्रतिविम्बको रूपमा हाम्रा सामु विविध पार्टी देखापरेका छन्। बाहिर जो जस्तो देखिए पनि ध्रुवीकरण प्रक्रियाले स्पष्ट आकार ग्रहण गर्दै जाँदा को कता लाग्छ त्यसले उसको कित्ता काट गर्नेछ। भन्ने एक थोक गर्ने अर्कोथोक वालाको मिति सकिँदै जानेछ। केही समय अलमल्याउन सके पनि भनाइ र गराइमा फरक पार्नेले लामो समय अलमल्याउन सम्भव हुन्न।
शक्तिहरूबीच भएको विवादमा अहिले को तिर बढी जनसमर्थन छ भनेर देखाउने कसरत दुवै तर्फबाट भइरहेछ। विवादको मूल मुद्दा आगामी मङ्सिर सात गतेका लागि घोषित संविधानसभाको निर्वाचन देखिएको छ। सहमतिको राग सबै तर्फबाट अलापिएको छ। अन्य विकल्प बाँकी नरहेकोले चुनाव घोषणा गर्नुपरेको भनिरहेको सरकार पक्ष सहमति भए जे गर्न पनि तयार भनिरहेछ, विरोधीहरू पहिला प्रधानमन्त्रीको राजीनामा भनिरहेछन्।
यो सरकार अर्को सरकार नआएसम्मका लागि मात्रै हो भन्नुले स्वभावतः राजीनामा दिएपछि बन्ने सरकारकै हैसियतमा यो भए पनि राजीनामाको लागि विपक्षी माग जारी छ। सहमति बेगर अघिबढ्न गाहारो हुने भए पनि सहमतिका लागि प्रयत्न सुरु भइसकेको छैन। सङ्घर्ष र सहमतिका स्वर एकसाथ सबैले भनिरहनुले ध्रुवीकरण प्रक्रियाले स्पष्ट आकार ग्रहण गरिनसकेको भन्न सकिन्छ।
ध्रुवीकरणले स्पष्ट आकार ग्रहण गर्दा दुई ध्रुवबीच सङ्घर्ष प्राथमिकतामा रहन्छ। तर अहिले सबैको नारा 'सहमति' हुनुले सङ्घर्ष गौण र मेल प्रधान देखिन्छ। अहिलेको द्वन्द्व सरकार र विपक्षी पार्टीहरूबीच हो कि पार्टी-पार्टी बीच हो अस्पष्ट जस्तो देखिन्छ। यी दुवै एकै जस्तो लागे पनि यी अलग कुरा हुन्।
ध्रुवीकरणले स्पष्ट आकार लिएको समय यी एकाकार हुन्छन्, अहिले यी एकाकार छैनन्। दुई पक्षबीच संवादको बाटो सकिन्छ, अहिले संवाद जारी छ। यसैले अहिलेको अवस्था ध्रुवीकरणको पूर्वाभ्यास जस्तो मात्रै छ।
अहिले सरकार र विपक्षी पार्टीबीच मिल्न नसक्ने मागहरू देखिन्नन्। विपक्षी पार्टीहरू सरकार कामचलाउ भनिरहेछन्, सरकारले यसलाई नकारेको छैन। विपक्षीहरू कामचलाउ सरकार पनि भन्ने त्यसको राजीनामा पनि माग्ने परस्पर असङ्गत कुरा गर्दैछन्। यसले विपक्षीहरूको मागको दम घटाइदिएको छ। चुनाव घोषणा नगरेर के गर्नुपथ्र्यो, यस्तो विकल्प बाँकी थियो भन्न नसकेको अवस्थाले पनि सीधा टक्करको अवस्था नरहेको देखिन्छ।
यही जेठ २६ गतेको खुलामञ्चमा भएको विपक्षीहरूको आमसभामा विपक्षी नेताहरूले दिएका विकल्पमध्ये एक चुनाव पनि हो भन्नुले मागमा ठूलो अन्तर देखिन्न। यसबीच विपक्षीहरू राष्ट्रपतिलाई गैह्र संवैधानिक तवरले अगाडि ल्याउन पनि पछि नपर्ने जस्तो देखिँदैछ। गुलियो हालेको छ भनेर विष पिउन हुँदैन। विपक्षको यस प्रयत्नप्रति सङ्केत गर्दै याक एण्ड यति होटलमा गरिएको सरकार समर्थक पार्टीहरू र विभिन्न तह तप्काका व्यक्तित्वबीच गरिएको जेठ २३ गतेको अन्तक्रिर्यामा प्रधानमन्त्रीले कसैले संविधान विपरीत काम गर्न नहुने र एउटाले गरे अर्कोले पनि गर्नसक्ने भनेर सचेत गराएको देखिन्छ। साथै एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले उक्त २३ गतेको अन्तक्रिर्या कार्यक्रममा सबै विकल्प खुला भएको भनिनुले पनि दुई पक्षबीचको खाडल साँघुरो भएको देख्न सकिन्छ। प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्व प्रधानमन्त्रीहरूसँग गरिएका भेटमा सहमतिका लागि अनुरोध गरेको र सहमति भए आफू त्यसको बाधक नहुने भन्नुले पनि पक्ष र विपक्ष नजिकै रहेको देखाउँछ।
यसो भन्दैमा अहिलेका पक्ष-विपक्षका गठबन्धन केही हैनन् भन्ने होइन, यी भावी स्पष्ट ध्रुवीकरणका पूर्वाभ्यास भने अवश्य हुन्। राजतन्त्रको अन्त्य एवं एक प्रकारको ध्रुवीकरणको अन्त्य पछि अर्को ध्रुवीकरणको भ्रूण या बीज उसै बेला रोपण भएको थियो।
संविधानसभाको बनोट, जसमा संविधान निर्माणका लागि सहमति हुनुपर्ने अनिवार्य थियो त्यो अवस्थाले सो भ्रूण वा बीजको विकास तुलनात्मक रूपमा ढिलो भयो। अहिले पनि विना सहमति निर्वाचन वा अन्य विकल्पमा जान बाधा छ, यो परिस्थितिका कारण भ्रूणको विकास राम्ररी हुनसक्दैन। संविधानसभाको अन्त्यले केही समय देखापरेको बेमेलले अलिकति सो बीजले मलजल प्राप्त गर्नुले अहिलेको अवस्था देखापर्न सकेको हो। तर यो फेरि ठिम्मुरिनपर्ने बाध्यता छ।
कहिले प्रकट र कहिले अप्रकट हुँदै आएको ध्रुवीकरण प्रक्रियाका दुई ध्रुवका आ-आˆना तर्फका नेता माओवादी र काङ्ग्रेस हुन्। दुवै ध्रुवमा यी बराबरको अर्को शक्तिको उदय नहुँदासम्म ध्रुवीय नेतृत्व यिनैको रहनेछ। अन्य शक्ति यिनका सहयोगी हुन्। माओवादीको उदय पछि काङ्ग्रेसको सहयोगीको भूमिकामा एमाले छ। यसले आˆनो धरातल खुस्काएको छ। यो न श्रमिक वर्गको प्रतिनिधित्व गर्छ न पुँजीपति वर्गको। पुँजीपति वर्गको विश्वासिलो नेता अर्को हुनुले सो बाटो यसका लागि अवरुद्ध छ। यसैले अब यसले चाहेर वा नचाहेर काङ्ग्रेसको सहयोगीको नियति बेहोर्नुपर्छ, बेहोरिरहेछ।
काङ्ग्रेसी ध्रुवमा पूर्व पञ्चहरू पनि छन्। यसले पनि साबित गर्छ यो पश्चगामी वा यथास्थितिवादी ध्रुव हो। यसमा सामेल केही साना कम्युनिष्ट भनिनेहरूको पातलो पर्दाले ढाकेको प्रगतिशीलताको नारा पूर्वपञ्चहरूसँगको समेत सहकार्यले च्यातिएको छ।
माओवादीभित्रको वैद्य खेमाले विपरीत धु्रवको नेता काङ्ग्रेस तथा उपनेता एमालेसँग गर्नखोजेको सहकार्यले उसको विद्रोह एवं क्रान्तिकारी चरित्र देखाउने दाँत मात्रै हो भन्ने देखिँदै थियो। अहिलेको ध्रुवीकरणको पूर्वाभ्यासले वैद्य खेमा धर्म संकटमा छ। विपरीत ध्रुवमा जाँदा नाङ्गै हुने र आˆनै ठाउँमा बस्दा तुलनात्मक रूपमा कमजोर हुने अवस्था छ। असार एक गते गरिने भनिएको भेलामा वैद्य खेमाले पार्टी फुटाउने र मोहनविक्रमजीको जस्तै भित्र पार्टी र बाहिर मोर्चा बनाउने रे भन्ने पनि सुनिँदै छ। यस्तो भयो भने वैद्यजी नयाँ मोहन हुनुहुनेछ। मोहनविक्रमको नियति मोहनवैद्यले पनि भोग्नुपर्ने हुनसक्छ। तत्काल नयाँ ध्रुव निर्माण गर्न नसक्ने यो खेमाका प्रयास विपरीत ध्रुवका सहयोगी मात्र हुने, सो गर्न यो अनिच्छुक परिस्थितिबीच उसको विपरीत ध्रुव तर्फको यात्रा केही समय रोकिनुपर्ने अवस्थामा छ। ध्रुवीकरणको वर्तमान अभ्यासले कम्तीमा माओवादीको सम्भावित फुट रोकिनै पर्ने देखिन्छ।
अन्य विकल्पमा गए पनि केही समय पछि हुने चुनावै हो। अहिले घोषित चुनाव हुने भयो भने सबैले आ-आˆना सुर कस्छन् र यी गठबन्धन समाप्त हुनेछन्। यी गठबन्धन ध्रुवीकरणका अभ्यास त हुन् तर पूर्ण ध्रुवीकरण होइनन्, यसैले सबैले भनिने गरेको सहमतिको नाराको कारण अहिलेको ध्रुवीय टक्कर मत्थरिनै पर्ने देखिन्छ।