अन्तर्राष्ट्रिय बालश्रमबिरुद्धको ११ औं दिवस मङ्गलबार नेपालमा पनि मनाइयो। "बालबालिकालाई माया गरौं, बालश्रमको प्रयोग नगरौ" भन्ने नाराका साथ यो दिवस मनाइदै गर्दा मुलुकभर २१ लाख ४० हजार बालबालिका आर्थिक रूपमा जीवन गुजाराका लागि सक्रिय रहेका श्रम तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ। तीमध्ये झण्डै एक लाख २७ हजार निकृष्ट र छ लाख २१ हजार बालबालिका जोखिमपूर्णर् श्रममा संलग्न रहेका विभिन्न गैरसरकारी संस्थाहरूका अध्ययनले देखाएका छन्। यसरी हेर्ने हो भने नेपालमा बालश्रमिकको समस्या भयावह रहेको अनुमान गर्न सकिन्छ।
बालबालिकालाई श्रममा लगाउँदा उनीहरूको स्वास्थ्य प्रतिकूल रहने र व्यक्तित्व विकासका अन्य अवसरबाट समेत बञ्चित हुने र अर्कोतिर यसबाट विभिन्न सामाजिक विकृतिहरू पनि आउन सक्ने अवस्था देखिएकाले बालश्रमलाई बहु प्रकारका समस्याको कारण मान्न सकिन्छ। वर्तमान समय विश्वव्यापीकरणको हो। देश र महादेशको प्रभाव अन्यत्र पर्न सक्ने भएकाले बालश्रमका बारेमा पनि विश्वव्यापी समान मान्यता र दृष्टिकोण राख्नु आवश्यक हुन्छ तर यसको मतलव यो होइन युरोपको बच्चाले जे काम गर्दा बालश्रम हुन्छ नेपालमा पनि त्यो बालश्रम हुन्छ। नेपाली समाज आर्थिक रूपले विपन्न, सामाजिक रूपले सामूहिक दायित्वबोध र विश्वासका हिसावले "जिउदै मर्याको भनी नाम कस्को, उद्यम विना बित्दछ काल त्यस्को" भन्ने मान्यतामा दीक्षित भएकाले यसका आफ्नै मौलिकता छन्। यहाँका बालबालिका कुनै न कुनै रूपले उमेरअनुसार परिवारप्रति उत्तरदायी हुने भएकाले जन्मिएपछि यस्ता दायित्व पूरा गर्नुपर्दछ भन्ने मान्यतामा हुर्कन्छन्, जबकि पश्चिमा बालबालिका त्यहाँको संस्कृतिअनुसार "जसले जन्मायो हुर्काउने दायित्व पनि त्यसैको हो" भन्ने अधिकारमुखी -राइटवेस) दृष्टिकोणबाट हुर्किएका हुन्छन्। त्यसैले हाम्रा सन्दर्भमा बालश्रमको परिभाषा, मापदण्ड र त्यसलाई हेर्ने दृष्टिकोणमा आकाश जमिनको भिन्नता रहन्छन्।
आमाबाबु मेलामा जानुपर्दा भाइको कोर्को हल्लाएर बस्नुपर्ने बालिका दिदीको बाध्यता हाम्रो सन्दर्भमा बालश्रम र बालअधिकारको हनन् नहुन पनि सक्दछन्। यसैगरी, गरिब र बाध्यताले कि काम गर्नुपर्ने कि भोकै मर्नुपर्ने बाध्यतामा रहेका बालबालिकालाई घरायसी सामान्य काममा लगाएर बाँच्ने अवसर दिनुलाई बालश्रम कि बालसंरक्षण भन्ने आफ्नै सन्दर्भ र सामथ्र्यमा परिभाषा गर्नुपर्ने हुन्छ। यद्यपि बालबालिकालाई संरक्षण दिने नाममा केही व्यक्ति वा निकायले गरेका र गर्नसक्ने ज्यादतीप्रति आँखा चिम्लनु पर्दछ भन्ने होइन केवल बालश्रमलाई स्थानीयतामा बुझ्नु आवश्यकता छ। कतिपय अवस्थामा संयुक्त राष्ट्र सङ्घको सदस्य राष्ट्रको नाताले ऊ र अन्तर्राष्ट्रिय अन्य दस्तावेजले जे भनेको छ त्यसैलाई जस्ताको त्यस्तै आफ्ना मान्यता बनाउनु पर्दछ भन्ने हुँदैन। संयुक्त राष्ट्र सङ्घले आदिवासीका लागि गरेको परिभाषा भारत र चीनले स्वीकार गरेका छैनन्। त्यसरी नै बालश्रमलाई पनि हेर्नुपर्दछ। बालश्रमको मापदण्ड र परिभाषालाई स्थानीय सम्पन्नता, मानव विकास र अवसरका दृष्टिकोणबाट पनि बुझ्नु जरुरी हुन्छ। बालश्रमलाई सामाजिक विज्ञानको सन्दर्भमा बुझियो भने यसको पहिचान प्राकृतिक विज्ञान -पेओर साइन्स) को जस्तो दुईभाग हाइड्रोजन र एकभाग अक्सीजन मिसायो भने पानी बन्दछ भन्नेजस्तो सर्वदेशीय मान्यतामा स्थापित हुन सक्दैन।
नेपालमा रहेको बालश्रम वास्तविकतामा पहिचान गरिएको भन्दा पनि अधिकारका लागि -एड्भोकेसी वेस) मा गरिएको पाइन्छ। जसले तथ्याङ्कलाई बढाइचढाइ गरिएको अनुमान पनि गरिएको छ। पछिल्ला वर्षहरूमा तथ्याङ्क र विषयलाई माध्यम बनाइ विदेशी दातृनिकायको ध्यानाकर्षण गर्ने नेपाली मानसिकता पनि निकै फस्टाएको छ। बालश्रमविरुद्धमा काम गर्ने थुप्रै गैरसरकारी र केही सरकारी निकायहरूले वसन्तपुरबाट पुलिस क्लबसम्म जुलुस प्रदर्शन गरेर जनचेतना जगउने काम गर्नुलाई सकारात्मक मानिए पनि बालश्रम उन्मुलन गर्ने तरिका यो होइन। त्यसैले अहिलेलाई बालश्रमलाई समस्या देख्नु भन्दा पनि बालश्रमलाई वर्गीकरण गर्नमा ध्यान दिनुपर्दछ। बालश्रमलाई ज्यादै ठूलो समस्याका रूपमा हेर्नुभन्दा पनि यस्तो श्रमले उनीहरूको व्यक्तित्व विकासमा कहाँ कति अवरोध गर्दछ भनेर ती अवरोध हटाउनतिर अबको ध्यान खिचिनु पर्दछ। नेपालले १६ वर्षमुनिकालाई बालबालिका भनेर परिभाषित गरेकाले त्यो उमेर समूहका बालबालिकालाई कति र कसरी काममा लगाउँदा "बालश्रम" हुँदैन भनेर राष्ट्रिय मापदण्ड बनाउनु र यस्ता सयस्यालाई विकराल बनाउनुभन्दा समस्याको व्यवहारिक परिभाषा तयार गरी त्यसैअनुसार उपचार खोजियो भने सुखद् परिणाम प्राप्त हुन सक्दछ।