वार्सा -पोल्यान्ड), असार १ गते। युरो कप- २०१२ को क्वाटरफाइनलको सम्भावनालाई जीवित राख्न रुसविरुद्ध शनिबार हुने खेलमा ग्रीसलाई स्पष्ट जित चाहिएको छ।
यद्यपि रुसका प्रशिक्षक डिक एड्भोकेटले दुवै टिमका लागि यो खेल महìवपूर्ण रहेको बताए। ग्रीसलाई जित चाहिएको छ तर हाम्रो लागि पनि यो खेल हार्नै नहुने स्थिति छ यद्यपि बराबरी पनि पर्याप्त हुँदा स्थिति अलि सहज भने छ, प्रशिक्षक डिकले भने।
इतिहास पल्टाउने हो भने रुसविरुद्ध ग्रीसले खासै राम्रो नतिजा निकाल्न सकेको छैन। पछिल्ला दुई युरोपियन च्याम्पियन्सीपमा रुससँग ग्रीस पराजित भएको थियो। सन् २००४ को उपाधि जित्दा पनि ग्रीसलाई हराउने राष्ट्र रुस मात्र थियो।
चालू प्रतियोगितामा रुस सर्वाधिक गोल गर्ने टिम हेा। उसले दुई खेलमा पाँच गोल गरेको छ। जसमध्ये तीन युवा खेलाडी एलन जोगाएभको नाममा रहेको छ। चेकविरुद्ध दुई गोल गरेपछि जोगाएभले पोल्यान्डविरुद्ध पनि एक गोल गरेका थिए।
ग्रीसका प्रशिक्षक फर्नान्डो सान्तोषले बराबरी पर्याप्त भए पनि रुसले आक्रामक रणनीतिलाई त्याग्छ जस्तो नलागेको धारणा राखेका छन्।
ग्रीस अहिले पूर्ण शक्तिमा भने छैन। पहिलो रोजाइका गोलरक्षक कोस्टास चाल्कियासको सेवा ग्रीसले पाउने छैन भने सेन्ट्रल डिफेन्डर अभ्राम पापाडोउपाउलिस पनि घाइते छन्। यद्यपि अर्का डिफेन्डस सोक्रटिस पापास्थापाउलोस भने प्रतिबन्धबाट र्फकनेछन्। उनले पहिलो खेलमा रातो कार्ड पाएपछि चेकविरुद्ध खेल्न सकेका थिएनन्।
रुसी टिम भने पूर्ण शक्तिमा रहेको छ। यद्यपि प्रशिक्षक एड्भोकेटले सुरुका दुई खेलमा गोल गर्न असफल स्ट्राइकर अलेक्ज्यान्दर खर्जाकोभको स्थानमा रोमन पाभ्लुचेन्कोलाई खेलाउने सम्भावना छ। सन् २००८ को युरो कपमा तीन गोल गरेर रुसलाई सेमिफाइनलमा पुर्याउने खेलाडी हुन् पाभ्लुचेन्को। एपी