काठमाडौँ, असार ३ गते। नेपालमा खेल पर्यटनको चर्चा निकै कम भइरहेको अवस्थामा भारतीय क्रिक्रेट टिमका कप्तान महेन्दसिंह धोनीको आगमनले भने नयाँ ऊर्जा थपिदिएको छ।
शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरेका धोनी आइतबार पत्नी साक्षी रावतका साथ पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्किसकेका छन्। यद्यपि उनको एकदिने बसाइले पनि खेल पर्यटन प्रवर्द्धनका लागि फलदायी भएको भनाइ जानकारको छ।
पशुपतिको दर्शनबाट सोझै अन्तर्राष्ट्रिय विमानस्थलतिर हानिएका धोनीले यसअघि आइतबार नै राष्ट्रपति डा. रामवरण यादवसँग पनि भेट गरेका थिए।
नेपाल सरकारको पर्यटन नीति-२०६५ मा पर्यटनको विविधीकरण, विस्तार र विकासमा खेल पर्यटनलाई एउटा प्रमुख गतिविधिका रूपमा राखिए पनि यसको चर्चा कमै हुनेगर्छ। पर्यटन नीतिले खेल पर्यटनका सम्बन्धमा स्पष्ट भनेको छ- उच्च आय वर्ग भएका पर्यटकलाई खेलकुदको माध्यमबाट प्रवर्द्धन गर्न क्रिकेट, गल्फ, हात्तीपोलो, फुटबल आदिको समन्वयात्मक ढङ्गले प्रवर्द्धन गरिनेछ।
अखिल नेपाल फुटबल सङ्घको निमन्त्रणामा विश्व फुटबल महासङ्घका -फिफा) अध्यक्ष सेप ब्लाटर पहिलोपटक नेपाल आएको केही महिनापछि नै विश्वप्रसिद्ध क्रिकेटरको नेपाल आगमनपछि खेलकुद पारखीका लागि नेपाल आकर्षणको गन्तव्य बन्न गएको ठहर जानकारको छ।
नेपालले लुम्बिनी भ्रमण वर्ष-२०१२ को पर्याप्त प्रचारप्रसार गर्न नसकिरहेको अवस्थामा यसवर्ष खेलकुद क्षेत्रका दुई चर्चित हस्तीको नेपाल आगमनले प्रचारप्रसारमा केही सहयोग पुगेको छ।
नेपाल पर्यटन बोर्डले धोनीका लागि विशेष कार्यक्रम राख्ने योजना बनाए पनि परिस्थितिले त्यो अनुसार हुन नसकेको खुलासा गरेको छ। नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख सुवास निरौलाले धोनीजस्ता खेलाडीको आगमनलाई नेपालले पूर्णरूपले व्यावसायिक ढङ्गले प्रयोग गर्न जरुरी भएको बताए।
राष्ट्रिय खेलकुद परिषद्ले पर्यटन बोर्डसँग समन्वय राखेर अन्तर्राष्ट्रियस्तरका ख्याति कमाएका खेलाडीलाई नेपाल आगमन गराएर खेलकुद पर्यटनमा जोड दिनुपर्ने धारणा निरौलाको छ। शनिबारको व्यवस्थापन कमजोर रहेको भन्दै निरौलाले धोनीलाई नेपालका अन्य पर्यटकीय गन्तव्य पनि घुमाएर यहाँको थप सुन्दरतासँग परिचित गराउन नसकिएको बताए।
राष्ट्रिय खेलकुद परिषद्का प्रवक्ता कुलबहादुर थापाले अब अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त खेलाडीको आगमन गराएर पर्यटन प्रवर्द्धन गर्नका लागि एउटा छुट्टै संयन्त्र बनाउने योजना रहेको जनाए।
उनले नेपाल सरकारको निमन्त्रणा र नेपाल पर्यटन बोर्डसँग समन्वय गरेर यस्ता व्यक्तित्वलाई नेपालका अन्य प्रख्यात स्थानसमेत घुमाउन एक किसिमको संयन्त्र बनाउने योजना रहेकोसमेत जनकारी दिए।