सिङ्गापुर, असार ४ गते। प्रत्यक्ष वैदेशिक लगानी बढ्न नसकेको वर्तमान अवस्था कायमै रहने हो भने भारतमा वृद्धिदर पाँचदेखि छ प्रतिशतको हाराहारीमा मात्रै रहने अनुमान गरिएको छ। विश्वको उदायमान अर्थतन्त्र भएको मुलुक भारतले हालका महिनाहरूमा प्रत्यक्ष वैदेशिक लगानी गुमाउँदै गएकोले त्यसले सो मुलुको समग्र अर्थतन्त्रमा पार्नसक्ने नकारात्मक प्रभावले भारतको चिन्ता बढाएको छ।
भारतीय अर्थतन्त्रमा आएको सुस्तताले सो मुलुकको आर्थिक राजधानी मानिएको मुम्बईमा रियल स्टेटको व्यापारसमेत नराम्ररी प्रभावित बन्न थालेको तथ्याङ्कहरूले देखाएको छ। भारतीय घरजग्गाको कारोबारमा आएको मन्दीले गर्दा राजधानी नयाँ दिल्ली र आर्थिक राजधानी मुम्बईजस्ता सहरहरूमा घरजग्गाको बिक्री सन् २०१२ को पहिलो तीन महिनामा झण्डै ५० प्रतिशतले घटेको पाइएको छ। भारतको अर्थतन्त्रमा देखिएको समस्याले गर्दा घरजग्गा खरिद गर्ने उपभोक्ता पर्ख र हेरको अवस्थामा रहेको र घरजग्गाको मूल्यमा भने गिरावट नआएकोले पनि कारोबार हृवात्तै घटेको पाइएको छ जसले गर्दा बैङ्गलोरमा धरजग्गाको कारोबार १८ प्रतिशतले घटेको पाइएको छ।