असार ७ गते रूपचन्द्र बिष्टको बाह्रौँ स्मृति दिवस हो। रूपचन्द्र बिष्ट नेपालले कदापि बिर्सन नहुने नाम हो। एक्लो रूपचन्द्र बिष्टले झुपडीहरूको जागरणका लागि जे जति गरेर गएका छन् त्यति सबै दल मिलेर पनि हाम्रो मुलुकमा गर्न सकेको देखिँदैन।
जन्मले उनी पालुङ घर्तीखोलाका बिर्तावाल सामन्त हुन् तथापि छाप्रे र श्रमिकहरूको मुक्तिको लागि उनी जसरी जीवनपर्यन्त समर्पित भए त्यो अद्वितीय छ। नेपालका कुनै पनि कम्युनिष्ट नेताको छाप्रे र श्रमिकहरूप्रतिको समर्पण र वर्ग पक्षधरता रूपचन्द्रको उचाइको देखिँदैन।
वर्गले उनी खातापिता वर्गका मानिस थिए। २०३८ सालदेखि २०४६ सालसम्म उनी नेपालका सांसद पनि थिए। तर जसको लागि बोल्ने र काम गर्ने हो उसैको जीवन बाँच्ने हो भनेर रूपचन्द्रले सांसद हुँदा पनि छाप्रेको जीवन बाँचेे। यसो गर्न ठूलो समर्पणको स्तर र साधना चाहिने हुन्छ। तर रूपचन्द्रमा त्यो स्तर यथेष्ट मात्रामा देखिन्छ। उनले जे बोले त्यही गरेर देखाए। उनले जसको लागि बोले र गरे त्यसकै जीवन बाँचेर देखाए।
उनको काठमाडांैको मुटु कालीमाटीमा सडक छेउमै राम्रै महल थियो तर उनी त्यहाँ बसेनन्। घर नजिकै छाप्रो बनाएर कुल्ली बाँचे जस्तै गरेर मृत्युपर्यन्त बाँचे। उनी सांसद हुँदा सांसदको पारिश्रमिकले होटेल रेष्टुराँमा खाने ल्याकत राख्थे उनी, तर उनले त्यहाँ गएर मीठो मसिनो कहिल्यै खाएनन्। उनको सदावहार खाने ठाउँ हुन्थ्यो ज्यामी र श्रमिकहरूले खाने भट्टी। उनी राम्रै लुगा लाउन सक्थे तर उनको लुगा हुन्थ्यो सुन्धारामा बिक्री हुने लीलामी कपडा। मर्नुअघि उनको उपचार गर्न नर्सिङ होम लान उनका समर्थक अजेय सुमार्गीले निकै प्रयास गरेछन् तर उनी मानेनछन्। उनी जिद्दी गरेर नेपालका श्रमिक र जनसाधारणले उपचार गर्ने ठाउँ बीर अस्पताल गएछन्। त्यहाँ पनि उनी क्याबिनमा बस्न मानेनन्, जनरल वार्डमै उपचार गर्दागर्दै उनको मृत्यु भयो। सुन्दा नै किंवदन्ती जस्तो लाग्ने यस्तो जीवनशैली नेपालमा सायदै मानिसको देखिन्छ। जुन वर्गको राजनीति गर्ने त्यसकै जीवन जिउने जुन उदाहरणीय जीवनशैली रूपचन्द्रले प्रदर्शित गरेका छन् त्यस्तो जीवनशैली नेपालका कुनै पनि नेता वा कम्युनिष्ट नेताको हुँदो हो त नेपालको राजनीतिको आजको नापनक्सा नै अर्को हुने थियो। नेपालको राजनीतिप्रति जनताको आदर र विश्वासको स्तर अहिले जस्तो रसातलमा कदापि पुग्ने थिएन। नेपालका नेताप्रति जनताको शिर श्रद्धाले नतमस्तक हुन्थ्यो जुन अहिले अनास्था र घृणाले झुकिरहेछ।
त्यस्तो अतुलनीय मानिसलाई देशले बिर्सेको देख्दा उदेक लाग्छ। उनलाई त सिङ्गो देशले आदरपूर्वक सम्झनुपर्ने हो। मरणोपरान्त भए पनि राज्यले राष्ट्रिय सम्मान प्रदान गर्नुपर्ने हो। उनको बारेमा र उनले चलाएको थाहा आन्दोलनका बारेमा गहन अध्ययन र अनुसन्धान हुनुपर्ने हो। उनको बारेमा ग्रन्थ लेखिनुपर्ने हो।
यो पटक बाह्रौँ स्मृति दिवसको दिन नेपाल एफ. एम परिसरमा रूपचन्द्रका एकजना भक्त र समर्थक रामनारायण बिँडारीले एउटा स्मृति समारोह र अन्तक्रिर्याको आयोजना गरेका थिए। त्यहाँ निम्त्याइएका नरहरि आचार्य, लोकेन्द्रबहादुर चन्द, भैरव रिसाल, दयाराम बिष्ट लगायतका अन्य थोरै मानिसमध्ये एकजना म पनि थिएँ। रूपचन्द्रको जीवनको अनेकौं आयाम बारे त्यहाँ विभिन्न वक्ताले राम्रोसित प्रकाश पार्ने काम गरे। मलाई भने रूपचन्द्रको सम्झनामा धेरै बोल्नुभन्दा उनको बहुआयामिक व्यक्तित्व बारे यस वर्ष कविता भन्न मनलाग्यो। मैले समारोहमा बस्दाबस्दै एउटा कविता तत्काल कोरेँ र पढेर सुनाएँ पनि। सुनाएको बेला यो कविता यति लामो र पूर्ण थिएन, मैले त्यही दिन घर आएर त्यसलाई पुरा गरेँ। मैले बुझेको रूपचन्द्रको एउटा शब्दचित्र त्यो कविताले यसरी कोर्न खोजेको छ ।