काठमाडौँ, असार १६ गते। साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा दुई दशमलव ०७ अङ्कले वृद्धि भई अन्तिम दिन ३७७.४८ अङ्कमा पुगेको छ । साताभर चारदिन मात्र खुलेको सेयर बजारमा कारोबार सन्तोषजनक रहे पनि जारी राजनीतिक अस्थिरताले कस्तो मोड लिने हो सो कुराको निक्र्योल हुने अवस्था सिर्जना भई नसकेकोले बजारमा खासै ठूलो उतार चढाव देख्न सकिएन।
यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय तीन कम्पनीको कारोबार भएको छ, जसअनुसार चार हजार ३९५ कारोबारबाट १७ करोड ३१ लाख ३० हजार रुपियाँ बराबरका पाँच लाख ७८ हजार ८६४ कित्ता सेयर खरिद-बिक्री भएका छन्।
गत साता एक सय ११ कम्पनीहरूको कारोबार भएको छ, जसअनुसार सात हजार ४६७ कारोबारबाट ३० करोड १८ लाख ५२ हजार रुपियाँ बराबरका १० लाख १४ हजार ९५१ कित्ता सेयर खरिद-बिक्री भएका थिए।
कारोबार रकममा गत साताको तुलनामा ४२.६४ प्रतिशतले ह्रास भएको हो। कुल कारोबारमध्ये 'क' वर्गका कम्पनीहरूको मात्र रु. १२ करोड १६ लाखबराबरको कारोबार भएको छ। यो कुल कारोबारको ७०.२८ प्रतिशत हो।
'क' वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.६२ अङ्कले वृद्धि भई ९५.४४ अङ्कमा आइपुगेको छ।
यस साता कारोबार रकम, -रु. तीन करोड एक लाख रुपियाँ)को आधारमा बैंक अफ काठमाण्डू अग्रस्थानमा रहेको छ। कारोबार भएको सेयर -५८ हजार ८ सय ८ कित्ता) को आधारमा नेसनल हाइड्रो पावर कम्पनी अग्रस्थानमा रहेको छ। त्यसै गरी कारोबार सङ्ख्याको आधारमा -३७५ वटा)को आधारमा चिलिमे हाइड्रो पावर कम्पनी अग्रस्थानमा रहेको छ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रहृयो। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार नभएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।