काठमाडौँ, असार १७ गते। प्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराबीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भेटवार्ता भएको छ । संविधानसभा पुनःस्थापनातिर नलागी संविधानसभाको निर्वाचनका लागि आवश्यक कानुन परिमार्जनतर्फ लाग्नुपर्ने कुरा भेटमा आफूले राखेको अध्यक्ष राणाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो- दलहरूबीचको सहमतिमा राष्ट्रपतिमार्फत बाधा अड्काउ फुकाई संविधानसभाको निर्वाचनका लागि आवश्यक कानुन संशोधनमा लाग्नुपर्ने सुझाव मैले प्रधानमन्त्रीलाई दिएँ । '
उहाँले दलहरूबीच राज्य पुनःसंरचनाका विषयमा सहमति हुने सम्भावना कम रहेकाले एकल जातीय पहिचान वा बहुपहिचान भन्ने विषयमा जनमतसङ्ग्रह गरिनुपर्ने आफूहरूको धारणाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताउनुभयो । भेटमा प्रधानमन्त्रीले राष्ट्रिय सहमतिका लागि आफू बाधक नबन्ने र पद त्याग्नसमेत तयार रहेको बताउनुभएको राणाले उल्लेख गर्नुभयो ।
यसैगरी, आइतबार प्रधानमन्त्री भट्टराई र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच पनि प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको राप्रपा नेपालका अध्यक्ष थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो- सहमति खोज्ने नाममा हालको सङ्क्रमणकाल लम्ब्याउनुभन्दा कानुनी अड्चन र बाधा फुकाएर संविधानसभाको निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीलाई आग्रह गरेँ ।