काठमाडौँ, असार १७ गते। नवगठित राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले राष्ट्रपति डा. रामवरण यादवलाई भेटी राष्ट्रिय सहमतिका लागि पहल गर्न आग्रह गर्नुभएको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार भएको भेटघाटमा अध्यक्ष भण्डारीले राष्ट्रपति यादवलाई आफ्नो अध्यक्षतामा गठन गरिएको पार्टीका बारेमा समेत जानकारी गराउनुभएको थियो। समाजवादी पार्टीका नेता कौशलकुमार यादवका अनुसार देशमा अन्योलता बढिरहेको यस अवस्थामा दलहरूको बीचमा सहमति कायम गरी देशलाई निकास दिन आफूहरूले राष्टपतिलाई आग्रह गरेको बताउनुभयो।
संविधानसभाबाट नै संविधान निर्माण गर्नका लागि संविधानसभाको चुनाव गराउनु अपरिहार्य रहेकाले चुनाव गराउनुको विकल्प नरहेको स्मरण राष्ट्रपति यादवलाई गराएको बताउँदै नेता यादवले दलहरूको बीचमा सहमतिपछि मात्र चुनावमा जानुपर्ने सुझाव दिएको बताउनुभयो।
दलहरूको बीचमा रहेको असमझदारीलाई नटु्ङ्ग्याई संविधानसभाको चुनाव गरायो भने संविधानसभाको हालत अहिलेको जस्तै हुने भएकाले सहमति गरेर मात्र चुनावमा जानुपर्ने आफ्नो पार्टीको ठहर रहेको बताउनुभयो।
उहाँले संविधान निर्माण तथा शान्तिप्रक्रियाका लागि दलहरूको बीचमा हुने सहमतिमा मधेसको मुद्दा पनि समावेशी हुनुपर्ने कुरा आफूहरूले राष्ट्रपतिसमक्ष राखेको बताउनुभयो।