नेपाली समाजमा परोपकारी भावना अझै कायम छ। समाज उद्विकासको सामान्य सिद्धान्तले पनि समाज सधैँ स्थिर रहँदैन क्रमशः यसमा जटिलता र विविधता आउने गर्दछ। सन् १९५१ ताका टोनी हेगन काठमाडौँमा डेरा गरी बस्दा कुनै दिन ढोकामा ताल्चा लगाउनुपरेको थिएन भनेर आफ्नो स्मरणमा लेखेका छन् जुन आज हामीले अलि गम्भीर भएर सोच्दा सपना जस्तो लाग्छ। जे विगतमा थियो त्यो अहिले छैन भनेर चिन्तित हुनुभन्दा जे छ त्यसैमा रमाउन सक्ने हो भने समाजप्रति अहिले पनि आशावादी हुने प्रशस्त ठाउँ छ। विगतमा यस्तो राम्रो समाज थियो, अहिले समाज त्यत्तिकै पत्रु भयो भनेर चिन्ता लिनुको पछाडि समाज परिवर्तनको गतिलाई नबुझ्नु पनि हो। कतिपयले नेपाली समाजमा परोपकारी भावना समाप्तै भएको जस्तो विचार व्यक्त गर्दछन् तर सोलुखुम्बुको गुदेल गाविस लुच्चामका एक कुलुङ दम्पतीले आफ्नो घरबारी स्थानीय विद्यालयको भवन बनाउन दान गर्नुभएको घटनाले समाजमा म खाउँ मै लाउँ भन्ने भावना मात्र होइन, मलाई नभए पनि अरूको भलो होस् भन्ने चाहना राख्नेहरू पनि नेपाली समाजमै छन् भन्ने दृष्टान्त प्रस्तुत भएको छ। स्थानीय जितुधन कुलुङका दम्पतीले स्थानीय प्राथमिक विद्यालयका लागि घरजग्गा दान गर्नुभएजस्तै प्रशंसनीय काम थोरै सङ्ख्यामा भए पनि हुने गरेकै छन्। यस्ता प्रशंसनीय काम गर्नेलाई राज्यले के र कसरी पहिचान वा सम्मान गर्ने भन्ने विषयमा चाहिँ ध्यान पुगेको देखिदैन। केही समयअघि आफ्नो निजी खर्चमा भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले त्रिवि शिक्षण अस्पतालको आकस्मिक सेवाका लागि भवन निर्माण र त्यसलाई आवश्यक पर्ने र उपकरण प्रदान गर्नुभएको थियो। यसैगरी ललितपुरका अष्टमान महर्जन परिवार र पोखराका गुरुङ परिवारले यस्तै कामका लागि ठूलो रकम प्रदान गर्नुभएको थियो। यी उदाहरणले नेपाली समाजमा अझै पनि परोपकारी भावना ज्यूँदै रहेको देख्न सकिन्छ जुन खुसीको कुरा हो। यसरी आफ्नो भएभरको सम्पत्ति विद्यालयलाई दान गरी आफू झुपडीमा बस्न राजी हुने दानवीर कुलुङ परिवार र अन्यलाई राज्यका तर्फबाट प्रशंसा र सम्मान गर्ने परम्परा बसाउन सकियो भने आगामी पुस्तालाई पनि यस्ता उदाहरणीय कार्यका लागि प्रेरित गर्न सकिन्छ। आफ्नो सम्पत्ति विद्यालयलाई प्रदान गरेका ती दम्पतीको बाँकी जीवन कसरी बित्छ भनेर सरकार र स्थानीय समुदायले विशेष ध्यान दिएनन् भने उनीहरू आफूले दान दिएकोमा कुनै दिन पछुताउनुपर्ने अवस्थामा पुग्न सक्छन््। सन्तानविहीन ती दानवीरलाई भोकभोकै थलिएर बाँच्नुपर्यो भने "त्यो जग्ग्ाा दान नदिएको भए हुन्थ्यो" भन्नेजस्ता भावना आउन दिनुहुँदैन। त्यसैले यस्ता दानवीरहरूको सामाजिक सुरक्षामा सरकार र समुदाय संवेदनशील हुनु आवश्यक छ। समुदाय वा विद्यालय परिवारले यस्ता व्यक्तिलाई तत्क्षणका लागि सम्मान गरेर दोसल्ला वा खादा ओडाउनुभन्दा उहाँहरूको शेष जिन्दगीको सहजताका लागि सोचिदिन सकियो भने यस्ता कामले मात्र दानवीरको साँचो अर्थमा सम्मान गरिएको ठहर्छ, अन्यथा समयको अन्तरालमा दान र दानवीरको योगदान धुमिल हुनसक्छ।
विगत केही समययता सप्ताह/महायज्ञका समयमा प्रशस्त दान दिएको घोषणा गर्ने/लेखाउने तर पछि त्यस्तो वाग्दान प्रदान नगर्नेजस्ता समाचार पनि सार्वजनिक भइरहेका छन्। यस्ता क्रियाकलापले साँचो हृदयले दान दिनेप्रति पनि झट्टै विश्वास गर्न नसकिने अवस्था देखिएको छ। गाउँघरतिर अहिले पनि कुनै पुस्ताले विद्यालयलाई जग्गा दान दिएका तर त्यसको कानुनी हक हस्तान्तरण नगरिदिने र पछिल्ला पुस्ताले त्यसमा दाबी गर्ने गरेका दृष्टान्त पनि सुनिने गरिएको छ। यस्तो अवस्थाले गर्दा दानलाई मानिसले अझै पनि शङ्का उपशङ्काले हेर्नुपर्ने र त्यसको कानुनी हैसियत के हुन्छ भन्ने ? संशय देखिनु स्वाभाविक हो। अर्को कुरा यसरी प्राप्त भएको सम्पत्तिको सदुपयोग हुनसकेन भने दानवीरको योगदानले समाजको भन्दा व्यक्तिको हितमात्र गर्दछ। त्यसैले विद्यालय परिवारले कुलुङ दम्पतीबाट प्राप्त दानको सुरक्षामा विशेष ध्यान दिनुपर्ने हुन्छ। कुन अभिलाषाले उहाँहरूले घरजग्ग्ाा दान गर्नुभयो भन्ने संवेदना विद्यालय परिवार र स्थानीय समुदायले देखाउनैपर्दछ। राज्यले पनि दानवीर व्यक्तिलाई उनीहरूको योगदानअनुसार सम्मान र प्राप्त सम्पत्तिको सदुपयोग गर्ने वातावरणको विकास गर्न सहयोग गरिदिने हो भने आगामी दिनमा यस्ता प्रसंशनीय कार्यले निरन्तरता पाउन सक्छ। त्र