गिरिजा बाबुलाई देश र जनताको हित र हकको सम्र्बद्धनमा सदैव लागिरहने, आफ्नो लक्ष्यबाट कहिल्यै पछि नर्फकने एक प्रतिबद्ध, साहसी र गतिशील नेताका रूपमा सबैले, सदैव सम्भिmरहने छन्।
विराटनगरको दक्षिणी किनारको करिब डेढ माइल क्षेत्रफलको भूभागलाई औद्योगिक क्षेत्र घोषित गरिएको थियो। त्यहाँ जुटमिल, कटनमिल, राइसमिल, तेलमिल, सलाई कारखाना, केमिकल कारखाना खुलेका थिए। केही समयदेखि त्यहाँको कटन मिलमा गिरिजा बाबुले काम गर्न थाल्नु भएको थियो। जुटमिलमा तारिणीप्रसाद कोइराला, गेहेन्द्रहरि शर्मा र युवराज अधिकारीले तथा केमिकल कारखानामा मनमोहन अधिकारी काम गर्नुहुन्थ्यो।
त्यहाँ मजदुरहरूको सङ्ख्या पच्चीस-तीस हजार पुगिसकेको थियो। मिल सञ्चालकहरू प्रशस्त नाफामा थिए तर मजदुरहरूको शोषण र उनीहरूमाथिको दमन चरम रूपमा थियो। यी सबैको विरोधमा गिरिजा बाबुले २००३ साल फागुनमा मजदुर आन्दोलनको नेतृत्व गर्नुभयो। नेपालको भूमिमा राणातन्त्रको विरोधमा उभिएर, नेपाली जनताले गरेको यो पहिलो र ऐतिहासिक आन्दोलन थियो। सामान्य विरोधलाई पनि सहन गर्न नसक्ने, कडाभन्दा कडा सजाय दिएर प्रत्येकलाई दमन गर्ने राणाहरूको कठोर हुकुमी शासनको विरोधमा यसरी आन्दोलन गर्नु सामान्य कुरा थिएन।
मजदुर आन्दोलनलाई दमन गर्न राणाहरूले २५० जनाको सैनिक टोलीलाई विराटनगर पठाए। त्यसले अत्यन्त बर्बरताका साथ आन्दोलनलाई दबाउन खोज्यो। बी.पी.कोइरालालगायत गिरिजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, गेहेन्द्रहरि शर्मा, युवराज अधिकारीसमेत ६ जनालाई पक्राउ गर्यो। त्यसको विरोधमा सम्पूर्ण मजदुर उद्वेलित भएर उठे। राणाहरूको सेनाले निहत्था मजदुरहरूको जुलुसमा अन्धाधुन्ध गोली हान्यो। मजदुर नेता तुलाराम तामाङ घटनास्थलमै मारिए। अरू अनेकौँ घाइते भए। आमा दिव्या कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, कामिनी गिरीसमेत अरू अनेकौँलाई पक्राउ गरेर धनकुटा जेलमा राखियो। बी.पी. र गिरिजा बाबुुसमेत ६ जनालाई धनकुटाबाट पूर्वी पहाडैपहाड काठमाडौँ ल्याइयो र यहाँको एक छुट्टै बन्दीगृहमा राखियो।
अस्वस्थताका कारण ६ महिनापछि बी.पी.लाई रिहा गरियो तर गिरिजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, गेहेन्द्रहरि शर्मा, युवराज अधिकारीलाई लामो अवधिसम्म पनि रिहा गरिएन। बन्दीगृहमा तीन वर्ष पुग्न लाग्दा, उहाँहरूले आमरण अनसन सुरु गर्नु भयो। २४ दिनको लामो अनसनपछि मात्र वि.सं. २००६ सालको मङ्सिर १५ का दिन बाध्य भएर राणाहरूले उहाँहरूलाई रिहा गरे।
रिहा भएर २००६ को मङ्सिरमा गिरिजाबाबु बाहिर आउँदा नेपाली राष्ट्रिय काङ्ग्रेसले एकतन्त्रीय निरङ्कुशताको अनेक क्रूरतालाई नजिकैबाट देखिसकेको थियो। त्यसैले राणा शासनलाई परास्त गर्न अहिंसात्मक आन्दोलन उपयुक्त हुन सक्तैन। सशस्त्र क्रान्ति मात्र एक उपयुक्त साधन हुनसक्छ भन्ने निष्कर्षमा बी.पी. पुगिसक्नु भएको थियो। यसले नेपाली राष्ट्रिय काङ्ग्रेसको सैद्धान्तिक निकटतामा वृद्धि गराइरहेको थियो। अन्ततः २००६ को चैत २७ गते यी दुवै पार्टीको एकीकरणबाट-'नेपाली काङ्ग्रेस'को गठन भयो।
नेपाली काङ्ग्रेसले राणातन्त्रको विरोधमा सशक्त ढङ्गले सशस्त्र क्रान्ति गर्ने नीति अपनायो। बी.पी.कोइराला र सुवर्ण शम्शेर क्रन्तिको तयारीमा लाग्नु भयो। उहाँहरूलाई गिरिजा बाबुले हरतरहले सहयोग पुर्याउनु भयो। गोप्य रूपमा भारतमा जम्मा भएको हतियारहरूलाई गोप्य रूपमा विराटनगरमा ल्याएर त्यस्तै अति गोप्य तवरले राख्ने तथा भूतपूर्व सैनिकहरूसित सम्पर्क बढाएर 'जन-मुक्तिसेना'को सङ्ख्या वृद्धि गर्ने आदि कार्यमा अत्यन्त सक्रिय भएर गिरिजा बाबु लागिरहनु भयो। विराटनगरका बडाहाकिमले यो थाहा पाए। उनले २००७ को असारको पहिलो हप्तामा गिरिजा बाबुलाई पक्राउ गरेर सेनाको ब्यारेकमा कडा निगरानीका साथ राखे। गिरिजा बाबुको पक्राउले छिट्टै प्रारम्भ हुने स्थितिमा पुगेको जनक्रान्तिलाई निकै ठूलो धक्का पुग्नसक्थ्यो। सबैले उहाँको रिहाइको प्रयत्न गरे तर सम्भव भएन।
अन्ततः गिरिजाबाबु आफैँले सेनाको हिरासतबाट उम्कने एउटा योजना बनाउनु भयो। तर त्यो योजना अत्यन्त जोखिमपूर्ण थियो । त्यो योजनाअनुसार, स्वास्थ्य ठीक नभएको डायरिया भएको बहानामा उहाँले गाडा अँध्यारो भइसकेपछि पनि साँझमा शौचालय जाने गरिरहनु भयो। त्यसबेला मध्य वषर्ा, विराटनगरमा सर्पको ठूलो खतरा हुन्थ्यो। त्यही कारण शौचालय जाँदा उहाँले एउटा छोटो लट्ठी पनि सँगै दिएर जाने गर्नुभयो। केही दिनसम्म यही क्रम वा यही रिहर्सललाई उहाँले यथावत् राख्नु भयो र हरेक कुरालाई उहाँले अझ भित्री तहसम्म पुगेर हेर्नुभयो।
उहाँलाई हिरासतमा भेट्न आउने तारिणी दाजु र विश्वबन्धु थापाले अत्यन्त जोखिमपूर्ण भए पनि उहाँको यो योजनालाई सहमति दिए। त्यसै अनुसार राति टाढाबाट देख्न नसकिने खाकी रङ्गको गञ्जी, त्यस्तै हाप पाइन्ट र दौडन सजिलो हुने जुत्ता उहाँलाई पठाइयो।
साउन महिनाको दोस्रो हप्ताको एक साँझ, भित्र त्यही गञ्जी, त्यही हाफ पाइन्ट, त्यही जुत्ता र गञ्जीमाथि सेतो कमिज लगाएर सधैँ जस्तै लट्ठी लिएर गिरिजा बाबु शौचालय जानुभयो। एउटा सिपाही राइफल बाकेर उहाँको पछि लाग्यो। त्यहाँ कुनै एक निश्चित शौचालय थिएन। ब्यारेकभन्दा केही परको खाली जमिन नै शौचालय थियो। त्यहाँ पुगेपछि सिपाहीलाई केही वरै बस्ने आग्रह गरेर, उहाँ अलिकति पर जानु भयो। एउटा सानो झाङमा छलिएर उहाँले लट्ठी गाड्नु भयो। विस्तारै सेतो कमिज उतारेर लट्ठीमा झुण्ड्याइदिनु भयो। सिपाहीले सेतो कमिजलाई गिरिजाबाबु ठानिरहृयो। निकै बेरसम्म त्यो सेतो आकृतिको कुनै हलचल नपाएपछि सिपाहीले पहिले बोलायो तर कुनै आवाज आएन। सिपाही नजिकै पुग्यो। त्यहाँ लट्ठीमा झुण्डिएको सेतो कमिज मात्र थियो। उसले सिटी बजायो, फायरिङ गर्यो। ब्यारेकमा ठूलो हल्लीखल्ली भयो। चारैतिर सैनिकहरू दौडिए। लट्ठीमा सेतो कमिज झुण्ड्याएर एक निश्चत समयमा एक निश्चित स्थानमा गिरिजाबाबु आइपुग्ने त्यहाँ विश्वबन्धु थापा घोडा लिएर आउने, त्यही घोडा दौडाएर उहाँले सीमा पार गर्ने कार्यक्रम त्यसैदिन दिउसो तय गरिएको थियो। उहाँ निश्चित समयमा, निश्चित ठाउँमा आइपुग्दा घोडा थिएन। घोडालाई पर्खिरहने समय उहाँसित थिएन। सिटीको चर्को आवाज नजिक-नजिक हुँदै थियो। फायरिङको आवाजसँगै नजिकैबाट बारुदको गन्ध आइरहेको थियो। उहाँ अझ जोडले दौडनु भयो। दौडदा यदाकदा उहाँ झस्कनु हुन्थ्यो, सैनिहरू आइरहेकै दिशातिर त उहाँ गइरहनु भएको छैन ? ब्यारेकतिरै त गइरहनु भएको छैन ? तर दौडनुबाहेक यसमा अरू सोच्ने समय उहाँसित थिएन। उहाँको जुत्ता फुस्कियो। खाली खुट्टा उहाँ दौडिरहनु भयो, दौडिरहनु भयो।
फायरिङ र सिटीको आवाज टाढा टाढ हुँदै सुनिन छाडेपछि उज्यालोको अलिकति आभास हुनलाग्दा उहाँ एउटा सानो गाउँमा पुग्नुभयो। रातभरि दौडेर त्यहाँ पुग्दा उहाँ अरू अघि जानै नसक्ने अत्यन्त थकित अवस्थामा हुनुहुन्थ्यो तर त्यो नेपालभित्रकै एक गाउँ रहेछ भने उहाँलाई लखेट्दै सेना त्यहाँ पनि आइपुग्न सक्थ्यो तर त्यो भारतको एउटा गाउँ थियो, जोगबानी नजिकको। यसरी गोली चल्दाचल्दै त्यसको अगाडिबाट दौडेर, सेनाको घेरा अगाडिबाट दौडेर उहाँ सेनाको हिरासतबाट उम्कनु भयो।
पटक-पटक गरेर गिरिजा बाबुले १२ वर्ष भन्दा बढी अवधि जेलको अग्लो पर्खालभित्र बिताउनु पर्यो तर जेलबाट र सेनाको हिरासतबाट उहाँ सामान्य स्थितिमा होइन, असामान्य स्थितिमा प्राणलाई बाजीमा राखेर रिहा हुनुभयो।
२००७ को जन-कान्तिपछि देश २००९ मा आइपुग्दा नेपाली जनताका यावत अधिकारहरू क्रमशः अपदस्थ हुँदै गइरहेको थिए। देशका सम्पूर्ण किसान मजदुरहरू माथि शेाषण र दमन अझ थपिँदै थियो। त्यसको विरोधमा गिरिजा बाबुले मोरङबाट आन्दोलन प्रारम्भ गर्नु भयो। त्यसबाट सम्पूर्ण तराई आन्दोलित भएर उठ्यो। सरकारले त्यसलाई दमन गर्यो। दमनको किसानहरूले कडा प्रतिकार गरे। सरकारलाई तिरो र कुनै कर नतिर्ने अभियान सुरु गरे। २०१० को असार १ गते गिरिजाप्रसाद कोइराला, केशवप्रसाद कोइराला, विश्वन्धु थापा, युवराज अधिकारी समेत १४ जनलाई पक्राउ गरेर विराटनगर जेलमा राखियो। जेल साँगुरो, फोहर र अति अस्वस्थकर थियो। त्यसको उचित सुधार एवं किसान र मजदुरहरूको हक र हितको २१ बुँदाको माग राखेर गिरिजा बाबु समेत १४ जना साउन ८ देखि अनसनमा बसे। साउन १६ गते २१ मध्ये १८ वटा मागहरू तुरुन्त पूरा गर्ने लिखित कबुल गर्न र गिरिजा बाबु लगायत सबैलाई रिहा गर्न सरकार बाध्य भयो।
२०१७ साल पुस १ को राजा महेन्द्रको राष्ट्रघातले देशलाई अनेक दशकसम्म पछि धकेल्यो। नेपाली जनतालाई नीरिह रैतीमा रूपान्तरण गर्ने दुस्साहस गर्यो। देशलाई एउटा ठूलो कारागरमा परिणत गर्ने षडयन्त्र गर्यो। पुस २ गते गिरिजा बाबुलाई काठमाडौं मा पक्राउ गरायो। त्यसको ६ वर्षपछि, २०२३ को कात्तिक मा मुद्दा नचलाई सुरक्षा कानुन अन्तर्गत राखिएका राजबन्दीहरूलाई- 'शान्तिपूर्ण रूपले बस्ने छु' भन्ने कागजमा सही गराएर रिहा गरियो। गिरिजा बाबुले त्यो कागजमा सही गर्नु भएन। त्यसैले उहाँको रिहाइ भएन। एक वर्षपछि, २०२४ को मङ्सिर १८ देखि उहाँले आमरण अनशन प्रारम्भ गर्नुभयो। अनशन लम्बिँदै गयो र उहाँको स्वास्थ्य पनि अत्यन्त दयनीय हुँदै गयो। २३ दिन पुग्दा अनसन अरू लम्बिए जीवित रहन कठिन छ भन्ने चिकित्सकहरूको सल्लाहलाई पनि उहाँ सुन्न तयार हुनु भएन। अन्ततः यसपटक पनि सङ्कल्प, साहस, स्वाभिमान र प्राणलाई एकसाथ बाजीमा राखेर उहाँले निरङ्कुश सरकालाई एकपटक फेरि झुक्न बाध्य पार्नुभयो। अनशनको २४ दिन पुग्दा पुुस १२ गते उहाँलाई रिहा गरियो। त्यसै दिन आमा दिब्या कोइरालाले दिएको जुस पिएर उहाँले अनसन भङ्ग गर्नुभयो।
जेलबाट यसरी राणा वा शाह दुबैको कठोर निङ्कुशतालाई चुनौती दिएर सेनाको घेरालाई अझ अर्को हाँक दिए गिरिजा बाबु बाहिर आउनु भयो। उहाँको चुनौती र हाँकसित नेपालको प्रजातान्त्रिक इतिहासका अविस्मरणीय अध्याय जोडिएर रहेका छन्। त्र