इलाम, असार १७ गते। पर्यटन प्रवर्द्धनका लागि मेची अञ्चलका पहाडी जिल्लामा ११ वटा आयोजनाका काम भइरहेका छन्। पहाडी जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेची पहाडी पर्यटन प्रवर्द्धन विकास समितिले ११ वटा योजनाका काम गरी कार्यान्वयन गरिरहेको छ।
इलाम जिल्लामा छवटा योजनाका काम भइरहेका छन्। त्यस्तै पाँचथरमा तीन र ताप्लेजुङमा दुईवटा योजनाका काम भइरहेको समितिकी कार्यकारी निर्देशक सदीक्षा कार्कीले बताउनुभयो।
इलाममा अन्तु पर्यटन पूर्वाधार विकासका लागि १५ लाख, गजुरमुखी पर्यटन विकासका लागि पाँच लाखको काम भइरहेको छ। सन्दकपुर पर्यटन पदमार्गका लागि तीन लाख रकम विनियोजन भएको थियो। तीन लाख रकममा छ लाख बराबरको काम भएको छ, कार्कीले भन्नुभयो, यहाँ सबैभन्दा राम्रो काम भएको छ।
गुनमुने वन क्षेत्रको महìव दर्शाउने गेट र बोर्ड बनाउन चार लाख छुट्याइएको छ। मङ्गलबारेको गुफाथुम्कीमा पार्क तथा पूर्वाधार निर्माण भइरहेको छ, जसका लागि आठ लाख रूपियाँ विनियोजन भएको छ। माङ्मालुङ्ग क्षेत्रको सडकमा सोलिङ गर्नका लागि तीन लाख रकम छुट्याइएको छ।
पाँचथरको मिक्लाचोङसम्म पुग्नका लागि ६ किलोमिटर सडक बनाउनका लागि १८ लाख रूपियाँ र सीमाक्षेत्र सुधार तथा कन्याटार-लेकगाउँ बाटो बनाउनका लागि नौ लाख रूपियाँको काम भइरहेको छ। छुट्टा-छुट्टै समितिमार्फत काम भइरहेको निर्देशक कार्कीले बताउनुभयो।
अठार लाखको काम सम्पन्न भइसकेको छ। सुम्हालुङ क्षेत्र पर्यटन पूर्वाधार विकासका लागि पाँच लाख र सिलौटी क्षेत्र पर्यटन पूर्वाधार विकासका लागि रु. पाँच लाख रकमको कार्यक्रम भइरहेको समितिको कार्यालयले जनाएको छ।
ताप्लेजुङमा हाङदेवा-सुकेटार पदमार्गका लागि आठ लाख रूपियाँ र चण्डेश्वर सिद्धिडाँडा पर्यटन क्षेत्र पूर्वाधार विकासका लागि रु. दश लाख रूपियाँ रकम विनियोजन भई काम भइरहेको छ। सम्पूर्ण काम पर्यटन प्रवर्द्धनका लागि भएको कार्यालयले जनाएको छ।
तीनवटा जिल्लाको पर्यटन विकासका लागि चालू वर्षमा रु. ९३ लाख बराबरको विकासका काम भइरहेको निर्देशक कार्कीले जानकारी दिनुभयो। इलाममा ३८ लाख, पाँचथरमा ३७ लाख र ताप्लेजुङमा १८ लाखको काम भइरहेको कार्यालयले जनाएको छ। केही योजना सम्पन्न भएका र केही सम्पन्न हुने क्रममा छन्।