काठमाडौँ, असार १७ गते। तीन दिनको पर्खाइपछि काठमाडौँ भैंसेपाटीका जयराम मगरले आइतबार दिउँसो कुलेश्वरस्थित कृषि सामग्री कम्पनीको कार्यालयबाट एक बोरा मल पाए। जयरामले दुई दिनसम्म लाइन बसेर शुक्रबार कुपन पाएका थिए। शुक्रबार कुपन पाएका मगर आइतबार बिहान ६ बजे नै लाइनमा बस्न कुलेश्वरस्थित कम्पनीको कार्यालय आइपुग्दा उनका आँखाले भ्याउने लाइन लागिसकेको थियो। त्यसैले बिहान ६ बजेदेखि लाइनमा उभिएका जयरामले त्यसको चार घण्टापछि १० बजे मात्र एक बोरा मल हात पारे। पहिले जस्तो गाउँमै मल पाइने आशामा कुर्दाकुर्दै मकैका धान चामल आउन थाल्दा पनि गाउँमा मल नपाएपछि उनी कुलेश्वरतर्फ हानिएका थिए।
त्यस्तै झन्डै छ घण्टा लाइनमा उभिएपछि भक्तपुर कुडाँलका गोपालप्रसाद घोसाइने आइतबार एक बोरा मलको कुपन पाएका छन्। मकैका लागि तीन दिन धाउँदा पनि मल नपाएका घोसाइनेले गुनासो गर्दै भने बारीका मकै पँहेलिएका छन् यसपटक गतवर्षको तुलनामा १० प्रतिशत पनि मकै फल्दैन होला।
त्यस्तै काभ्रे नालदुम गाविसका लिलाबहादुर तामाङले चार दिनको पर्खाइपछि आइतबार एक बोरा मल पाएका छन्। गाउँमै मल आउँछ भनेर गाउँकै सहकारी धाउँदाधाउँदै उनका बारीका मकै पँहेलिए तर पनि मल नपाएपछि तामाङ राजधानी छिरेका हुन्। मकैका लागि नै भने जति मल नपाएका तामाङलाई धान खेती गर्ने रहर मरेर आएको छ। चार दिनको पर्खाइपछि पाएको मलको बोरामा थकित हुँदै बसेका तामाङले भने "खडेरी परेर पानी छैन सरकारले मल दिँदैन यस वर्षको धान खेती कसरी गर्ने। समयमा मल नपाएर मकै त खत्तम नै भयो अब धान पनि यस्तै त हुन्छ होला नि।", दुई हलको मेलो खेती गर्दै आएका तामाङले मकै र धान खेतीको आशामा मात्र मारेनन् अर्को वर्ष के खाएर बाँच्ने ? भन्ने प्रश्न समेत तेस्र्याए। उनी आइतबार बिहान ४ बजे नै घरबाट हिँडेर बिहान ८ बजे राजधानी आइपुगेका थिए।
लिलाबहादुर, गोपाप्रसाद र जयराम मात्र होइन उपत्यका वरपरका नुवाकोट, काभ्रे, धादिङ, सिन्धुपाल्चोक जिल्लाको सयौँ किसान बिहान उज्यालो हुँदै झोलाम खाजा बोकेर आइतबार मल र मलको कुपन लिन राजधानीको कुलेश्वर पुगेका थिए। कृषि सामग्री कम्पनीले एकजनालाई एक बोरा मात्र मल दिने भएपछि एउटै घरका पनि दुई-दुई जना मानिस मलको लाइनमा बस्न खाजा सामलसहित आएका छन्।
उता मलको अभाव भएपछि कतिपयले यसैलाई धन्दा बनाएका छन्। कुपनबाट लिएको सहुलियतको मल कतिपयले गाउँमा लगेर क्विन्टलको दुई हजार पाँच सयसम्ममा बिक्री गर्दै आएको काठमाडौँ गोल्दुङ गाविसका इन्द्रप्रसाद प"mुयाल बताउँछन्।
उता केही दिनअघि कुपन नै वितरण गर्न बन्द गरेको कम्पनीले शुक्रबारदेखि फेरि कुपन वितरण गर्न सुरु गरेको छ। शुक्रबार मात्र कम्पनीले दुई हजार कुपन वितरण गरको थियो। शुक्रबार कुपन पाएका किसानले आइतबार मल पाएका छन्। उता आइतबार पनि कम्पनीले कुपन त बाँडेको छ तर उनीहरूले सोमबार मल पाउने नपाउने कुनै टुङ नभएको कम्पनीका अधिकारीहरू बताउँछन्।
भारत सरकारबाट गत वर्ष नै स्वीकृति प्राप्त भई बाँकी रहेको साढे ४२ हजार मेटि्रकटन मलमध्ये भारतीय मल कम्पनीको मिटल्स एन्ड मिनरल्स टेडिङ कम्पनी -एमएमटिसी)कोे साढे १२ हजार मेटि्रक टन मल आयातका लागि कम्पनीले प्रक्रिया अघि बढाएको छ। त्यसमध्ये दुई हजार पाँच सय मेटि्रकटन मल भारतको आसामस्थित ब्रहृमपुत्र भ्याली फर्टिलाइजर कर्पोरेसनको मल लोड भइसकेको र सोमबारसम्म वीरगञ्ज आइपुग्ने कृषि मन्त्रालयका प्रवक्ता डा. हरि दाहाल बताउनुहुन्छ। त्यसबाहेक बाँकी मलको अहिलेसम्म कुनै अत्तोपत्तो छैन। बाँकी मल कसरी आयात गर्ने भन्ने कुराको निर्णय कम्पनीकै बोर्डले गर्ने कुरा डा. दाहाल बताउनुहुन्छ। तर कम्पनीका अधिकारीहरू भने अहिलेको समस्या कम्पनीले मात्र समाधान गर्न नसक्ने र यो प्रधानमन्त्री स्तरबाट सीधै भारत सरकारसँग कुरा गरेर थप मल आयात गर्न सके मात्र मल समस्या समाधान हुने बताउँछन्।