आगामी भदौ १ गतेदेखि काठमाडौँमा रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु हुने भएको छ। काठमाडौँ महानगरपालिका र नेपाल यातायात राष्ट्रिय महासङ्घको सहकार्यमा यस्तो सेवा सञ्चालन गर्न लागिएको हो। महानगरका सुविधामध्ये रात्रिकालीन यातायात पनि एक हो। मानिसहरूकोे व्यस्तता र जीवनशैलीमा आएका परिवर्तनले पनि यस्तो सेवाको अपेक्षा गरिएको अवस्थामा यो सुविधा सञ्चालन हुने भएको हो। काठमाडौँबासीका लागि रात्रिकालीन नगर बसको अनुभव नयाँ हुन सक्दछ तर यसलाई स्थायी र एउटा संस्कृति बनाउन सकियो भने आगामी दिनमा राजधानीवासीले केही थोरै भए पनि थप यातायातको सुविधा अनुभव गर्न पाउने छन्। विकासको आधुनिक परिभाषा दिने विद्वान्हरूका अनुसार विकासका साधनमा जनताको कति पहुँच र विकल्प छन् भन्ने आधारमा विकासको स्तर मापन गर्न सकिन्छ। यस हिसाबले हेर्ने हो भने रात्रि यातायात सेवामा उपभोक्ताको थप पहुँच पुग्ने र उपभोक्ताहरूले यातायात सुविधाको थप विकल्प पाउने भएकाले यसलाई विकास भन्न सकिन्छ। हाललाई सात वटा रुटमा १४ वटा बस सञ्चालन हुनेछन्। सुरुको ६ महिना परीक्षणकालीन सेवा रहने र त्यस अवधिका लागि महानगरपालिकाले महासङ्घलाई ४५ लाख रुपियाँ उपलब्ध गराउने सहमति भएको छ। मूलतः काठमाडौँ महानगरपालिका वा अन्य सम्बन्धित सरकारी निकायले यस्तो सेवा सञ्चालनका लागि भौतिक पूर्वाधार बनाउने र व्यवसायीले यातायात सञ्चाल गरी यस्तो सेवालाई निरन्तर गर्न सकिन्छ। यात्रु तथा उपभोक्ताहरूले पनि बसहरूको सुरक्षामा योगदान दिन सक्दछन्।
हाललाई यो सेवा निकै चुनौतीपूर्ण देखिएको छ। सबैभन्दा पहिले हामीकहाँ सहरभित्र जुन रात्रिकालीन चहलपहल हुन्छ त्यसबाट बसलाई आवश्यक मात्रामा यात्रुहरूको सङ्ख्या आपूर्ति हुनुपर्दछ। अखिर यसरी बस सञ्चालन गर्नुको पछाडि व्यवसायीले नाफाको मनसाय राख्ने हुनाले उनीहरूको लगानी सुरक्षित हुने गरी यात्रु उपलब्ध हुने वातावरणका लागि सरकार वा महानगरपालिकाले विशेष व्यवस्था गरिदिनुपर्दछ। सात-आठ बजे सारा सहर सुनसान हुने र यात्रु/बटुवाको आउजाउ नहुने अवस्थामा रात्रि बसकोे सेवा फिक्का हुन पुग्दछ। त्यसैले सुविधा र सुरक्षा प्रदान गरेर रात्रिकालीन गतिविधि बढाउन बजार र व्यवसाय विस्तार गर्ने हो भने मात्र यस्ता सेवा निरन्तर हुन सक्दछन्। सुरुताका लामो दुरीमा रात्री बस सेवा सञ्चालनको योजना गर्दा यस्तै समस्या देखिने चर्चा गरिएको भए पनि नेपालको लामो दुरीमा सञ्चालित बस सेबा निकै प्रभावकारी देखिएकाले यात्रुहरूको आकर्षण यसमा अहिले पनि बढ्दो छ। त्यसैले रात्रि बस सेवालाई स्थायित्व दिन यात्रु सङ्ख्या बढाउने विभिन्न तरिका अपनाउनु मुख्य सर्त हुनसक्दछ। यसैगरी, हाल दिउँसोमा देखिने सार्वजनिक यातायातका साधनहरूको अव्यवस्था, रुट समयको वेवास्था, अनावश्यक प्रतिस्पर्धा वा रुट छाडेर रिजर्भमा जाने र यात्रुलाई अनावश्यक दुःख दिनेजस्ता गतिविधि दोहरिने हो भने यात्रुको अविश्वासका कारण रात्रि बस सेबा प्रभावकारी हुन सक्दैन। व्यवसायीले पनि यात्रुलाई विश्वासमा लिनै पर्दछ। उनीहरूले ऋण काढेर वा अन्य प्रकारले किनेको बसबाट छिटो प्रतिफल लिने साधन भनेका यात्रु नै हुन्। यात्रु विना उनीहरूको पनि विकल्प छैन। यात्रुहरूलाई पनि यस्तो सुविधा चाहिएको छ, बस मालिक अर्थात् व्यवसायीहरूलाई पनि धेरै सेवा प्रदान गरेर आम्दानी लिन यात्रु चाहिन्छ। यी दुई आवश्यकताबीच अधिकतम सम्बन्ध बसाउन सकियो भने यस्तो सेवा आगामी दिनको अपरिहार्य आवश्यकता बन्न सक्दछ। हाल रत्नपार्कबाट छुट्टाछुट्टै रूपमा बाँसबारी, जोरपाटी, कलङ्की सातदोबाटो, तीनकुने सिनामङ्गल, बबरमहल, कोटेश्वर र चक्रपथ दायाँबायाँका रुटमा यस्तो सेवा उपलब्ध हुने भएको छ। यसबाट त्यस क्षेत्रका बस विसौनी नजिकका उपभोक्ता मात्र लाभान्वित हुने भएकाले विसौनीभित्रका उपभोक्तालाई यो सेवाले आकषिर्त गर्न नसक्ने भएका लागि चक्रपथ भन्दा बाहिरका उपभोक्तालाई लक्षित गरी स्थानीयरूपमा पनि यस्तो यातायात सञ्चालन गर्न स्थानीय निकायले व्यवसायीलाई प्रेरित गर्न सक्दछ। यस्तो अवस्थामा उपत्यका बाहिरका उपभोक्ता पनि चक्रपथभित्र सञ्चालन हुने यातायातका उपभोक्ता बन्न सक्दछन् र यात्रुको सङ्ख्या बढाउन सकिन्छ। समग्रमा भन्ने हो भने सुविधा र सुरक्षा प्रदान गरेर बेलुका आठ बजेदेखि ११ बजेसम्मको नगरपालिकाको जनजीवनलाई जागा गराउन सक्ने हो भने यस्ता सेवाका लागि आवश्यक यात्रु पाउन गाह्रो पर्दैन। महानगरभित्र सार्वजनिक भवन, सडक, धारा, विजुलीका केही काम रात्रीमा मात्र गर्न पाउने व्यवस्था गरिदिने हो भने यस क्षेत्रमा दिउसो हुने भीडभाड कम गर्दै रात्रिकालीन जनजीवनको संस्कृति बसाउन सकिन्छ।