नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालालाई कसरी मूल्याङ्कन र स्मरण गर्ने ? यो अत्यन्त गम्भीर प्रश्न हो। राजनीतिका माध्यमबाट नेपाली चेतना एवं पहिचानमा साठी दशकभन्दा लामो र ओजपूर्ण प्रभाव राख्ने गिरिजाप्रसाद कोइरालाको ८९ औँ जयन्ती दिवस सोमबार विभिन्न कार्यक्रम गरी मनाएर उहाँ र उहाँको योगदानलाई स्मरण गरियो। यही स्मरणको सन्दर्भमा स्वर्गीय कोइरालाको मूल्याङ्कनको प्रश्नले नेपाली मानसमा उत्तर खोजेको हुनुपर्छ।
त्यसो त कुनै पनि महापुरुषको मूल्याङ्कन कुनै एक कोणबाट पर्याप्त गर्न सम्भव हुँदैन। महापुरुषहरूको प्रभाव बहुआयामिक हुन्छ। यस्ता पुरुषलाई मूल्याङ्कन आफ्नो क्षेत्र वा चिन्तन र विचारमा अथवा योगदानमा प्रेरणाप्रद व्यक्तित्व भनेर संक्षिप्तमा मात्र गर्न सम्भव हुन्छ। समग्रमा मूल्याङ्कन इतिहासको लामो र अविच्छिन्न प्रयासमा सायद सम्भव होला। यस्ता व्यक्तित्वलाई व्यक्तिले आआफ्नै जानकारी, अध्ययन र बुझाइमा गर्छन् र त्यो पर्याप्त भने हुँदैन।
कुनै पनि मुलुकले इतिहास वा युगलाई समग्रतामा प्रभाव पार्ने व्यक्तित्वहरू बारम्बार पाउन सक्दैन। नेपालकै सन्दर्भमा भन्ने हो भने समयको लामो शृंखलाबीच बुद्ध, पृथ्वीनारायण र भानुभक्त आ-आफ्नो विषय, क्षेत्रका मूर्धन्य बने। त्यसपछि आधुनिक भन्नोस् वा प्रजातान्त्रिक चेतनाका प्रदीप्त व्यक्तित्व बीपी कोइरालालाई नेपाली समाजले पायो। बीसौँ शताब्दीको अन्त्य भनियोस् वा २१ औँ शताब्दीको आरम्भबीच गिरिजाप्रसाद कोइरालाको नेतृत्व यस मुलुकले पायो।
महापुरुषहरूको प्रभाव व्यक्तिमा, समाजमा र विश्वक्षेत्रमा पनि परेको हुन्छ। यही कारण उनीहरूलाई प्रेरणा स्रोतसमेत मानिन्छ। यस्ता व्यक्तित्व आफ्नो मुलुकको संस्कृति एवं इतिहासको पहिचानसमेत बन्दछन्। जस्तै नेपालमा जन्मिएका बुद्ध यस देशका पहिचान बने। बीपी कोइराला नेपालको राजनीति र सामाजिक चेतनाबाट माथि उठेर विश्वपहिचानको व्यक्तित्वमा स्थापित हुनुभयो। गिरिजाप्रसाद -जीपी) कोइरालाले वर्तमान इतिहासको अन्तिम कालखण्डलाई यसरी प्रभाव पार्नुभयो कि, उहाँको जयन्तीमा आयोजित कार्यक्रमका वक्ताहरूले उहाँको अनुपस्थितिलाई अहिलेको नेपाली राजनीतिमा नेतृत्व अभावको रूपमा प्रस्तुत गरे। चाहे जीपी कोइराला फाउन्डेसन फर डेमोक्रेसी, पीस एण्ड डेभलपमेन्ड संस्थाले गरेको कार्यक्रममा होस् वा नेपाली कांग्रेस काठमाडौँ जिल्लाद्वारा आयोजित कार्यक्रमका वक्ता, उनीहरूको निष्कर्ष जीपीको अभाव अहिलेको अश्लील राजनीति हो भन्ने नै रहृयो। मंगलबार नेवि सङ्घको कार्यक्रमका वक्ताको निष्कर्ष पनि यही थियो।
वक्ताहरूको निष्कर्षलाई यहाँ उद्धृत गर्नुको सान्दर्भिकता यस कारण छ कि, जीपीले शुरु गर्नुभएको शान्ति, लोकतन्त्र र समृद्धिको यात्रा यतिबेला अवरुद्ध जस्तै भएको छ र उहाँको अभाव खट्किएको छ। जतिबेला यो मुलुक हिंसा प्रतिहिंसाबाट अत्यन्त मर्माहत थियो, प्रत्येक व्यक्ति आफूलाई असुरक्षित ठान्दथ्यो, त्यतिबेला जीपी कोइरालाले- म हार्न तयार छु तर मुलुक हार्नु हुँदैन, नेपाली जनता मार्नु हुँदैन भनेर शन्तिको प्रयास शुरु गर्नुभयो। उहाँ सफल पनि हुनुभयो, आज भइरहेको बाँच्न पाइने अनुभूतिमा उहाँको नेतृत्व नै छ। प्रस्ट दृष्टिका साथ उहाँले भन्नुभयो-शान्ति, लोकतन्त्र र समृद्धि, यसका लागि सहमति, सहकार्य र एकता। यही दृष्टिबाट जीपी सफल हुनुभयो। प्रश्न यो यात्रालाई सशक्त र सफल बनाउने नेपाली राजनीतिका उत्तराधिकारी किन अहिले अलमलिएका छन् ? उहाँको यो सूत्र, जुन सूत्र बीपी कोइरालाको मेलमिलाप निस्सृत छ, के नेपाली राजनीतिमा यो भन्दा अर्को सुन्दर विकल्प छ र ? के जीपीले अहिलेको भत्रगोल, बेथिती र अन्योलका लागि शान्ति, लोकतन्त्र र समृद्धिको कल्पना गर्नु भएको थियो वा गणतन्त्र स्थापनाको नेतृत्व ? अथवा उहाँको यी सूत्रमा मुलुकका अन्य राजनीतिक दल र नेताहरू यस्तै बेथितिका लागि संवेष्ठित भएका थिए ?
गिरिजाप्रसाद कोइरालाको सबैभन्दा ठूलो पहिचान मिहिनेतकस मजदुरको पक्षमा लडेर उठेको लोकतान्त्रिक व्यक्तित्व हो। समय क्रममा आएको चुनौती अर्थात् देशलाई गृहयुद्धबाट जोगाउन र नेपाली जनताको बाँच्न पाउने हक रक्षा गर्न उहाँले शान्ति स्थापनाको गम्भीर दायित्व पूरा गर्नुभयो। हिंसाबाट राज्यसत्ता कब्जा गर्ने उद्देश्य लिएको नेपाल कम्युनिष्ट पार्टी माओवादीलाई लोकतान्त्रिक सूत्र अनुसार उहाँले नै शान्तिको पथमा ल्याउनुभयो। यही कारण नेपाली जनताले जीपीलाई शिखरपुरुष, महानायक र शान्तिनायक जस्ता सम्मानित उपाधि प्रदान गरे।
जीपी कोइराला नेपाली राजनीतिमा अत्यन्त आलोचित व्यक्तित्व पनि हुनुहुन्थ्यो। उहाँको आलोचना शारीरिक उचाइ र सौन्दर्यका कारण भएको थिएन। विरोधीहरूले, लोकतान्त्रिक भन्नोस् वा प्रजातन्त्रप्रतिको उहाँको अविचलित निष्ठा एवं राष्ट्र र जनताका पक्षमा अहर्निस सङ्घर्षका कारण -जीपीको) आलोचना गरेका थिए। तर अविचलित यात्रामा उहाँ नेपाली राजनीतिका अत्यन्त सम्मानित नेता एवं शिखरपुरुषको पदवीबाट सम्मानित हुनुभयो। बहुआयामिक उहाँको व्यक्तित्वको समग्र मूल्याङ्कन इतिहासको लामो खोजको विषय भए पनि अहिलेको पुस्ताले जीपीलाई लोकतन्त्र, शान्ति र समृद्धिका महानायकमा स्मरण गरेको छ र उहाँको अभाव महसुस गरेको छ।