काठमाडौं, असार २१ गते। सरकारले रौतहटमा बिहीवार भएको घटनाका मृतक परिवारलाई उचित क्षतिपूर्ति, घटनाको छानवीन र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था गर्ने भएको छ। मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले सो निर्णय गरेको हो।
असार १४ गते राति ट्याक्टरको ठक्करबाट स्थानीय रामाश्रय महतोको मृत्यु भएपछि प्रहरीले शंकास्पद चालकलाई पक्राउ गरेको थियो। चन्द्रनिगाहपुर-गौर सडकखण्डमा स्थानीय बासिन्दाले प्रहरीले निर्दाेषलाई पक्राउ गरेको भन्दै बिहीवार चक्काजाम गरेका थिए। सो चक्काजाम खुलाउने क्रममा प्रहरी र स्थानीय बासिन्दाबीच भएको झडपले उग्र रूप लिएपछि प्रहरीले गोली चलाउँदा स्थानीय रमोद साह कलवारको मृत्यु भएको थियो भने अन्य दुईजना गम्भीर घाइते भएका थिए।
यसैगरी बैठकले किसानका लागि बीउबिजन आयोजना कार्यान्वयन गर्न कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषसित दुई अर्ब ४६ करोड रुपियाँ -२ दशमलव ९ करोड अमेरिकी डलर) बराबरको ऋण तथा अनुदान सहायता लिने सम्बन्धमा वार्ता गर्न कृषि विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा आठ सदस्यीय वार्ताटोली गठन गर्ने निर्णय गरेको छ।
सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले सो वार्ताटोलीलाई कोषसित वार्ता गर्न अख्तियारी दिइएको जानकारी दिनुभयो। त्यस्तै चीनको बेइजिङमा आगामी साउन ६ देखि ११ गतेसम्म आयोजना हुने नेपाल-चीन गृहसचिवस्तरीय बैठकमा सहभागी हुन गृहसचिवको नेतृत्वमा आठ सदस्यीय वार्ताटोलीलाई त्यसतर्फ जान स्वीकृति दिइएको छ।
अस्ट्रेलियाको वि्रसवियन सहरमा आगामी साउन १ देखि ५ गतेसम्म आयोजना हुन लागेको एसिया प्यासेफिक गु्रप अन मनी लन्डरिङको वाषिर्क सम्मेलनमा भाग लिन नायब महान्यायाधिवक्ता राजनारायण पाठकलाई पठाउने निर्णय गरिएको छ।
बुल्गेरिया सरकारद्वारा नेपाल विद्युत् प्राधिकरणमा कार्यरत इलेक्ट्रो मेकानिकल इन्जिनियर उपनिर्देशक महेशमान बस्नेतलाई बुल्गेरियाली नागरिकलाई सहयोग पुर्याएबापत प्रदान गरिएको दी अर्डर अफ म्याडोना हर्सम्यान -प्रथम श्रेणी) को सम्मान ग्रहण गर्न स्वीकृति दिइएको छ।
मन्त्रिपरिषद्को बैठकले नेपाल कृषि सेवाअन्तर्गतको एग्रो इको एन्ड मार्केटिङ समूहका वरिष्ठ योजना अधिकृत ध्रुवनारायण चित्रकारलाई सोही सेवाको राजपत्राङ्कित प्रथम श्रेणीमा २०६९ असार ३ गतेदेखि लागू हुने गरी बढुवा गर्ने निर्णय गरिएको छ।