काठमाडौँ, असार २१ गते। केन्द्रीय बहिरा उमावि, काठमाडौँका सन्तोष नेपालले १७औँ विद्यालय स्तरीय राष्ट्रिय विशेष खेलकूद प्रतियोगितामा बिहीवार दोहोरो स्वर्ण जितेका छन्। उनले बहिरातर्फ छात्र सय र चार सय मिटर दौडमा स्वर्ण जितेका हुन्।
सय मिटरमा शृजना उमावि, पोखराका सञ्जय तामाङ दोस्रो र मनकामना बहिरा विद्यालय, गोरखाका रामबहादुर सोती तेस्रो तथा चार सय मिटरमा केन्द्रीयका दीपक कटवाल दोस्रो र विराट बहिरा मावि, विराटनगरका राजुकुमार चौधरी तेस्रो स्थानमा रहे।
छात्रा सय मिटर दौडमा केन्दि्रयकी सङ्गीता बस्नेत पहिलो, विराटकी अनुराधा पौडेल दोस्रो तथा केन्द्रीयकी सुनीता तामाङ तेस्रो भए। छात्रा चार सय मिटरमा सिर्जनाकी मनिषा अधिकारी, केन्द्रीयकी रिङ्कीकुमार महतो तथा केन्द्रीयकै सङ्गीता बस्नेत क्रमशः शीर्ष तीन स्थानमा रहे।
राष्ट्रिय खेलकूद परिषद् -राखेप) द्वारा आयोजित प्रतियोगिताको बहिरातर्फ छात्र सटपुटमा पूर्वाञ्चल बहिरा विद्यालय, धरानका रूपेश चौधरी र छात्रामा धौलागिरी बहिरा विद्यालय, वाग्लुङकी तीलदेवी गर्बुजा प्रथम भए।
पूर्ण दृष्टिविहीनको छात्र ५० मिटर दौडमा नेपाल राष्ट्रिय उमाविका महेश शाहले सबै प्रतिद्वन्द्वीलाई उछिन्दै स्वर्ण चुमे। सोही स्पर्धाको छात्रामा अमरसिंह उमावि, पोखराकी रीता थापा पहिलो भइन्। आंशिक दृष्टिविहीनको सय मिटर दौडको छात्रमा नमुना मच्छिन्द्रकी सुशान्त नगरकोटी तथा छात्रामा पञ्चोदय मावि, धनगढीकी सविता चौधरी शीर्ष स्थानमा रहे।
शारीरिक अपाङ्गको छात्रा सय मिटर हृविलचेयरको शीर्ष तीन स्थानमाथि खगेन्द्र नवजीवन मावि, जोरपाटीका खेलाडीले कब्जा जमाए। लाली लामा, पेमा लामा तथा आकृति पौडेल शीर्ष तीन स्थानमा रहे। उक्त स्पर्धाको छात्रमा खगेन्द्रकै तेजबहादुर घर्ती मगर पहिलो भए।
एक वैशाखीसहितको दौडमा धनबहादुर तामाङले सय मिटरमा स्वर्ण जिते। सोही दूरीमा दुई वैशाखी लिएर भएको प्रतिस्पर्धामा नेपाल अपाङ्ग संघ, कैलाली शाखाका दीपक खत्री पहिलो भए।