काठमाडौं, असार २२ गते। मधेसवादी दलहरू विभाजित भइरहेको अवस्थामा तराई मधेस लोकतान्त्रिक पार्टीले मधेसमा एउटै पार्टी बनाउने अभियान थाल्ने भएको छ। तराई मधेस लोकतान्त्रिक पार्टी स्वयं विभाजित भइसकेको तथा मधेसी जनअधिकार फोरम छ टुक्रा र नेपाल सद्भावना पार्टी पाँच टुक्रा भइसकेको अवस्थामा तमलोपाले सो अभियान थाल्न लागेको हो।
तमलोपा पार्टी कार्यालयमा शुक्रवार बसेको पदाधिकारी बैठकले अभियान चलाउन पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। समितिमा सहमहामन्त्री जितेन्द्र सोनल र केन्द्रीय सदस्य पुष्पा ठाकुर रहनुभएको छ।
सहमहामन्त्री सोनलले एउटै मुद्दा, एउटै विचार र एउटै कार्यक्रम भएपछि एउटै पार्टी बनाउन के आपत्ति त्यसैले आफ्नो दलले यो अभियान शुरू गरेको बताउनुभयो। मधेसको मुद्दामा मधेस केन्दि्रत सबै दलसँग वार्ता गर्ने तयारी भइरहेको बताउनुभयो। उहाँले पहिला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट यो वार्ता शुरू गर्दै अन्य दलसँग समेत छलफल गर्ने बताउनुभयो। यो अभियान एक दुई दिनभित्र शुरू गर्ने बताउँदै उहाँले मधेसमा एकताको खाँचो रहेको छ, चार वर्षको अवधिमा दल टुटफुटले गर्दा मधेसी जनताले मधेसवादी दलबाट खुशी भन्दा बढी पीडा पाएको स्वीकार गर्नुभयो।
एकताका लागि कसैले थालनी गर्नु नै पथ्र्यो हामीले गर्यौं आउने दिनमा कतिको सफल हुन्छ त्यो भविष्यले बताउँछ तर राम्रो कामको शुरुआत हाम्रो पार्टीबाट भएको बताउँदै नेता सोनलले यस अभियानले मधेसी जनतामा एकताको सन्देश जाने धारणा राख्नुभयो। सोही पार्टीबाट अलग भएर तराई मधेस लोकतान्त्रिक पार्टी नेपाल गठन गर्नुभएका महेन्द्रराय यादवले आफ्नो पार्टीलाई एक राख्न नसक्नेले मधेसमा रहेका एक दर्जनभन्दा बढी पार्टीलाई कसरी एक बनाउन सक्छ भनी प्रश्न गर्नुभयो। उहाँले जसको न कुनै विचार छ न कुनै सिद्धान्त छ, त्यसले मधेसमा एकताको लागि अभियान चलाएर केही हुँदैन, भन्नुभयो।
उपेन्द्र यादव अध्यक्ष रहेका मधेसी जनअधिकार फोरमबाट अलग भएर मधेसी जनअधिकार फोरम लोकतान्त्रिक गठन गर्नुभएका वरिष्ठ उपाध्यक्ष रामेश्वरराय यादवले पार्टीहरू एक भइदिए राम्रो तर यो सम्भव नभएको बताउनुभयो। मधेसवादी नेताहरूले मधेसमा पहिलो आफ्नो अवस्था हेर्छन् अनि मधेसको, त्यसकारणले मधेसमा एउटै पार्टी निर्माण हुन सक्दैन, उहाँले भन्नुभयो- जबसम्म मधेसवादी दलका नेताहरू मधेसको नाम आफ्नो रोटी सेक्न बन्द गर्दैन तबसम्म मधेसमा एकता सम्भव छैन। उहाँले मधेसी नेतामा मधेसप्रतिको चिन्तन कम र आफ्नो
स्वार्थ बढी भएका कारण मधेसको यस्तो अवस्था भएको बताउनुभयो।
फोरम नेपालकी कोषाध्यक्ष रेणु यादवले मधेसमा एकताको अवश्यकता छ तर यो एकताको अभियानमा जुन व्यक्ति र पार्टी छ त्यो नै गलत रहेको प्रतिक्रिया दिनुभयो। मधेसमा एकताको नाममा नेता बन्न खोज्नेहरूको यो रणनीति हुनसक्छ, त्यसैले मधेस यसबाट सचेत रहेको बताउनुभयो। मधेसी जनतालाई सधैं भ्रममा राखेर राजनीति गरे तर आज त्यो भ्रम पहिचान भइसकेपछि नयाँ नाट्क शुरू गरेको आरोप लगाउनुभयो।
त्यस्तै, राजेन्द्र महतो अध्यक्ष रहनुभएको सद्भावना पार्टीबाट अलग भएर संघीय सद्भावना पार्टी गठन गर्नुभएका अनिल झाले पहिला मोर्चा एक भएर देखाइयोस् न अनि मधेसका सबै पार्टीलाई एक गर्ने कुरा हुन्छ, मोर्चामा नै एकता देखाउन नसक्नेले मधेसमा एउटै पार्टी निर्माण गर्न नसकिने बताउनुभयो। तमलोपाको यो 'प्रोपगण्डा' रहेको आरोप लगाउँदै उहाँले सरकारमा रहेका मधेसी मन्त्रीहरूबीचमा एकता छैन, एक मन्त्रीको काम अर्को मन्त्री गर्दैन भने पार्टीका लागि कसरी एक हुने प्रश्न गर्दै उहाँले भन्नुभयो- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट नै यो प्रस्ताव किन बाहिर आएन ? मोर्चाका एक घटकले यो प्रस्ताव ल्याउनुले नै यो सम्भव छैन भन्ने कुराको पुष्टि हुन्छ। उहाँले यही एकताको अभियान चलाउनु थियो भने शुरुमा मधेसमा एउटै नेपाल सद्भावना पार्टी थियो त्यसैलाई एउटै पार्टी नबनाएर छुट्टाछुट्टै दल किन गठन गरे ? त्यसैले यो सब नाट्क हो, यो एकताको प्रयास सम्भव नभएको बताउनुभयो।