काठमाडौं, असार २५ गते। नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राजनीतिक र सडक संघर्षका कार्यक्रमबाट एनेकपा -माओवादी)लाई सहमतिमा ल्याउन बाध्य पारिने बताउनुभएको छ।
महोत्तरी काठमाडौं सम्पर्क समितिको दोस्रो अधिवेशनको शनिवार काठमाडौंमा उद्घाटन गर्दै सभापति कोइरालाले कांग्रेस सधैं सहमति, मेलमिलाप र एकताको पक्षमा रहेको बताउनुभयो।
उहाँले माओवादीले विगतमा गरेका सहमति र सम्झौता पालना नगरेका कारण देशविदेशमा उसको छवि बिगि्रएको बताउँदै राजनीतिक निकासका लागि विगतका सहमति कार्यान्वयन गर्नुपर्छ भन्नुभयो।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू दिलबहादुर घर्ती, रामचन्द्र तिवारीलगायतले राजनीतिक निकासका लागि प्रमुख दलहरूबीच वार्ता र छलफललाई तीव्र बनाउन आग्रह गर्नुभयो। रासस