काठमाडौं, असार २५ गते। सर्वाेच्च अदालत बार एसोसिएसनको अध्यक्षमा प्रजातान्त्रिक समूहका अधिवक्ता रामप्रसाद गौडेल निर्वाचित हुनुभएको छ। शनिवार सम्पन्न निर्वाचनमा प्रजातान्त्रिक समूहका उम्मेदवार गौडेलले प्रगतिशील समूहका उम्मेदवार महेन्द्रकान्त मैनालीभन्दा पाँच मत बढी प्राप्त गरी निर्वाचित हुनुभएको हो। गौडेलले २५२ मत प्राप्त गर्नुभएको थियो भने मैनालीले २४७ मत प्राप्त गर्नुभएको थियो।
सर्वोच्च बारको उपाध्यक्षमा प्रजातान्त्रिक समूहकै अधिवक्ता अरविन्दकुमार सिंह, प्रगतिशील समूहका अधिवक्ता केदार गौतमभन्दा आठ मत बढी प्राप्त गरी विजयी हुनुभएको छ। सिंहले २४२ मत पाउनुभएको थियो भने गौतमले २३४ मत पाउनुभएको थियो।
यसैगरी सचिव, कोषाध्यक्षमा प्रजातान्त्रिक समूहकै क्रमशः अधिवक्ताद्वय एगराज पोखरेल र राजकुमार थापा विजयी हुनुभएको छ। बाँकी सदस्यहरूमा सातजना प्रजातान्त्रिक समूहकै उम्मेदवार विजयी भएका छन् भने तीनजना प्रगतिशील समूहका निर्वाचित भएका छन्।
सदस्यमा प्रजातान्त्रिक समूहका अधिवक्ताहरू ऋषिराम घिमिरे, डा. विजयकुमार सिजापती, सुभद्रा सिटौला घिमिरे, महेन्द्रबहादुर श्रेष्ठ, रामबन्धु शर्मा, सन्तकुमार खरेल सदस्य पदमा निर्वाचित हुनुभएको छ भने प्रगतिशील समूहका अधिवक्तात्रय पुण्य दंगाल, सदीप खरेल र मुकुन्द पौडेल विजयी हुनुभएको सर्वाेच्च अदालत बार एसोसिएसनले जनाएको छ।