गतांकमा यसै स्तम्भमा प्रकाशित 'सम्पर्क भाषा बन्न सक्छ संस्कृत' शीर्षकको लेखले अपेक्षाकृत बढी नै चर्चा पायो। सबैले राम्रै माने। कतिले गर्नैपनर्ेे कुरो थियो भने। कतिले ठीक समयमा ठीक कुरो भयो भने। रेडियो कान्तिपुरले त लामो अन्तरवार्ता नै बजायो तर शायद स्वयं संस्कृत भाषाका गुरुहरू भने त्यति सन्तुष्ट रहेनन्। एकजना गुरुले त मुखै फोर्नुभयो। उहाँ भन्दै हुनुहुन्थ्यो- 'संस्कृत भाषाको कुरो गर्दा संस्कृत क्याम्पस तथा विश्वविद्यालयको नाम नलिएर किन अरु नै संस्थाको नाम लिनु भयो। के यिनीहरूभन्दा सक्षम निकाय अरु कुनै हुन सक्छन् र ?' कुरो सुन्दा आश्चर्य लाग्यो तर कुनै प्रतिक्रिया जनाउन उपयुक्त ठानिन। स्मरण रहोस्, सो लेखको आशय संस्कृतलाई सम्पर्कभाषा बनाउन यसै भाषाको विकासमा विशेष योजनासाथ अगाडि बढ्दै आएको दोलखाको गौरीशंकर संस्कृतग्रामले निकै गर्न सक्छ र यसमा अरुले पनि सघाउनु पर्छ भन्ने थियो। यद्यपि गुरुको आशय पनि नराम्रो त थिएन तर उहाँको भनाइमा संस्कृतका बारेमा कुरा गर्ने आधिकारिक निकाय भनेको संस्थामा संस्कृत विश्वविद्यालय र व्यक्तिमा हामीहरू नै हौं भन्ने अहंकार भने प्रष्टै ध्वनित भइरहेको थियो।
वास्तवमा संस्कृतको अवनति हुनुको कारकतìव हाम्रो यस्तै प्रवृत्ति हो। हामी आफू पनि गर्दैनौ र अर्काको नाम लिएको पनि सुन्न चाहदैनौं। हाम्रा यस्तै सोच र मान्यताले संस्कृतको स्थिति दियो मुनिको अँध्यारो हुन पुगेको हो। जब हामी जिम्मेवार तहमा रहनेहरू नै आफू त यसै पनि नयाँ सोच बनाउँदैनौं, अरुले कुरो गरे पनि भातभान्साको मान्यता अगाडि सारेर हुन्छ कि आधिकारिक र अनाधिकारिकको कुरो गरेर हुन्छ हतोत्साही गराउने प्रयास गर्छौं भने कसरी हुन्छ संस्कृतको विकास। को आधिकारिक को अनाधिकारिक राम्रो काम जसले गर्छ वा गर्न खोज्छ त्यही आधिकारिक। निःसन्देह संस्कृतको विकास गर्ने दायित्व संस्कृत क्षेत्रकै हो। यसैका लागि नै क्याम्पस तथा विश्वविद्यालय खुलेका हुन् र राज्यले लगानी गरेको पनि यसैका लागि नै हो तर विडम्बना ती क्षेत्रबाट के कति काम भएका छन् सबैलाई थाहा भएकै कुरो। यद्यपि संस्कृत संरक्षणको कुरा नभएका होइनन्। धेरै भएका छन् तर काम भने सिन्कोसम्म नभाँचिएको यथार्थ कसैबाट लुकेको छैन।
विनम्रतापूर्वक क्षमा याचना गर्दै भन्नैपर्छ अहिले पनि हाम्रा गुरुहरू वेदका मन्त्र घोकाउनमै व्यस्त छन्। उनीहरू अहिले पनि भनिरहेका छन् वेदका मन्त्र यसरी उच्चारण गर्न पर्दछ। त्यसरी गर्न हुँदैन। याज्ञवल्क्यले यसो भनेका छन्। निरुक्तले त्यसो भनेको छ तर मन्त्रले के भनेको छ वा भन्न खोजेको छ त्यतातिर भने कसैको ध्यान गएको छैन। होला, कर्मकाण्डमा मन्त्रोच्चारणको मर्यादा पनि आˆनै स्थानमा होला। ह्रस्व, दीर्घ वा घन जटाको कुरो पनि आउला तर त्यसलाई जसका लागि हो त्यसैमा सीमित हुन दिनुपर्छ। आजको जमाना यन्त्रको हो मन्त्रको होइन। आज न कर्मकाण्डको कुरा गरेर बस्न मिल्छ। न कर्मकाण्डीय जनशक्ति उत्पादन गरेको भरमा सुख पाइने अवस्था छ। समयको माग त यही हो कि अब मन्त्र सिकाउने होइन मन्त्रमा विद्यमान यन्त्र बनाउने तरिका सिकाउनेतर्फ गुरुहरूको ध्यान जानैपर्छ। होइन भने ठाने हुन्छ हाम्रा काला दिन अझ धेरै बाँकी छन्।
प्रसंग रेडियो कान्तिपुरको अन्तरवार्ताकै हो। एकजना बौद्ध भिक्षु आचार्य नोर्बु शेर्पा भन्दै थिए- 'संस्कृतलाई सम्पर्क भाषा बनाउन कत्ति आपत्ति छैन। संस्कृत हामी सबैको मातृभाषा हो। विश्वभाषाको क्षमता राख्दै आएको संस्कृत सम्पर्क भाषा हुन सक्दैन भन्ने नै हुँदैन तर के गर्ने संस्कृतका विद्वान्हरू नै यसमा सहमत हुन सक्दैनन्।' शायद उनले ठीकै भनेका छन्। अझै पनि हामीमध्ये कतिको मानसिकता यस्तो छ कि कसैले त्यस्तो कुरो गर्यो भने संस्कृत जस्तो यज्ञअनुष्ठान गरेर पुण्य कमाउने भाषालाई बोलीचालीमा ल्याएर अपमान गर्न हुँदैन भन्न बेर लगाउँदैनौं। त्यसैले सबैले खास गरी संस्कृत शिक्षण संस्था र श्रद्धेय गुरुवर्गहरूले यसतर्फ विशेष ध्यान दिनुपर्छ।
संस्कृतलाई सम्पर्क भाषा बनाउन पर्ने दिन त्यति टाडा छैन। यो समयको माग हो। अब कसैले चाहेर पनि यसलाई टार्न सक्दैन। अहिले नेपालमा करीब १०२ वटा भाषा बोलिने गरेको अनुमान छ। मुलुक संघीयतामा गइसकेपछि पक्कै ती सबै भाषालाई सम्पर्क भाषा बनाउन सकिन्न। केहीलाई मात्र बनाउने हो भने पनि हाम्रो बानी त्यही हो, कसैले कसैलाई नटेर्ने। यस्तो अवस्थामा एउटा सर्वमान्य सम्पर्क भाषा चाहिन्छ नै। त्यतिबेला त्यो स्थान लिने भनेको संस्कृतले नै हो। कि यो भन्दा उपयुक्त भाषा अर्को देखाउन सक्न पर्यो होइन भने सबै यसैमा आउनैपर्छ, आउँछन्।
अब आयो संस्कृत भाषालाई कसरी सम्पर्क भाषा बनाउने भन्ने कुरो। त्यसलाई पनि खासै टाउको दुखाइरहन पर्ने अवस्था छैन। अलिकति प्रयास गरे सजिलै प्रयोगमा ल्याउन सकिन्छ। आज सात समुद्र पारिको भाषा अंग्रेजीले सम्पर्क भाषाको स्थान लिँदै आएको छ भने यो हाम्रै जननी भाषा हो। नयाँ पुस्ताको कुरो गर्ने हो भने निजी तथा सामुदायिक सबै विद्यालयमा कक्षा एकदेखि स्नातकोत्तर तहसम्म सय पूणर्ाङ्कको एक विषय संस्कृत अनिवार्य गराइदिए पुग्छ। अर्को कुरो संस्कृत शिक्षाले समग्र जीवन पद्धतिलाई नै अनुशासित बनाउने भएकाले यसबाट शान्ति, सदाचार र सद्भाव वृद्धिमा पनि त्यति नै आशावादी हुन सकिन्छ। अब आयो प्रौढहरूको कुरो। उनीहरूलाई पनि करिब तीन-चार महिनाको मात्र भाषा प्रशिक्षण कार्यक्रम चलाउने हो भने पनि सजिलै संस्कृतमा सामान्य बोलचाल गर्न सक्ने बनाउन सकिन्छ।