काठमाडौं, असार २३ गते। लोप हुन लागेको घरेलु हतियारको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन लागि विश्वमा ख्याति कमाएको च्यानबारा खेलको विकासमा नेपाल पनि अग्रसर भएको छ।
खुकुरी, खुँडाजस्ता हतियारको प्रयोगलाई आधार बनाएर नेपालमा च्यानबारा खेल भित्राइए पनि यसको उचित रूपमा प्रबर्द्धन भने हुन सकेको छैन। जापान, थाइल्यान्ड, कोरिया, जर्मन, इटालीजस्ता देशमा प्रख्यात च्यानबारा खेललाई राष्ट्रिय खेलकूद परिषद्ले सन् २०११ मा मान्यता दिएको हो। नेपालले यस खेलको राष्ट्रिय प्रतियोगिता गराइसकेको भए पनि कमैलाई मात्र यस खेलको बारेमा जानकारी छ।
यस खेलका जानकारका अनुसार च्यानबारा खेल बच्चा, युवादेखि उमेर पुगेका व्यक्तिले पनि खेल्न सक्छन्। खेलमा उमेरको कुनै हदबन्दी तोकिएको हुदैन। लठ्ठीलाई हतियार जस्तो बनाएर खेल्ने यो खेल तेक्वान्दो र कराँतेका खेलाडीको लागि पनि निकै उपयोगी हुने भनाइ उनीहरूको छ।
लठ्ठीबाट ट्युबमा हावा भरेर खेलिने यो खेलमा नेपालको खुकुरी र खुडालाई समावेश गरिएको जानकारी नेपाल च्यानबारा संघका अध्यक्ष देवकुमार लामा दिन्छन्। खाली खुट्टाले खेल्ने यो खेलमा प्रयोग हुने लठ्ठी ६० सेन्टिमिटरदेखि एक सय सेन्टिमिटरसम्म हुने जनाउँदै लामाले विशेषगरी घरेलु हतियारको प्रयोग र यसको प्रबर्द्धनका लागि यो खेल विकास भएको बताए।
च्यानमार खेल महिला र पुरुष दुबैले खेल्न सक्दछन्। एकल, डबल्स र समूहमा पनि यो खेल खेल्न सकिन्छ। नेपालले च्यानबारा खेलको अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाइसकेको छ। लामाका अनुसार नेपालमा व्यावसायिक च्यानबारा खेलाडीको संख्या अहिले करिब ५० जना पुगिसकेको छ।
संघका सदस्य लाला गुरुङ पनि नेपालका लािग यो खेल ऐतिहासिक हतियार प्रयोगको तरिकाका लागि निकै उपयुक्त हुने बताउँछन्। यसको प्रबर्द्धनका लागि सम्बन्धित निकायले ध्यान दिन जरुरी भएको छ, गुरुङले भने।