काठमाडौं, असार २९ गते। गोरखापत्रकर्मी लोकबहादुर चौधरी -लक्की चौधरी) भाषा तथा साहित्यमा योगदान दिएबापत क्षेत्रीय प्रतिभा पुरस्कारबाट शुक्रवार यहाँ सम्मानित हुनुभएको छ। १९९औं भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चौधरीलाई नगद तथा सम्मानपत्रले सम्मानित गर्नुभयो। भाषा तथा साहित्य विधाको उत्थानमा सुदूरपश्चिम क्षेत्रबाट उत्कृष्ट योगदान दिएको भन्दै चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष सम्मानित गरेको हो।
नगद ५० हजारसहित सम्मानपत्रले पुरस्कृत चौधरी २०५० सालदेखि भाषा तथा साहित्यमा निरन्तर सक्रिय हुनुहुन्छ। चौधरीले २०५९ चैतदेखि थारू भाषाको दैनिक पत्रिका 'हमार पहुरा' २०६७ वैशाखसम्म प्रकाशित गर्नुभयो। यसैगरी, सहिदान -थारू भाषाको गजल संग्रह २०६१), तिहुवार -थारू भाषाको संस्कृति परिचय २०६२) र अन्तर्भाव -थारू तथा नेपाली भाषाको गजल संग्रह २०६३) प्रकाशित गर्नुभएको छ।
थारू भाषाको प्रथम दैनिकका संस्थापक सम्पादक/प्रकाशक रहिसकेका चौधरीले दर्जनौं साहित्यिक पत्रपत्रिकाको सम्पादन समेत गर्नुभएको छ। सुदूरपश्चिमको कैलालीमा जन्मनुभएका चौधरी अहिले गोरखापत्र दैनिकमा कार्यरत हुनुहुन्छ।