काठमाडौं, असार २९ गते। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले हिजो सत्तामा हालिमुहाली गरिरहेकाहरूले प्रतिक्रान्तिको षडयन्त्र गरिरहेको आरोप लगाउँदै त्यसलाई रोक्न संघीयता पक्षधरहरूको बृहत् मोर्चा बनाउनुपर्ने कुरामा जोड दिनुभयो।
उहाँले यस्तै अवस्थामा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुनै पनि हालतमा राजीनामा नदिने बताउँदै भन्नुभयो- प्रधानमन्त्री भट्टराईले पाँचबुँदे सहमतिको आधारमा सरकारले राजीनामा दिन मिल्दैन र सरकार छाड्न पनि हुँदैन। उहाँले प्रधानमन्त्री भट्टराईले राजीनामा दिए देश दुर्घटनामा जाने चेतावनी दिँदै राजीनामाले समस्या समाधान गर्दैन बरु दुर्घटना निम्त्याउने बताउनुभयो।
सद्भावना पार्टीले आयोजना गरेको 'राजनीतिक निकासका लागि सर्वपक्षीय महासभा'मा बोल्दै उहाँले वैकल्पिक व्यवस्था नभएसम्म प्रधानमन्त्री भट्टराईले राजीनामा दिएर देशलाई अन्धकारमा धकेल्नु हुन्न र आˆनो पार्टीले पनि त्यस्तो हुन नदिने ठोकुवा गर्नुभयो। अध्यक्ष प्रचण्डले विपक्षी मोर्चाले परिवर्तनलाई स्वीकार गर्न नचाहेकाले मधेशी, आदिवासी जनजाति, महिला, मुस्लिम तथा उत्पिडनमा परेकाहरू एक ठाउँमा आउनुपर्ने कुरामा जोड दिनुभयो। उहाँले भन्नुभयो- परिवर्तनकामी पक्षधरहरू एक भएन भने प्रतिक्रान्तिको खतरा टड्कारो देखिएको छ।
संविधानका विवादित विषय, राष्ट्रिय सहमतिको सरकार तथा चुनावका विषयलाई प्याकेज बनाएर सहमति गर्नुपर्ने कुरामा जोड दिँदै उहाँले संविधानका विवादित विषयमा सहमति नभए कुनै पनि हालतमा अर्को सरकार निर्माण नहुने ठोकुवा गर्नुभयो।
जेठ १४ गतेसम्म जहाँ गएर सहमति अड्किएको छ त्यहींबाट पुनः वर्ता शुरू गर्नुपर्छ। यदि त्यसभन्दा बाहिर गएर सहमति खोजियो भने नेपाली जनतामाथि त्यो भन्दा ठूला धोका अरू केही नहुने उहाँले बताउनुभयो।