सोभिनियर बटुल्नुवाहेक मध्यपूर्वको देश भियतनाममा सम्पन्न तेस्रो इण्डोर एसियाली खेलकुदमा सहभागी भएको नेपाल रित्तो हात स्वदेश फर्केको छ । हुन पनि प्रतियोगिताका लागि तयारी पनि रित्तै थियो । रित्तो तयारीले टिमले पदक लिएर फर्केला, खेलाडीहरुले पदक देलान् भनेर आशा गर्नु व्यर्थको अपेक्षा थियो । हुन त प्रतियोगितामा सहभागितााको मुख्य उद्धेश्य भनेको पदक तालिकामा आˆनो देशको नाम लेखाउनु नै हो तर ओलम्पिक चार्टरमा भने भाग लिनु मात्र पनि सर्वाधिक महत्वको कुरा हो भनेर परिभाषित गरिएको छ । हामीले त्यही परिभाषालाई आत्मसात गर्यौँ । नेपाल सहभागी ४३ मध्ये पदकविहीन नौ राष्ट्रको सूचीमा रह्यो । पदक नपाउने दक्षिण एसियाली चार राष्ट्र पाकिस्तान, माल्दिभ्स र भुटानकै लाइनमा नेपाल पनि रह्यो ।
तेस्रो एसियन इण्डोर खेलकुद प्रतियोगितामा नेपालले पाँच खेलमा १७ खेलाडीलाई सहभागिताका लागि उतारेको थियो र ती सबै खेलमा नेपालले उत्कृष्टता देखाउन सकेन । एक दुइ हप्ता अगाडिसम्म पनि कुन खेलाडीले कुन खेलको कुन इभेन्ट्समा भाग लिँदै छन् भन्ने कुरा अज्ञात रहेको अवस्थामा खेलाडीबाट पदकको अपेक्षा गर्नु मुर्खता बाहेक केही हुँदैन । हतार हतारमा निर्णय गरेर खेलाडीलाई हतारमा नै दौडाउनुपर्ने परिस्थितिको अन्त वास्तवमा यो प्रतियोगिताको परिणामले दिएको ठूलो पाठ हुुनसक्छ । र, आयोजक भियतनामबाट नेपाली खेल पदाधिकारीहरुले सिक्नुपर्ने र लागू गर्नुपर्ने थुप्रै कुराहरु छन् जस्ले आगामी दिनका लागि नेपालको खेलकुदमा ऐतिहासिक छलाङ मार्न सक्छ, जसरी भियतनामले छलाङ मार्यो । पहिलो इण्डोर एसियाली खेल प्रतियोगिताको पदक तालिकामा नाम मात्र लेखाउन सकेको भियतनामले दोस्रो प्रतियोगितामा तेरौँ स्थान ओगटेको थियो र यसपटक उसले ऐतिहासिक सफलता हासिल गरेर खेलकुदमा महाशक्ति राष्ट्रका रुपमा एसिया र विश्वभर आˆनो प्रभुत्व देखायो । भियतनामले पदक तालिकामा चीन पछि आˆनो नाम लेखाएर दुनियालाई महान् छलाङको परिभाषा मात्र दिएन, समर्पण, त्याग, मेहनत र इमान्दारिताको परिभाषा पनि दियो । यो साँच्चै सबैले सिक्नुपर्ने, जान्नुपर्ने र अवलम्वन गर्नुपर्ने विषय हो । भियतनाममा जम्मा भएका खेल पदाधिकारीको जिम्मेवार टोलीले यो कुराबाट पाठ सिक्नैपर्छ । प्रतियोगिताका लागि भियतनामले आफ्नो देशको सबै थोक लगायो । सबै शक्तिलाई उपयोग गरायो र भव्य रुपमा सम्पन्न गर्यो । यो एसियाका अरु देशका लागि पनि एउटा चुनौती थियो । झण्डै तीस वर्ष अघिसम्म पनि युद्धबाट पृथक भइनसकेको भियतनामले गरेको यो प्रगति हेर्न लायक थियो ।
नेपालले भाग लिएको खेलमध्ये बक्सिङमा भाग लिएका दुइ महिला खेलाडीमध्ये सञ्जु लामालाई थप स्टेमिनाको आवश्यकता देखियो । स्टेमिना भएको भए उनले पदक जित्न सक्थिन् । दोस्रो चरणसम्म चार अंकमा बराबरी रहेकी लामाले तेस्रो राउण्डमा पुगेपछि मुक्का हान्नै सकिनन् र विपक्षीको मार खाएर पराजय भोगिन् । त्यस्तै बास्केटबलमा पनि नेपालको सान्त्वना जित भयो । चारवटा खेलमा लगातार हारेको नेपालले पाँचौँ तथा अन्तिम खेलमा कतारलाई कडा प्रतिस्पर्धामा हराएर एसियालीस्तरको प्रतियोगितामा ऐतिहासिक उपलब्धि बाहेक कुनै सनसनी मच्चाउन सकेन । त्यस्तै, स्नुकरमा पनि नेपाली टोलीको उपलब्धि ऐतिहासिक भएन । टिम खेलमा नेपाल क्वाटर फाइनलबाटै बाहिरियो । सरोज मुल्मीले व्यक्तिगत हैसियतमा केही सुधार देखाए पनि अरु खेलाडीको सुधारोन्मुख देखिएन । चेसमा पनि नेपाली टोलीको स्तरमा सुधार आएन । बद्रीलाल नेपाली र विलमलाल श्रेष्ठले केही भिडन्त जिते पनि समष्टिमा उनीहरुको मापन पनि उच्चस्तरको रहेन । महिला खेलाडी अस्मिता र मोनालिसाबाट पनि भविष्यमा चेसबाट कुनै उपलब्धि हुन्छ कि भन्ने संकेत पाउन सकिएन । दुवै खेलाडीले पराजितहरुको लाइनमा आफूलाई उभ्याए । आर्चरीको पुरुष टिम रिकर्भमा पनि नेपालले सुखद नतिजा दिन सकेन । पि्र जजिङबाट फाइनल राउण्डमा उत्रनु मात्र पनि नेपालका लागि कठिन भयो । चारमध्ये दुइ खेलाडी मात्र फाइनल राउण्डमा पाइला हाले पनि प्रेमप्रसाद पुन र जितबहादुर मोक्तानले एसियालीस्तरको वाण हान्न सकेनन् । प्रशिक्षणको अभाव यहाँ पनि महसुुस भयो ।
हार्नु जित्नु एउटा नियमित प्रक्रिया हो । एउटा नराम्रो नतिजाले अर्को राम्रो नजिताका लागि बाटो खुलाउनुपर्छ । नेपाली पदाधिकारीको आँखा यो नतिजाले खुलाउन सक्यो भने वास्तवमा यो पराजय मुलुकका लागि ठूलो उपलब्धि हुनसक्छ । पराजयका कारणहरु खोतल्ने र तिनीहरुलाई सुधार गर्ने हो भने साँच्चै नै आगामी साग र अरु थुप्रै प्रतियोगितामा नेपालले पदक पाउनसक्छ । त्यसतर्फ ध्यान दिन ढिलाइ गर्नुहुन्न ।