गाईवस्तुले चर्ने घाँस र खरबाट पनि कलाकारिता गर्न सकिन्छ भन्ने कुरा सुनेर आश्चर्य लाग्न सक्दछ तर तराईका गाउँहरूमा खर र घाँसबाट मनमुग्धकारी कलाहरूको सिर्जना हुन्छ भन्ने कुरा सत्य हो। भोजपुरी भाषाको राडी, मुज -काँस), तथा सिक नामक खर र घाँसबाट बुनिने ढकी, मौनी, मोना, तथा पउती जस्ता घर धन्दाका लागि बहुउपयोगी रूपमा प्रयुक्त हुने चलन तराईमा व्यापक रहनुको साथै चेलीबेटीहरूलाई उपहार दिनका लागि पनि उपयुक्त हुन्छ। यहाँ प्रस्तुत छन् यस्ता केही ढकीका वानगीहरू ः
ढकी, मोना बुन्नका लागि कच्चा पदार्थका रूपमा प्रयोग गरिने खर -काँस) र घाँसमध्ये खरलाई आधार बनाई त्यस माथि -चित्रमा देखाइए जस्तै) मुज अथवा सिक खरको प्रयोग गरिन्छ। यस प्रकारले प्रयोग भएका मुज अथवा सिकलाई फलामको सुइरोले खरको आधारमा -आलनमा) प्वाल पारी हातले छिराई तानेर कलात्मक बुट्टा अथवा बान्ह -बान) को निर्माण हुन्छ। पिँधबाट ढकी बुन्ने सुरुवात हुन्छ। पिँधमा पनि विभिन्न किसिमका बुट्टाहरू बनाइन्छ जसमध्ये केही बुट्टाहरूको नाम बघनिछोरवा, पुरइनिया, डेडियावा आदि प्रसिद्ध छन्। यस प्रकारले बुनिन ढकी दुई किसिमले बुनिन्छ। बुट्टा र बडी एकै साथ बुनिने ढकीलाई बन्हउ तथा पहिले प|mेम बनाएर पछि बुट्टा बुनिदा त्यस प्रकारको ढकीलाई फुलउ ढकी भन्दछन्। बन्हउ ढकी फुलउ ढकीभन्दा अपेक्षाकृत बढी मजबुत हुन्छ। तस्बिर द्रष्टव्य छ ः
यस प्रकारले निर्मित ढकीहरू घरधन्दाका विभिन्न काममा प्रयोग हुने गर्दछ। खर र घाँसबाट बनेका यस्ता ढकीहरू प्राकृतिक पदार्थहरूबाट बनेको हुँदा शुद्ध तथा पवित्र मानिने भएको हुनाले पूजाआजा तथा अन्य धार्मिक अवसरहरूमा पनि व्यापक प्रयोग हुने गर्दछ। चेलीबेटीहरूलाई उपहारमा दिँदा घरमा उनीहरूको सम्मान बढ्दछ। ढकी कसैलाई उपहारम दिँदा खाली ढकी दिनु हुँदैन। खाली ढकी दिँदा अपशकुन सूचक हुन्छ भन्ने लोक विश्वास रहेको छ। ढकीमा मिठाइ अथवा ऋतु अनुसारको फल भरेर दिँदा सौभाग्य वृद्धि हुन्छ भन्ने लोकविश्वास रहेको पाइन्छ। दही बेच्ने आइमाईहरूले विशेष आकृतिको ढकीमा दहीको भाँडो राखेर टाउकोमा बोकी गाउँ गाउँमा चहार्दै दही बेच्न जान्छन्। गरिब महिलाहरूले ढकी बिक्री पनि गर्दछन्। ढकीको मोल पनि विचित्र हुन्छ। ढकीमा अट्न सक्ने जति अन्न नै ढकीको वास्तविक मूल्य हुन्छ। मोना भनिने ढकी त सौभाग्यवती महिलाहरूको सौभाग्यको प्रतीक नै मानिन्छ। मोनाभित्र महिलाहरूले सौभाग्यचिन्हको रूपमा प्रयोग हुने सिन्दूर राख्ने सिन्होरा राख्ने भएको हुनाले यसलाई महिलाहरूको जीवनको सबै भन्दा मूल्यवान वस्तुका रूपमा विवाहित जीवनभरि संहालेर राख्न अनिवार्य हुन्छ। पतिको मृत्युपछि यसलाई श्मसान छेउको नदीमा विशर्जन गरेर विवाहिता महिलाको सधवा हुने अधिकार खोसिन्छ। मोना र सिन्होराका दृश्यहरू-
आजभन्दा तीन पिँढी पहिलेका महिलाहरूको यस प्रकारका कलाकारिताले परिपूर्ण ढकीहरू वास्तवमा अद्वितीय हुन्थे भने दोस्रो पिँढीसम्म साधारण खालका ढकीहरू निर्मित हुन्थ्ये। पोठियावा, परोरवा, लहेरुवा, पुरइनिया जस्ता नाम भएका विभिन्न किसिमका मनमोहक बुट्टाहरू बुनिन्थ्ये तर आजको पिँढीका महिलाहरूमा यसलाई बुन्ने कामको ज्ञान र सीप विस्तारै लोपोन्मुख अवस्थामा आई सकेको छ। यस सीपको जगेर्ना, प्रोत्सान तथा संरक्षण प्रयास कही कतैबाट न हुने देखिएकाले आउँदा केही दशकभित्रैमा यो कलाको अन्त्य हुन अवश्यम्भावी देखिन्छ।á