२०६८ सालको बिदाइसँगै नयाँ वर्ष २०६९ लागेको पनि नौ दिन भइसकेको छ। यस सन्र्दभमा २०६८ सालमा भएका साहित्यिक क्षेत्रको उपलब्धिको चर्चा गर्दा खासै उत्साह हुनुपर्ने अवस्था देखिँदैन। सधैँ आसामा बस्ने अनि निराशा हात पार्नुपर्ने नियति भोग्दै आएका हामीले यो वर्ष पनि त्यस्तै भोग्यौँ, जस्तो विगतमा भोग्दैआएका थियौँ।
३६५ दिन बित्नुमै नयाँ वर्ष आउनु र जानु सीमित भएपछि नयाँ वर्षले उत्साह कसरी ल्याउन सक्ला ? औपचारिकरूपमा शुभकामना दिएर सुख समृद्धिको कामना त गर्छौं हामी तर सुख समृद्धि हुने काम चाहिँ हुने काम चाहिँ हुनसकेको छैन चित्तबुझ्दो पाराले। जेहोस् २०६८ बिदाभएर गइसक्यो, बितेका दिनका त मूल्याङ्कन गर्ने हो, सम्झना गर्ने हो। यसरी मूल्याङ्कन गर्नुपर्दा साहित्यिक दृष्टिले २०६८ मध्यम रहृयो मात्र भनिदिँदापुग्छ।
२०६८ सालमा कृति प्रकाशनको ओइरो लाग्यो, साहित्यिक क्षेत्रमा उमेरले पाका तर लेखनले नयाँ केही लेखकहरूले राम्रै चर्चा बटुले, नयाँ नयाँ प्रकाशकहरू सजधजका साथ यो वर्ष पनि देखापरे। केही साहित्यिक कृति र स्रष्टाले यो वर्ष पनि चर्चा बटुले, चर्चामा आए, ल्याइए। पुरस्कार, सम्मान, अभिनन्दनको क्रम यथावत रहृयो, विमोचन अन्तक्रिर्या चर्चा, परिचर्चामा कमी आएन। साहित्य सिर्जनालाई व्यापक प्रचार गर्ने गराउने, चर्चामा ल्याउने आउने काम यो वर्ष पनि भयो। सञ्चार माध्यममा निरन्तर छाइरहने नाम र साहित्यिक अनुहार दोहोरिने क्रम रोकिएन यस वर्ष पनि। पुरानाहरूलाई चटक्कै बिर्सने प्रवृत्ति यो वर्ष पनि देखियो। स्रष्टा बितेको पत्तोपाउन हम्मे पर्ने सञ्चार जगत्ले कसले कुन कृति कहाँ र कहिले ल्याउँदै छ भन्ने कुरा राम्ररी नै प्रकाशमा ल्याए। साहित्य लेख्ने थपिए तर चर्चामा आउने/ल्याउने अनुहारमा खासै परिवर्तन आएन। जीवनभर कविता साधनामा बिताउने कवि मोहन कोइरालाको सम्झनासम्म गरिएन, विजय मल्ल, पोषण पाण्डे, दौलतविक्रम विष्ट, भूपि शेरचन आदि जस्ता स्रष्टाको नामसमेत लिइएन। पुरस्कार प्रतिष्ठान, गुठीसँग जोडिएका स्रष्टाहरूको सम्झना गरियो औपचारिकताकै लागि भए पनि।
भानुभक्तको रामायण, देवकोटाको 'मुनामदन', माधव घिमिरेको 'गौरी', 'भूपिको घुम्ने मेचमाथि अन्धो मान्छे' आदिजस्ता कृतिको लोकपि्रयता सञ्चार माध्यमले गर्दा भएको होइन, पाठकको मन छुन सक्ने लेखक भएकाले नै यी कृति लोकपि्रय भए र अझै पनि 'वेस्ट सेलर'को सूचीमै पर्दैछन्। अचेल पाठकको मनभन्दा विज्ञापन बढी भरपर्दा भएको छ। हप्ता दिन महिनामै यतिऔँ संस्करण त भनिन्छ तर ती कृति सही पाठक कहाँ पुग्छन् पुग्दैनन् वा भनौँ पुगे पुगेनन् यो उनीहरू नै जानुन। २०६८ सालमा पनि यस्तै देखियो। यता केही वर्षदेखि साहित्यको पाठक हृवात्त बढ्नु, लेखनमा नयाँ नयाँ तर पाका अनुहार आउनु चाहिँ उपलब्धि नै मान्नुपर्छ। साहित्य साहियकारले मात्र पढ्छन् भन्ने सोचाइलाई यता केही वर्षदेखि आम मानिसले यसप्रति देखाएको रुचिले गलत सावित गरिदिएको छ।
२०६८ सालको साहित्यिक उपलब्धिको रूपमा स्रष्टा साधकहरूको भ्रमण आदन प्रदानलाई लिनुपर्ने हुन्छ। भारत, बङ्गलादेश, बेलायत, जापान, बर्मा, कुवेत, अमेरिका आदि देशका स्रष्टा साहित्यिक भ्रमण गर्न नेपाल आए। नेपाली साहित्य डट कमप्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन, नेपाल च्याप्टर स्रष्टा समाज आदिको निमन्त्रणमा चीन, भारत, बङ्गलादेशबाट आएका स्रष्टाहरूको सम्मानले दुई देशबीचको साहित्यिक सम्पर्कलाई पक्कै पनि सघाउ पुर्याएकै हुनुपर्छ।
वर्षको अन्त्यतिर नेपाली भाषाबारे व्यापक रुपमा बहस थालिए। नेपाली भाषाको स्वरूप, शुद्धाशुद्धि र एकरूपताकाबारेमा चलेको बहस र थालिएको कदमले पनि साहित्य जगत्मा हलचल ल्यायो। कसको व्याकरण मान्ने र कुन अनुसार अघि बढ्ने भन्ने बारेमा बहस थालिएको छ। साहित्यको मेरुदण्ड मानिएको भाषामा थालिएको यो बहसले छिटै एउटा बाटो समाएपछि स्रष्टाहरूलाई त्यसले राम्रै बल प्रदान गर्छ। लेखनको नाममा भाषा बिगार्ने र जथाभावी लेख्ने प्रवृत्ति पक्कै पनि राम्रो होइन।
प्राप्ति उपलब्धि मात्र होइन पीडा र दुःख पनि व्यहोर्नु पर्यो २०६८ सालले। साहित्यकार केवलपुरे किसान, गोविन्द भट्ट, मुकुन्द ढुङ्गेल, घनश्याम ढकाल, दैवज्ञराज न्यौपाने, भीम विराग, जस्ता स्रष्टाहरूलाई गुमाउनुपर्यो यस वर्ष।
बितेको वर्षकै कुरो गर्दा दाङ, बन्दीपुर, इलाम, विराटनगरमा भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन उल्लेख्य रहे। त्यसो त साहित्यिक यात्रा र गोष्ठी सम्मेलन गर्न पनि धेरै उत्साहित भए।
साहित्यिक पत्रकारिताका लागि २०६८ साल खासै उत्साहजनक भएन। रचना, अभिव्यक्ति, जनमत, बनिता, उन्नयन, नारीस्वर, गरिमा, मधुपर्क, मिर्मिरेजस्ता पत्रिका नियमित रूपमा देखापरे पनि कतिपय साहित्यिक पत्रिका बन्द जस्तै बन्न पुगे। सधैँ विज्ञापनको खोजी र स्रष्टाहरूसँग रचना माग्नुपर्ने समस्याबाट यो वर्ष पनि मुक्त हुन सकेन साहित्यिक पत्रकारिता।
समग्रमा भन्नुपर्दा २०६८ साल साहित्यिक दृष्टिले मध्यम रहृयो, वि.सं. २०६९ साल उपलब्धिमूलक बन्न सकोस्। á