सगरमाथा चढ्दा पैसा खर्च हुन्छ। परिवार बिग्रन्छ। र्फकने नर्फकने निश्चित हँुदैन। तर पनि म एभरेष्ट चढ्छु किनकि म चढ्न मन पराउँछु' विड्रो विल्सन सायेरले भनेजस्तै सगरमाथा चढ्न त्यति सहज छैन जति हामीले कल्पना गरेका छौँ। यसका लागि करोडौँ रुपियाँ खर्च हुन्छ। अभ्यास र आरोहणका लागि आफ्नो परिवारबाट निकै समय टाढा बस्नुपर्ने हुन्छ। एकपटक सगरमाथा आरोहण गर्न यति कठिन छ भने नेपालका कीर्तिमानी आरोही आप्पा शेर्पाले २१ प्ाटक सर्वोच्च शिखर आरोहण कसरी गरे होलान् ? पहिलोपटक सगरमाथा चढ्ने जोकोहीले यस्तै सोच्न सक्छन्। संसारमा सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने आप्पा धेरै पर्वतारोहीको आदर्श पात्र हुन्। तिनै आप्पा अहिले पुनः चर्चामा छन्। कारण सगरमाथा होइन। संसारको सर्वाधिक उचाइबाट हुने लामो पदयात्रा ग्रेट हिमालयन टे्रल हो।
गत वर्ष सगरमाथा आरोहण नगर्ने घोषणा गर्दा आप्पाका आँखा टलपलाएका थिए। बढ्दो उमेरसँगै आप्पाले सगरमाथा नचढ्ने बताएपछि धेरैको मन खिन्न पनि भएको थियो। सपरिवार अमेरिकामा बस्दै आएका आप्पा पछिल्लो समय जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा पारेको प्रभावको जानकारी विश्वलाई दिने उद्देश्यसहित सगरमाथा चढ्दै आएका थिए। सगरमाथा आरोहण गर्नै भनेर आप्पा अमेरिकाबाट नेपाल आउँथे। सर्वोच्च शिखर नपुग्ने घोषणा गरेका आप्पालाई -तपाईंको भावी योजना के छ भनेर प्रश्न गर्दा उनले यतिमात्र भने, ''लेट्स सी।'' यस्तो प्रतिक्रिया दिएका आप्पाले यस वर्ष भने नवीन तवरबाट पदयात्रामा निक्ले। यो त्यस्तो पदयात्रा थियो जुन सगरमाथा चढ्नभन्दा कठिन थियो। सगरमाथा आरोहण गर्नभन्दा पनि धेरै खर्च लाग्ने यो यात्रा थियो- ग्रेट हिमालयन ट्रेलको। सगरमाथा, कञ्चनजङ्घा, मकालु, मनास्लु, अन्नपूर्ण, धौलागिरिलगायत आठ हजार मिटरभन्दा उचाइका आठ हिमालको फेद हँुदै गरिने ग्रेट हिमालयन टे्रलको दूरी एक हजार सात सय किलोमिटरको तय गरिएको थियो। रारा, डोल्पा, हेलम्बु, जुम्ला, मुगु, मुस्ताङ, हुम्लाजस्ता सम्भावित पर्यटकीय स्थललगायत ताप्लेजुड, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, लम्जुड, कास्की, म्याग्दी, बाग्लुङ, बाजुरा, दार्चुलालगायत अन्य ग्रामीण भेगका सम्भावित पर्यटकीयस्थललाई पनि ग्रेट हिमालयन टे्रलले छोएको छ। यसको मुख्य उद्देश्य नयाँ सम्भावित पर्यटकीयस्थल पहिचान र पदयात्राको माध्यमबाट ग्रामीण पर्यटन प्रवर्द्धन गर्नु हो।
सन् २०१२ जनवरी २४ मा ताप्लेजुङको घुन्साबाट सुरु भएको उक्त यात्रा सन् २०१२ अपि्रल २० तारिखमा सम्पन्न भयो। त्यो पनि तोकिएको समयभन्दा छिटो। करिब १२० दिनको अनुमानित यात्रा आप्पालगायत टोलीले ९९ दिनमा पूरा गरे। ग्रेट हिमालयन ट्रेलको यात्राक्रममा केही अनौठा खोज पनि भएका छन्। जसलाई आयोजकले अहिले नै सार्वजनिक गर्न चाहेका छैनन्। 'हिमालयन क्लाइमेट इनिसियटिभ'बाट प्राप्त जानकारीअनुसार कोही नपुग्ने ठम्याइमा रहेका स्थानमा पनि परापूर्वकालमा बस्ती रहेको र मान्छे हिँड्ने गरेको तथ्य फेलापरेको छ।
राष्ट्रपति डा. रामवरण यादवले झन्डा दिएपछि प्रारम्भ यो यात्राको बीचको अवधिमा सिन्धुपाल्चोकको बोडरल्यान्डमा आप्पालगायतको टोलीसँग पर्यटन पत्रकारको भेट भएको थियो। चिल्लो अनुहार लिएर राष्ट्रपति भवनबाट निस्केका दावास्टेभन शेर्पा, पत्रकार सौरभ ढकाल, समीरजङ्ग थापालाई ६६ दिनपछि भेट्दा ठम्याउन निकै कठिन भएको थियो पत्रकारहरूलाई। दाह्रीले पूरै अनुहार ढाकिएको उनीहरू जोगीजस्तै देखिन्थे। लाग्थ्यो कि- कुनै कठिन तपस्यामा छन्। यात्रा सहज नभएकाले काठमाडौँबाट नजिक रहेको स्थान सिन्धुपाल्चोकलाई पारिवारिक भेटघाटका रूपमा पदयात्री टोलीले उक्त ठाउँ रोजेका थिए। सर्वोच्च शिखर चढेका आप्पाले नेपाल गहिराइबाट बुझ्न सकेका रैनछन्। अहिलेसम्म तातोपानी नपुगेका आप्पाले सिन्धुपाल्चोकको तातोपानीमा नुहाए। तातोपानीमा आप्पाले भनेका थिए, ''बल्ल पो म नेपाल चिन्दै छु।''
यसरी ग्रेट हिमालयन ट्रेलको यात्रामा आप्पालगायतको टोलीले हिमाल, पहाड, खोलासँग खेल्दै र भलाकुसारी गर्दै यात्रा तय गरे। आप्पाका लागि भने यात्रासँग एउटा संयोग पनि जोडियो। २१ प्ाटक सगरमाथा आरोहण गरेका आप्पाले यात्राक्रममा गिनिज बुक अफ द वल्र्ड रेकर्डको प्रमाणपत्र पाए। गिनिजबुकका प्रधानसम्पादक क्रेग क्लाडे आफँै सिन्धुपाल्चोकको हेलम्बु पुगेर आप्पालाई प्रमाणपत्र दिएर उनीप्रति सम्मान जनाए।
नेपाल आउने कुल पर्यटक सङ्ख्याको करिब ४५ प्रतिशत पदयात्राका लागि नै आउने गर्छन्। ग्रेट हिमालयन ट्रेल नेपालको साहसिक पदयात्रा पर्यटनका लागि विश्वमै एउटा आकर्षण केन्द्र बन्ने देखिएको छ। ग्रेट हिमालयन ट्रेलको प्रवर्द्धन गर्न सके नेपाल आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढाउन सकिन्छ अर्थात् सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने योजना सफल पार्न ग्रेट हिमालयन टे्रल कोसेढुङ्गा बन्न सक्छ। आप्पालगायतको टोलीले पहिलोपटक औपचारिक रूपमा ग्रेट हिमालयन ट्रेलको यात्रा सम्पन्न गरेकाले पनि यसको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा सरकारलाई सजिलो हुनेछ। ओझेलमा परेका स्थानको पहिचान, प्रवर्द्धन र स्थानीय जीवनस्तर सुधार गरी आम्दानी वृद्धि गराएर गरिबी निवारण गर्न सकिने सम्भावना यो पदमार्गले बोकेको छ।
आन्तरिक पर्यटनभन्दा बाह्य पर्यटकलाई लक्षित गरेर ट्रेल तयार गरेको देखिएको छ। चार नेपालीले यात्रा गर्दा त एक करोड २५ लाख रुपियाँभन्दा बढी खर्च लागेको जनाइएको उक्त पदयात्रा विदेशी पर्यटकलाई भने कति लाग्छ अनुमान गर्न कठिन छ। यसको यकिन विवरण अझ पनि सम्बन्धित निकायसँग छैन। नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, टे्रकिङ एजेन्सी, एसोसिएसन अफ नेपाल कुन निकायले यसको प्रवर्द्धन गर्न कस्तो भूमिका निर्वाह गर्ने भन्ने निश्चित नगरिएकाले यसको प्रवर्द्धनमा कसरी र कसले गर्ने भन्ने चुनौती छ। यतिमात्र होइन, ग्रेट हिमालयन ट्रेललाई टुक्रयाएर विभिन्न भागमा बाँडेर प्रवर्द्धन गर्ने योजना पनि अगाडि सारिएको छ। धेरै खर्च लाग्ने भएकाले औँलामा गन्न सकिने विदेशीले मात्र ग्रेट हिमालयन ट्रेलको पदयात्रा गर्ने भएकाले यसलाई बाँडफाँड गर्दा कुन स्थानलाई कति दिनको प्याकेज बनाउने भन्ने पनि एउटा कठिन चुनौती हो।
खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तो गत वर्ष सगरमाथा आरोहण नगर्ने घोषणा गरेका आप्पाले ग्रेट हिमालयन ट्रेलको यात्रा सम्पन्न गरेर फेरि अर्को चर्चा कमाए। यो सफलता आप्पाका लागि मात्र नभएर समग्र राष्ट्रका लागि नै गर्वको विषय बनेको छ। यतिमात्र होइन, नेपालको पर्यटन क्षेत्रमा एउटा नयाँ सम्भावना सूर्योदय भएको छ। १२ वर्षको उमेरदेखि पदयात्रीका सहयोगी र भान्सेका रूपमा पर्वतारोहण क्षेत्रमा होमिएका आप्पा नेपालको अनमोल रत्न हुन्। पहिलोपटक सन् १९९० मे १० मा सर्वोच्च शिखरमा पाइला टेेकेका आप्पाको नामबाट अहिले कतिपय प्रख्यात आरोहीले नेपाललाई चिन्छन्। उनै आप्पाले ५४ वर्षको उमेरमा अर्थात् सन् २०१२ अपि्रल २० मा ग्रेट हिमालयन ट्रेलको पदयात्रा सम्पन्न गरेर अर्काे चमत्कार गरेका छन्। पदयात्रा सम्पन्न गरेपछि आप्पा अमेरिका फर्के पनि आप्पासँग सगरमाथा र ग्रेट हिमालयन ट्रेलको नाम सधैँ जोडिनेछ। अब यसैको माध्यमबाट सन् २०२० मा २० लाख पर्यटक भित्र्याएर रोजगार बढाउँदै गरिबी निवारण गर्न ९९ दिनको एक हजार पाँच सय ५५ किलोमिटरको ग्रेट हिमालयन पदयात्राको प्याकेज प्रवर्द्धन गर्न सम्बन्धित निकाय तदरुकतासाथ लाग्न जरुरी छ। á