विद्या आर्जन गर्ने थलो हो विद्यालय। यस थलोमा शिक्षक र शिक्षिकाले विद्यार्थीलाई महत्त्वपूर्ण शिक्षा प्रदान गर्छन्। त्यसैले विद्यार्थीका लागि विद्यालय नभइनहुने घर नै हो। यस्तो महत्त्वपूर्ण क्षेत्र आजभोलि बन्द र हडतालले जहिले पनि बन्द भइरहेको हामी पाउँछौँ। हामीजस्ता सानासाना विद्यार्थीको जीवनमाथि धेरै खेलवाड भइरहेको छ। एक दिनको पढाइले हामीलाई कति घाटा हुन्छ भन्ने कुरा बन्दकर्तालाई के थाहा ? एक दिनको बन्द र हडतालले त कति घाटा हुन्छ भने यो सधैँको बन्दले झन् हाम्रो जीवनमा कति क्षति भइरहेको होला त ?
विद्यार्थी भनेको काँचो माटोजस्तै हो, जसलाई जस्तो वातावरण मिल्यो ऊ
उस्तै हुन्छ। सच्चरित्रतताको पाठ सिके सच्चरित्र र खराब आचरण र
बानीव्यहोराको विकास भए त्यस्तै खराब भएर निस्कने हुन्छ। त्यसैले कलिला बालबालिकाको मस्तिष्कमा नैतिक आचरण, व्यवहार र सच्चरित्रताभन्दा विध्वंस, अराजकता एवम् असभ्यता आदि कुराले घर जमाउन लामो समय चाहिँदैन। त्यसैले यस्तो महत्त्वपूर्ण क्षेत्रलाई राजनीतिक क्षेत्रबाट टाढा राख्नुपर्छ र शान्तिक्षेत्र बनाउनुपर्छ। त्यसो त विद्यालयलाई शान्तिक्षेत्र घोषणा नगरिएको होइन तर खै त कार्यान्वयन भएको ?
कुनै पनि अभिभावकले आˆना बालबालिकालाई अराजक, गैरजिम्मेवार र उच्छृङ्खल वा अनुशासनहीन भएको देख्न चाहन्न। राष्ट्रले पनि यस किसिमका नागरिक उत्पादन गर्ने उद्देश्य राखेको हुँदैन। विद्यार्थीको भविष्य सुन्दर एवम् समुन्नत बनाउने र उनीहरूलाई परिवार, समाज र देशकै जिम्मेवार व्यक्ति बनाउन सबै पक्ष सचेत र संवेदनशील हुनुपर्छ। यसका लागि सबैले सही रूपमा विद्यालयलाई शान्तिक्षेत्र घोषित गर्नुपर्छ र विद्यालयलाई विद्याआर्जन गर्ने मात्र थलोका रूपमा विकास गर्नुपर्छ। अन्यथा भविष्यमा मुलुकले ठूलो दुर्गति खप्नुपर्ने हुन्छ।