जान्नेले खोजी लगे कसलाई पो थाहा छ र
ज्ञानी, ध्यानी, विवेकी विदेशतिरै लागे
अशिक्षित अज्ञानीलाई गरिबीले दागे
यसो गर्न दिनुहुन्न स्वदेश होसियार
प्रतिबन्ध लगाउनुपर्छ नेपाल होसियार
अमूल्य त्यो हाम्रो जडीबुटीको खानी
सजाएर राखौँ सबैले स्वविवेकले जानी
जडीबुटी र यसको महत्त्व दर्शाउने माथिका पङ्क्ति लेख्ने तेजनारायण शेर्पा कविमात्र होइनन्। अनुभवी कविराज पनि हुन्, जसले करिब ८० प्रकारका रोग उपचारका लागि जडीबुटी/औषधिमुलो उत्पादन गरिसकेका छन्। उनका उत्पादन स्वदेशी बजारमात्र होइन अमेरिका,
स्विट्जरल्यान्ड, अस्ट्रेलियालगायत विभिन्न खाडी मुलुक र भारतसम्म पुगेको उनको दाबी छ। शेर्पाले लेखेको जडीबुटीसम्बन्धी लामो कविताबाट झिकिएका माथिका यी अनुच्छेदले साँच्चिकै नेपालको जडीबुटी र यसको महत्त्वलाई दर्शाउँछ। 'शेर्पा आयुर्वेद औषधि उद्योग'का सञ्चालकसमेत रहेका उनको परिचय यत्तिमै पूरा हुँदैन। उदयपुर रौता मुर्कुचीका बासिन्दा शेर्पा कुनै बेलाका सफल संस्कृत शिक्षक पनि हुन्। शेर्पा समुदायबाट संस्कृत विषयमा शास्त्री गर्ने उनी पहिलो हुन्।
शेर्पाको अनुसन्धानबाट तयार पारिएका औषधिले रक्त क्यान्सर, स्तन क्यान्सर, पुरानो ग्यास्टि्रकदेखि अल्सरसम्मका रोगीलाई निको बनाएको उदाहरण छ। रोगले गाँजेर अत्यन्तै दयनीय अवस्थामा पुगेका बिरामीलाई ठीक पारेर फुर्तीसाथ हिँडेको देख्दा आफूले अँगालेको पेसाबाट गर्व लाग्ने गरेको उनी बताउँछन्। एलोपेथिक औषधिले ठीक पार्न नसकेका बिरामीमात्रै होइन चिकित्सकले बिदा गरेका बिरामीलाई पनि ठीक गराएका शेर्पाको वाहवाही गाउँघरमा मात्र सीमित छैन, राजधानीसम्म नै फैलिएको छ।
सानैदेखि झारफुक र औषधिमुलोमा विशेष रुचि राख्ने उनले वर्षौंदेखि मनमा गुम्सिएर रहेको आयुर्वेदप्रतिको रुचि, जिज्ञासा र उत्सुकतालाई मूर्त रूप दिएका छन् अहिले। जीवनका उतारचढावक्रममा अनेकन हन्डर खाएर अगाडि बढेका शेर्पाका अगाडि असम्भव र गर्न नसकिने कुरा केही पनि रहेन।
आयुर्वेदतर्फ मात्र होइन, उनको रुचि साहित्य लेखनमा पनि उत्तिकै छ। टुहुरो हुनु नै आˆनो साहित्य यात्राको शुभारम्भ मान्ने उनका नेपाली, हिन्दी र मैथिली भाषामा दुई दर्जनभन्दा बढी प्रकाशित तथा अप्रकाशित कृति छन्। धार्मिक कुरादेखि जडीबुटीसम्बन्धी विषयमा कलम चलाउने शेर्पाको क्षमता हेर्दा लाग्छ- उनको प्रखरता कुनै एउटा कुरामा सीमित छैन।
देशमा केही अवसर छैन भन्दै बिदेसिने युवाका लागि शेर्पा प्रेरणा पनि हुन्। विदेशमा दुःख गरी कमाएर पठाएको रेमिट्यान्सको भरमा अर्थतन्त्र चलाइरहेको यो देशमा शेर्पा फरक पङ्क्तिमा उभिएका छन्, जसले नेपालकै प्राकृतिक रूपमा प्राप्त नेपाली जडीबुटीलाई नगदमा परिवर्तन गरेका छन्। देशभित्र पनि केही गर्न सकिन्छ भनेर देखाउने गतिलो उदाहरण हुन् उनी। हरियो वन नेपालको धन भनिन्छ तर वनमा रहेको धनलाई हामीले चिन्नै सकेका रहेनछौँ, शेर्पा भन्छन्, ''नेपालीलाई यहाँ रहेका जडीबुटी संकलन/प्रशोधन गर्ने सीप सिकाए आत्मसम्मानसाथ बाँच्न सक्छन्।'
यहाँ भएका अथाह जडीबुटीलाई प्रयोग गर्न सके देशमै सुन फलाउने विश्वाससाथ १५ वर्षे भारत बसाइपछि पुनः नेपाल फर्केका उनको परिवार नै स्वास्थ्य त्यसमा पनि आयुर्वेद सेवामा समर्पित रहेको छ। छोराछोरी यही आयुर्वेद, अनमी, नर्सिङलगायत स्वास्थ्य क्षेत्रकै विभिन्न विधामा लागेका छन् भने बाँकी परिवारका सदस्यले पनि सघाएको उनी बताउँछन्।
उनले अहिलेसम्म ८० प्रकारका विभिन्न रोगका लागि औषधि तयार पारिसकेका छन्। जडीबुटी टिप्ने, प्रशोधन गर्ने, भण्डारण गर्नेलगायतका कुरा ठ्याक्कै समयमै गर्नुपर्ने भन्दै उनले औषधि तयार पार्दासम्म निकै सास्ती हुने उनी बताउँछन्।
ऋषिमुनीहरूको अथक खोज प्रयास र अनुसन्धान अनि प्रयोगको निचोड नै जडीबुटी औषधि भएको उनी बताउँछन्। यस विषयको किताब सङ्कलन, अध्ययन र धामीझाँक्री, वैद्य, औतारी, लामासँगको विषयगत सत्सङ्गको निचोडस्वरूप नै शेर्पा आयुर्वेद औषधि उद्योग आएको उनी बताउँछन्। यो अवधिमा उनले विभिन्न प्रकारका रोग जस्तै छारेरोग, हिस्टेरिया, ग्यास्टि्रक, बाथ, मासिक धर्मको खराबी, श्वेतप्रदर, रक्तप्रदर, धातु, टन्सिल, जुका, चुर्ना, दाँतेकीरा, दन्तेहर्ष, जन्डिस, हातखुट्टाको मुसा, पिनास, चिनीरोगलगायत रोग अन्वेषण नै गरेका छन्।
झन्डै लोप हुन लागेका नेपाली जडीबुटीको पहिचान र उपयोगका लागि सरकारेलेे मात्र होइन दातृनिकायले समेत पैसा खन्याउन थालेका छन् अहिले। तर, शेर्पा वनजङ्गलमा डुल्दा भने यस्तो अवस्था थिएन। त्यतिबेला पहुँच हुनेले विदेशी औषधि प्रयोग गर्थे भने पहुँच नहुनेले यत्तिकै अकालमा ज्यान गुमाउँथे।
जडीबुटी संरक्षण र उत्खननमा पाएको सफलतासँगै त्यसपछाडिका अँध्यारो क्षणहरू पनि पटकपटक सम्झन्छन् उनी। अहिले पाउँदै गएको सफलताले जति गर्व लाग्छ, ती दिनहरू सम्झँदा त्यत्तिकै वेदना हुन्छ, जतिबेला उनी दुई घन्टा मात्रै सुतेर रात दिन नभनी अनेक सपना बुनेर अहोरात्र खटिरहन्थे। उनको त पूरै जीवन नै सङ्घर्षले भरिएको छ। ठूलै मिहिनेत र सङ्घर्षबाट यहाँसम्म पुगेका हुन् उनी। कहिलेकाहीँ त आफैँले आफँैलाई स्याबासी दिन पो मन लाग्छ। किनकि आफूले भोगेको त्यो यथार्थता आफूबाहेक कसले महसुस गर्न सक्छ र ? नौजनाको कार्यसमिति बनाएर जडीबुटी सङ्कलन र प्रशोधन केन्द्र खोलेका उनलाई कसैले पनि साथ दिएनन्। बरु दुई/तीन महिनामै निष्त्रिmय बने। एकल प्रयासबाट सुरु गरेको उनको अन्वेषण यात्रा यहाँसम्म आइपुगेको हो।
सरसर्ती पल्टाउँदा उनको जीवन कुनै चलचित्रको कथाभन्दा कम छैन। आठ/नौ वर्षको उमेरमा भारतको विहारस्थित दर्भङ्गामा शेरबहादुर भुजेलको होटलमा भाँडा माझ्ने कामसँगै पढाइ थालेका उनलाई होटलकै काम गर्न भ्याइनभ्याई हुन्थ्यो। अरू सुत्ने बेला पढाइको पारो बढ्दै जान्थ्यो उनको। अरूले ६ देखि आठ घन्टामा पुर्याउने निद्रा उनले दुई/तीन घन्टामै पुर्याउँथे। उनको दुःख देखेर विहारका पूर्वशिक्षामन्त्री तथा रामेश्वर संस्कृत विश्वविद्यालयका उपकुलपति कुमार गङ्गानन्द सिंहले खर्च दिन थाले।
शेर्पालाई भेटेपछि नै सिंहले यो होनाहार विद्यार्थी है 'इसको पढाना चाहिए' भन्दै त्यो बेलासम्म आङछेटु मोपर्मा शेर्पा नामले चिनिने शेर्पालाई एकाएक तेजनारायण शेर्पामा परिणत गरिदिए। तुम तेज हो तुम्हारा नाम आङछेटु नहीँ तेज होना चाहिए। त्यसपछि तेजनारायण शेर्पा बनेका उनलाई त्यहाँ सबैले यही नामले चिन्न थाले। तेजनारायणकै नामबाट शास्त्रीसम्मको अध्ययन साथै थुप्रै किताब लेखेका उनलाई नागरिकता दिने उदयपुर जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रघुवरमान श्रेष्ठ नै कुन नामबाट नागरिकता दिने भनेर अलमलमा परे। तेजनारायणको नामबाट दियो भने उनका लालपुर्जालगायत घरायसी कुरामा आङछेटु मोपर्माको नाम थियो भने तेजनारायण उनले बनाएको नाम। प्रजिअ श्रेष्ठले कठोरतासाथ निर्णय गरे अनि तेजनारायण शेर्पा भनेकै आङछेटु मोपर्मा शेर्पा हो भनेर दुवै नामबाट नागरिकता प्रदान गरे। ''बाल्यकालमा आमाबुबाको माया नपाउँदा आत्मबल गुम्ने, साहस नहुने र अपहेलितझैँ लाग्दोरहेछ,'' उनी भन्छन्, ''चरम आर्थिक अभाव, चिन्ता, पढ्न र किताब किन्न नसक्दाको पीडा मसँग जति छन् अरूसँग सायदै होलान्। शास्त्रीसम्म अरूकै किताब पढेर पार भएँ। अङ्ग्रेजी किताब पढ्न मन लाग्दा पुस्तकालय चहार्थें।'' सानैदेखि नयाँ कुरा सिक्न र पढ्न भनेपछि हुरुक्कै हुने उनैले पढ्नका लागि उपयुक्त अवसर पाउन सकेनन्।
पढ्नेदेखि कुनै पनि कुरा सिक्ने सवालमा शेर्पा यति धेरै संवेदनशील थिए कि स्वयम् उनकै गुरुले नै उनलाई पागल भन्न पछि परेनन्। कसैले आˆनो चित्त दुखायो वा रिस उठ्ने व्यवहार देखायो भने उनी गालीगलौजतिर लाग्दैनथे। बरु त्यसको जवाफ कविताका हरफमार्फत फर्काउँथे।
डेढ दशक विहार बसाइक्रममा सिकेको जडीबुटी कलालाई उनले घर फर्केपछि भरपुर उपयोग गरे। विहारमा उनले काम गर्ने होटलमा खाना खान आउने वैद्य र कविराजको कुरा सुनेकै भरमा शेर्पाले आयुर्वेदमा धेरै सिके। ध्यानपूर्वक उनीहरूका कुरा सुनेको देखेर कविराजहरू भन्ने गर्थे, ''तिम्रो नेपालमा त जडीबुटी कत्ति छ कत्ति। त्यहीँ गएर तिमीले धेरै गर्न सक्छौ।'' कविराजहरूले सोधेका कुरामा चासो दिन थालेपछि शेर्पाले त्यसको भरपुर फाइदा उठाए र उनीहरूका कुरा डायरीमा समेत टिप्न भ्याएका शेर्पा भन्छन्, ''त्यही कुरा मेरा लागि अपार भएको छ।'' औषधि उत्पादनकै लागि औषधिलाई मिक्सचर, मोइस्चर र ट्याब्लेट बनाउनका लागि उनले अहिले २२ लाख ३६ हजार रुपिँयाको मेसिन जडान गरेका छन्।
०५८ सालमा गाईघाटमा आयोजित सगरमाथा अञ्चलस्तरीय बिक्री प्रदर्शनीमा सहभागीमध्येबाटै प्रथम भएपछि उत्साही भएर उनी यो क्षेत्रमा लागे। त्यसपछिका प्रदर्शनीमा पनि प्रथम तथा अन्य सम्मान पाउँदै गएका छन्। राजधानीदेखि स्थानीयस्तरमा कुनै पनि प्रदर्शनी छैन जहाँ शेर्पाको स्टलमा सहभागी/अवलोकनकर्ता नझुम्मिएका होस्।
अमेरिकामा भएको भए मैले आज डलर साटिरहेको हुन्थेँ, अन्य देशमै बसेको भए पनि सोही देशको मुद्रा गनिरहेको हुन्थेँ, भारतमै भएको भए पनि मैले मेरो कमाइ भारूमा गनिरहेको हुन्थेँ। तर, म आज नेपालमै बस्नुका कारण मेरो मातृभूमिप्रतिको स्नेह हो अरू केही होइन।
बाल्यकालमा धेरै दुःख भोग्नुपरेको सम्झनाले उनलाई अझै पनि पिरोल्छ। सानैदेखि जिम्मेवारीबोध, अरूका लागि केही गर्नैपर्ने दायित्वबोध भएकाले होला। झट्ट देख्नेले उनलाई चिन्तित, दुःखी र घुलमिल नहुने एकलकाँटे देख्न सक्छन्। यो अनुमानमा उनी थप्छन्, ''हो, यो मेरो बाल्यकालदेखिकै स्वभाव हो, म अन्तरमुखी नै हुँ।'' गाईबस्तु हेर्न जङ्गल पुगेका बेला पनि रूखको छहारीमा बसेर माटोमै कखरा लेखेर बस्थे उनी। यसैक्रममा गाईबस्तु अर्काको बालीमा पसेर काकीको कुटाइ पनि थुप्रै खाए उनले। काकीका छोराछोरीलाई घरमै मास्टर आएर पढाउँथे। उनी सम्झन्छन्, ''मचाहिँ उनीहरूले पढेको चिहाएर हेर्थें। अनि जङ्गलमा गएर त्यही कुरा दोहोर्याएर अध्ययन गथेर्ं, नबुझेको बटुवालाई सोध्थेँ।'' 'ओरालो लागेको मृगलाई बाछाले पनि खेद्छ' भन्ने उखानजस्तै टुहुरो केटोमा भएको पढ्ने इच्छालाई कसैले बुझ्न सकेन। भुइँमै कखरा लेख्दालेख्दै गाईबस्तु हराएपछि घर जाँदा काकीको कुटाइ खाने डरबाट बच्नकै लागि उनले जङ्गलमै कैयन रात गुजारे। बाल्यकालमा पढ्नकै लागि छटपटाएका शेर्पा पढ्ने मोहमा भारततिर हानिएका हुन्।
बाहुनले पढ्ने भनिएको संस्कृत शिक्षा पढ्ने सोचमा उनी भारतीय भूमि प्रवेश गरेका थिए। अहिलेजस्तो देशमै सहज रूपमा संस्कृत पढ्ने विद्यालय नभए पनि शेर्पालाई संस्कृत पढ्नका लागि केही कुराले छेकेन र हानिए संस्कृत पढ्न विहारतिर। उनले विहारको दरभङ्गास्थित होटलमा भाँडा माझ्दै कामेश्वरसिंह संस्कृत विश्वविद्यालयबाट शास्त्री उत्तीर्ण गरेका हुन्। ०२८ सालमा संस्कृतमा शास्त्री, हिन्दी र अङ्ग्रेजीमा प्रवीणता प्रमाणपत्र तह पूरा गरेर आˆनै मुलुक र्फकेका शेर्पाले जिल्लाका विभिन्न विद्यालयमा संस्कृत पढाए। करिब २८ वर्षको शिक्षण पेसामा संस्कृतमात्रै पढाए।
शेर्पा समुदायमै एक्लो संस्कृत गुरु बनेका उनले ०५६ सालमा भएको शेर्पा समुदायको सम्मेलनमा मुलुकभरिबाट भेला भएका शेर्पामध्ये कसैले पनि संस्कृत पढेको भेटेनन्। शेर्पा र संस्कृत भाषा धेरै नै फरक हुने भएकाले पनि शेर्पा समुदायबाट एकजना पनि शेर्पा संस्कृत भाषामा नगएको भन्दै उनी भन्छन्, ''शेर्पाले संस्कृत पढ्न गाह्रो छ।'
शेर्पाको क्षमता र प्रतिभाको कुरा गरिसाध्य छैन। जातीय संस्कारअनुसार गुम्बा गएर पढ्नुपर्ने उनी संस्कृतमा होमिए। संस्कृत शिक्षाको मोहले उनलाई यत्ति बाँध्यो कि ६८ वषर्ीय शेर्पाले १४ वर्षको उमेरमा संस्कृत पढ्न सुरु गरे। डेढ वर्षमा टुहुरो भएका उनी अब केही गर्नुपर्छ भनेर संस्कृत अध्ययनमात्रै नभई अन्वेषणमा लागे।
उनीसँग आयुर्वेदको यति धेरै ज्ञान छ कि उनी यो विषयका 'इन्साइक्लोपेडिया' नै हुन्। यसको सङ्कलनमा पनि उनले त्यत्तिकै दुःखकष्ट बेहोर्दै आज यो ठाउँमा आइपुगेका हुन्। á