20४६ फागुन ७ पछिका केही दिनहरू निकै कहालीलाग्दा थिए। तत्कालीन पञ्चायत राज्यसत्ताविरुद्ध जनलहर उर्लंदो थियो, जनआन्दोलनका रूपमा। म आफैँ पनि जनआन्दोलनको पक्षमा निसङ्कोच उभिएको थिएँ। जतिजति आन्दोलन बढ्दै गयो, उति नै दमनका स्वरूप फेरिँदै आन्दोलनकारीमाथि जाइलाग्ने क्रम तीव्र हुँदै थियो। आन्दोलनको सुरुवाती दिनमै हामीसँगै आन्दोलनको अग्रभागमा जमजमाउने निडर गणेशले शहादत प्राप्त गरे।
आन्दोलनको मैदानमा के जातजाति, के भाषाभाषी, महिला, पुरुष सबै होमिएका थिए। आन्दोलनकारीबीचमा न कुनै जातीयताको रङ्ग थियो न त कुनै भाषाभाषीको। वैचारिक विविधता हुँदाहुँदै पनि जनआन्दोलनको सवालमा भने सबै एकमत देखिन्थे। यसमा न कुनै क्लेष थियो न त एकअर्कालाई हेर्ने दृष्टिमा कुनै दोष। पढ्न, खेल्न, वनभोज खान जाँदा कहिलेकाहीँ विचार नमिल्ने मेरो थारू साथी विश्वना र म आन्दोलनमा जाँदा भने सधैँ एक हुन्थ्यौँ। एउटाको साइकल बिग्रँदा अर्काको साइकलमा सँगै सहरमा हुने आन्दोलनमा भाग लिन हुइँकिन्थ्यौँ। जाँदा आउँदा सहमतिमै आधाआधा बाटो साइकल चलाउथ्यौँ। अरू त के खाजा पनि दुईथरि खाएनौँ। एउटाले जे खाने भन्यो त्यही नै मान्य हुने। आन्दोलन चर्कंदै जाँदा प्रहरी सहरबाट गाउँतिर पस्न थाले। रातिराति घरमा खानतलासी हुन थाल्यो। जब ठूला बत्ती बाल्दै प्रहरीका गाडी गाउँ पस्थे हामी भने ओछ्यान छाडेर गहुँबारीमा रात काट्न पुग्थ्यौँ। त्यतिखेर के विश्वना महतो, के बालकृष्ण विक सबै उस्तै। मीन तामाङ, तारा श्रेष्ठ, विशाल राई सबै एउटै रूखका जराहरू जस्तै पञ्चायतविरुद्ध अडिग। जनआन्दोलन उत्कर्षतर्फ जाँदा हामीजस्ता अधिकांश युवा प्रहरीको हिरासतमा परिसकेका थियौँ। एक दिन झपक्क साँझ नपर्दै हिरासतमा रहेका हामीहरूलाई एकाएक ट्रकभित्र बस्न उर्दी गरियो। रात परिसक्दा नसक्दै हामी बसेको ट्रक राजमार्गमा हुइँकियो। सबै स्तब्ध भए। एकाध घन्टापछि ट्रक राजमार्ग छाडेर कच्ची मार्गतिर लाग्यो। ठूलो ढाला भएको ट्रक त्यसमा पनि माथिपट्ट ित्रिपालले बन्द गरिएको हुँदा हामीजस्ता आलाकाँचालाई भने कहाँ पुग्यौँ भन्ने कुनै हेक्का थिएन। एकैछिनमा गाडी रोकियो र रातको समयमा जङ्गलको बीचमा ओर्लन भनियो। सबै ओर्ले। गाडी रित्तै फक्र्यो। हामी माखेसाङ्लोमा जम्मा भई चौरमा बस्यौँ। कसोकसो एकजना पाका व्यक्तिसँग सानो रेडियो सँगै रहेछ। थाहा पाएको भए त प्रहरीले छिनिहाल्थे। धन्न जोगिएको रहेछ। ठीक त्यही बेला बीबीसी नेपाली सेवामा गृह राज्यमन्त्री निरञ्जनको अन्तर्वार्ता बज्दै थियो। उनी भन्दै थिए, 'श्री ५ को सरकारले एकजना पनि पक्राउ गरेको छैन, हिरासतमा एकजना पनि छैनन्। अराष्ट्रिय तत्त्वहरूबाट सञ्चालित तथाकथित यो आन्दोलन निष्प्रभावी छ। संसारसामु उनी यसरी बोलिरहँदा हामी भने निर्जन जङ्गलमा सुनसान प्रायः थियौँ।
आन्दोलन चर्कंदै गर्दा प्रहरीको धरपकडले मधेसमा बसिसाध्य भएन। घर सल्लाह हुँदा केही समय पहाड जाने निधो भयो। हामी सबै आआˆना पहाड घरतिर लाग्ने भयौँ। हिजोमात्र के यस्तो कुरा भएको थियो, मीन तामाङ र तारा श्रेष्ठ त बिहानको भाले पनि बास्न नपाउँदै सुइँकुच्चा ठोकिसकेछन्। पहाड एकैठाउँका भएकाले पनि होला यिनीहरूले अरू कसैको बाटो हेर्नु परेन। उनीहरूको प्रस्थानले मलाई पनि आखिर किन ढिलो गर्नु जस्तै भइरह्यो। बिहानको खाना खाएर हात पनि ओभाएका थिएनन् विशाल र बालकृष्ण त आआफ्नो पोकापन्तुरा बोकेर टुप्लुक्क हाम्रै घरको आँगनमा पो आइपुगे। हेर्दाहेर्दै उनीहरू आआफ्ना बाटो लागिहाले। मैले पनि बाटो तताउने तारतम्य मिलाइसकेको थिएँ भनेको मात्र थिइनँ। यसरी सबै साथी उकालो लाग्ने भएपछि विश्वना महतो भने गाउँमा एक्लै पर्ने भए। लाग्यो ऊ आन्दोलनको घानमा नराम्ररी पर्ने भयो किनकि उसलाई जानका लागि हाम्रोजस्तो आफ्नै पहाड घरको विकल्प थिएन। यसले मलाई साह्रै चिन्तित तुल्यायो। मैले मनमनै उसलाई पनि सँगै लैजाने निधो गरँे। यसमा ऊ र उसको परिवार पनि सहमत भए र हामी सँगै लाग्यौँ पहाडी जिल्लाको सदरमुकाममा पर्ने मेरो पुख्र्यौली थातथलोतिर।
पहिलो जनआन्दोलनक्रममा मधेस आन्दोलनमा तातिएका हामी पहाडको आन्दोलनको स्वरूपले भने एकाएक चिसिइसकेका थियौँ। प्रहरी प्रशासनको अगाडि कोही प्रस्तुत हुनै नसक्ने। एक/दुईजना मात्र खल्तीमा कालो झन्डा हालेर चोकमा आएर विरोध प्रदर्शन गर्न पाउँदानपाउँदै प्रहरी हिरासतमा पुगिहाल्ने। त्यो पनि एक/दुईजना मात्र रामचन्द्र र गुमानसिंहजस्ता। हाम्रो अधिकांश समय मधेसमा भएको आन्दोलनको स्वरूप बताउँदै बित्ने गथ्र्यो। हाम्रो एउटै भनाइ हुने गथ्र्यो- मधेसमा प्रजातन्त्र आइसकेको छ, आउन बाँकी भनेको त पहाडी र हिमाली क्षेत्रमा मात्रै हो। नभन्दै केही समयमै प्रजातन्त्र स्थापना भयो। ऊ र म सँगै मधेस फर्किहाल्यौँ।
आन्दोलनको एउटा स्वरूप सम्पन्न भएपछि भने निर्वाचनको माहोल बन्यो। निर्वाचनमा न त कुनै जातीयताको गन्ध थियो न त कुनै भाषाभाषीको। जनताको सर्वोपरि चाहना भनेकै रोजगार, शिक्षा र स्वास्थ्यमा पहँुच, जनधनको सुरक्षा र समष्टिगत आर्थिक विकास। समयको क्रमसँगै दोस्रो जनआन्दोलन पनि देख्न र प्रत्यक्षतः भोग्नसमेत पाइयो, त्यो पनि काठमाडौँमा रहेर। जुन दिन चक्रपथ घेर्न मानवसागर उर्लियो, लाग्छ- गणतन्त्रको देखिने आधार त्यही दिन तय भएको थियो। मैले देखेको त्यो जनसागरमा जातजाति र भाषाभाषीका आधारमा एकत्रित भएका झुन्डहरू कहीँ कतै देखिनँ। गणतन्त्रको घोषणा भएपछि राज्यसत्ताको चरित्र पनि फेरियो। गाइँगुइँ सुनिने गरेको सङ्घीयताको सवाल यत्रतत्र सुनिन थाल्यो। केही मानिस जोडदारले यसैको भाषा बोल्न थाले।
प्रथम जनआन्दोलनका मेरा साथीहरू हिजोआज सङ्घीयताको चर्को पैरवी गर्ने गर्छन्। आफूलाई भने केही न केही जस्तो पो लाग्न थालेको छ। मसँगै हुर्केको थारू साथी विश्वना थरूहटको कुरा गर्छ। को भूमिपुत्र, को पवनपुत्र भन्दै धारा प्रवाह प्रवचन दिन्छ र अन्त्यमा मजस्ताहरू च्ााहिँ शासक र ऊजस्ताहरू च्ाांहिँ शासित भन्दै खनिनसम्म खनिन्छ। तारा श्रेष्ठ भने नेवाः राज्य र यसमा उसलाई प्राप्त हुने अग्राधिकारको कुरा गर्दै मलाई व्यङ्ग्य गर्छ। मीन तामाङ त ताम्सालिङको प्रवक्ता नै भइसकेको छ। मेरोजस्तो चुच्चेनाक भएकालाई देखी सहन्न। विश्ााल राई समावेशी संरचनाको व्याख्यान दिँदै किपट आफ्नो सांस्कृतिक पहिचान हो भन्दै मेरा पुर्खाहरूले गर्दा नै अहिले ऊ किपटबाट वञ्चित भएको भन्दै धारेहात लगाउलाझैँ गर्छ। कति न उसको किपटमा पर्ने भाग मैले नै खोसेजस्तो। बालकृष्ण विकको सत्तोसराप किन ममाथि सधैँ पर्छ, मलाई थाहा छैन। ऊ मेरै बुबाले दिएको जमिनमा घर बनाएर सँगै हुर्किएकाले नजिकको साथीजस्तो लाग्छ। तर, के गर्नु उसले पनि देखी सहँदैन। बुबाको मृत्युपछि मेरी आमा एक साँझ उसको घरमा खाना खान गए, सम्बन्ध सुध्रन्छ कि भनेर। त्यो साँझ त ठिकै भएकोजस्तो लागेको थियो। भोलिपल्ट चिया पसलमा पुग्दा पो थाहा पाएँ मैले यो सबै नाटक गरेको रे, उसको घरमा खाना खाएर। उसकी श्रीमतीले यसै भनेर हल्ला फिजाइछन् गाउँभरि।
मेरी आमा बित्नुभएको वर्ष दिन पनि नबित्दै बुबा पनि बित्नुभयो। न बुबा न आमाको मृत्यु हुँदा मेरा अन्तरङ मित्रहरू मलाई भेट्न आए।
यस्तो अवस्थामा पनि मान्छे सहानुभूति भने खोज्दोरहेछ क्यार। मलाई पनि त्यस्तै भइरह्यो। सँगैका साथीहरू नआउँदा बल्झेको घाउमा नुनचुक छरेजस्तो हुँदोरहेछ। सहनै पर्यो सहेँ। घटना पुरानो हँुदै जाँदा घाउ पनि पुरिँदै गए। एक दिन अचानक थारू साथीको बुबा पनि बित्नुभयो। मप्रति उसको व्यवहारले भने मलाई मलामी नजाउ"m भनिरह्यो। तर, हृदयले मान्दै मानेन, गइछाडे। आखिर मलामीहरूमा ममात्रै गैरथारू परेछु। मनले ठिकै अर्ति दिएको रहेछ जस्तो पनि लागिरह्यो, तर सम्हालिएँ। उनीहरू आफ्नै भाषामा गन्थन गरिरहे। भन्दाभन्दै पहाडका वानरहरू यसो गर्छन् हामी यसो गछार्ंै भन्दै मृत्यु संस्कारमाथि नै तिक्तता व्यक्त गर्न पो थाले। मृत्यु संस्कारको क्षणमा समेत यसरी राजनीति हाबी भएको देख्दा भने मन साह्रै कुँडिएर आयो।
मैले पनि यही स्थानमा मेरा बुबाआमाको अन्त्येष्टि गरेको थिएँ, जुन ठाउँमा आज विश्वना आफ्ना बाबुको अन्त्येष्टि गरिरहेछ। केवल पात्रहरू फरक थिए। परिस्थिति उस्तै थियो। वेदनाहरू उस्तै थिए। मैले त खासै फरक अनुभूति गर्न सकिरहेको थिइनँ। मेरा बुबाआमा चितामा जलिरहँदाजस्तो गन्ध फैलिएको थियो, उसको बुबा जल्दा पनि उस्तै गन्ध फैलिरहेको छ। पवित्र नारायणी नदी जसरी हिजो अस्थु धातु लिएर बगेकी थिइन्, आज पनि उस्तै अस्थु धातु लिएर बगिरहेकी छन्। भूमिपुत्र र पवनपुत्रको चितामा आगो उसैगरी दन्किरह्यो। अग्निले फरक तवरले भष्म गरेको त खोई मैले कतै देखिनँ।
प्रकृतिमा सम्बन्धहरू निरन्तर भत्किरहन्छन् जोडिरहन्छन्। भनिन्छ- सम्बन्धहरू ज्ाोडिनकै लागि पनि टुट्ने गर्छन्। मेरा जीवनका सम्बन्धहरू पनि यसैगरी टुटी मात्रै रहेका छन्। अब त लाग्छ- टुट्न बाँकी कुनै सम्बन्ध नै छैन। नजाने कति दिन, महिना, वर्ष या शताब्दी कुर्नुपर्ने हो टुटेका यी सम्बन्धहरू ज्ाोडिन। के साँच्चै मेरा टुटेका सम्बन्धहरू फेरि पहिलेजस्तै जोडिएको म आफैँले देख्न पाउँछु अनुमान गर्न सक्दिनँ। कुन पदार्थले जोड्न या ब्युँताउन सक्ला यी भत्केका मेरा सम्बन्धहरू। चारैतिर जोड्नेभन्दा भत्काउने तत्त्वकै हालीमुहाली मात्रै देख्छु। खोई कस्तो कागजमा लेखिएका कस्ता शब्दहरूको विन्यासले टुटेका सम्बन्धहरू जोडिने हुन् केही भेउ पाउन सक्दिनँ। तर, मनले भनिरहन्छ त्यो दिन आइछाडोस् जुन दिन मेरो र विश्वनाको मृत्यु हुँदा हाम्रा सन्तानहरू एकअर्काको मलामी बन्न मन भित्रैदेखि सरिक होऊन््, समवेदना व्यक्त गर्न लालायित भइरहून्।