अनेकौँ जात, धर्म, भाषा, संस्कृतिको सङ्गस्थल नेपालमा चारै भाषा परिवारका एक सयभन्दा बढी भाषाभाषीका अनेकौँ जाति सदीयौँदेखि बसोबास गर्दै आइरहेका छन्। त्यसैले नेपाललाई अनेकतामा एकताको मुलुक मानिन्छ। नेपालको तराई मधेसमा पनि जातीय, भाषिक, साँस्कृतिक रूपबाट विविधतापूर्ण छ। यहाँका अनेकन् जनजातिमध्ये धानुक जाति पनि एक हो। धानुक जाति भारतको राजस्थान राज्यको 'धानिया' गाउँबाट नेपाल प्रवेश गरेको हो भन्ने विभिन्न विद्वान्को भनाइ रहे पनि यो जातिको उद्गमस्थल कहाँ हो, नेपालमा हो कि भारतमा हो ? भारतमा हो भन्ने नेपालमा यिनीहरू कुन समयमा प्रवेश गरे ? आदि-इत्यादिबारे स्पष्ट प्रमाण अभाव देखिन्छ।
सामाजिक, शैक्षिक स्थिति
धानुक जाति परम्परादेखि नै धान खेतीलाई आˆनो पेसा ठान्ने भएकाले यी जातिलाई धानुक भनिएको हो भनेर भनिन्छ। नेपालको राष्ट्रिय जनगणना ०५८ अनुसार धानुकको जनसङ्ख्या एक लाख ३६ हजार नौ सय ४४ बताइएको छ, जसमा पुरुषको जनसङ्ख्या ७१ हजार एक सय ८७ र महिलाको जनसङ्ख्या ६५ हजार सात सय ५७ रहेको छ।
धानुकको शैक्षिक अवस्था हेर्ने हो भने धेरै कमजोर देखिन्छ। यो जातिमा आˆनो सन्ततिलाई शिक्षादीक्षा दिइनुपर्छ भन्ने भावना विकास भएको पाइँदैन। फलस्वरूप यस जातिको कुल जनसङ्ख्याको ८० प्रतिशत मानिस अशिक्षित छन्। यस जातिका शिक्षित पनि प्रायः साक्षरमा सीमित छन्। कृति र पशुपालनमा सीमित रहे पनि यिनीहरू हाँस र कुखुरा कहिल्यै पाल्दैनन्। यिनीहरू भूतपे्रत, धामीझाँक्रीमाथि असाध्यै विश्वास गर्छन्। कुलदेवतामा यिनीहरू गोरेआ बाबा, हनुमान र महावीरको पूजा गर्छन्। कुनै पनि नयाँ कामको प्रारम्भ गर्दा कुलदेवताको पूजा गर्ने चलन छ, यो जातिमा। अन्धविश्वासका कारण यो जाति रोगव्याधी लागेको बेला डाक्टरभन्दा धामी, झाँक्रीकहाँ धाउँछन्।
शिक्षा र चेतना अभावले यिनीहरू परिवारनियोजन गराउँदैनन्, जसको परिणामस्वरूप अन्य जातिको तुलनामा यिनीहरूको जनसङ्ख्या वृद्धिदर बढी देखिन्छ।
भेषभूषा/चाडपर्व
मुख्य रूपले तराईमा बसोबास गर्ने यो जाति खेतीकिसानीलगायत श्रमको काम गर्ने हुनाले हट्टाकट्टा, स्वस्थ र बलियो देखिन्छन्। यिनीहरूको मातृभाषा भोजपुरी र मैथिली हो। भेषभूषामा पुरुषले लुङ्गी, धोती, कुर्ता, गम्छा, गन्जी र महिलाले साडी -लुगा) र ब्लाउज -झुल्ला) लगाउँछन्। गहनामा कानपासा, हँुसुली, गोडाइ र नाकमा नत्थी लगाउँछन्। प्रायः हरेक महिलाको निधारमा बिन्दिया देखिन्छ। नाडीमा चुडी, बलिमा कङ्गनजस्ता गहना लगाउँछन्। कोहीकोही त हातमा पाखुरादेखि नाडीसम्म गहना लगाएको देखिन्छन्।
यो जाति तीन थर र आठ उपथरमा विभाजित छन्। राजवंशी, धानुक, मन्डल, धानुक र सुर धानुक यिनीहरूको थर हो भने केवट धानुक, बधनाहा धानुक, दुधबार धानुक, डोम धानुक, मगहिन धानुक, गरबाइत धानुक, सेनकट्टा धानुक यिनीहरूको उपथर हो। यो जातिमा दुधबार धानुकलाई विशिष्ट श्रेणीको र डोम धानुकलाई सबैभन्दा तल्लो श्रेणीको मानिन्छ। यसरी यो जातिभित्र पनि अनेकन् उपजाति, उपथर छन्।
आर्यमुलका जस्ता देखिने यो जाति आर्थिक र शैक्षिक अवस्थाले कमजोर भए पनि यिनीहरू चाडपर्व र संस्कृतिमा धनी मानिन्छन्। यिनीहरूले चाडपर्वमा छठ, दीपावली, रक्षाबन्धन -राखी), कृष्णाष्टमी, होलीजस्ता पर्व मनाउँछन्। यिनीहरू मनोरञ्जन तथा आˆनो संस्कार र संस्कृति जगेर्नाका लागि विभिन्न याममा नाच नाच्ने गर्छन्। वषर्ायाममा जरजटिन नाच, झुम्मरी नाच नाचेर आˆनो मौलिकतालाई जीवित राखेका छन्। विभिन्न संस्कारमध्ये 'छठिहार' -बच्चा जन्मेको छैटाँै दिनमा गरिने संस्कार) पनि एक हो।
वैवाहिक मृत्यु संस्कार
यी जातिमा सदीयांँैदेखि मागीविवाह नै प्रचलनमा रहेको देखिन्छ। विवाह गर्दा दुलही र दुलाहाका गोत्र -थर) फरक पारेर गरिने चलन छ। जुन तराईका अन्य जातिमा प्रायः पाइँदैन। विवाहअघि दुलाहादुलहीको उचाइ लौराले नापिन्छ। दुलाहादुलहीको समान उचाइ राम्रो मानिन्छ। समान उचाइ नभए पनि दुलहीभन्दा दुलाहाको उचाइ बढी हुनु अनिवार्य मानिन्छ। दुलहीको उचाइ बढी भएमा बिहे हुन सक्दैन। यो जातिमा पनि दाइजोप्रथाले नराम्रोसँग जरो गाडेको छ।
यो जाति -धानुक)मा अन्तिम संस्कार गर्दा जमिनमा आयताकारको खाल्डो खनेर लासको टाउको उत्तरतिर फर्काएर राखिन्छ। खाल्डोमा लासमाथि तिल, धुप, घ्यु र तुलसीको पात राखेर दाउरा राख्ने गरिन्छ। सम्पन्नले लासको मुखमा सुन, चाँदीलगायत धातु राख्ने गर्छन्। उत्तर-दक्षिण दिशामा राखिएको लासमा दागबत्ती दिनुभन्दा अगाडि मलामीले पाँचचोटि चिता परिक्रमा गर्छन्। त्यसपछि दागबत्ती दिने बेला पाँचवटा कौडी राखेर मृतकको छोराले दागबत्ती दिन्छ। यस जातिमा पनि छोरीले दागबत्ती दिन पाउँदैन। पाँच वर्षमुनिका बच्चालाई नजलाई गाडिन्छ। दागबत्ती दिने व्यक्तिले १३ दिनसम्म सेतो वस्त्र लगाएर विनानुनको आहार ग्रहण गर्नुपर्छ। त्यो व्यक्तिले १३ दिनसम्म ब्रहृमाचार्य जीवन बिताउनुपर्छ। मरेको दुई दिनपछि भोज खुवाइन्छ जसलाई दुधाइको भोज भनिन्छ। मरेको सात दिनपछि सतधन, दस दिनपछि नवकेश र तेह्राँै दिनमा नाता, कुटुम्ब हितैषी डाकी सभाभोज गरी वैदिक रीतिपूर्वक सम्पूर्ण अन्त्येष्टि कार्य सम्पन्न भएको बुझिन्छ।