वैदिक दर्शन साहित्यका विशिष्ठ विद्वान्हरूले चाहेको चीज प्राप्त गर्न र नचाहेको चीज हटाउनका लागि विशेष उपाय सिकाउने ग्रन्थलाई वेदको संज्ञा दिएका न् । उनीहरूका अनुसार मानिसको धर्म, अर्थ, काम र मोक्ष चारै किसिमको पुरुषार्थ सिद्ध गराउने मूलभूत साधन पनि यिनै ग्रन्थ हुन् । विशेषगरी धार्मिक यज्ञ अनुष्ठानमा बढी प्रयोग हुने भएकाले धार्मिक ग्रन्थ जस्तो लागे पनि वैदिक ग्रन्थहरू धार्मिक र आध्यात्मिक दृष्टिले मात्र नभई सामाजिक, सांस्कृतिक, साहित्यिक र वैज्ञानिक दृष्टिले पनि उत्तिकै उपयोगी ठहरिएका छन् । वैदिक ग्रन्थहरूबाट कुटुम्बनीति, समाजनीति, राष्ट्रनीति शिक्षा नीति धर्मनीति, अर्थनीति, आहार, विहा, आचार, विचार र व्यवहार आदि यावत् खाले नीतिको सम्यक व्याख्या गर्दै लोकतान्त्रिक समाज निर्माणको पक्षमा विशेष प्रयास भएको कुरो शिवराज आचार्य कौण्डिन्न्यायन, स्वाद्ध्यायमालाले आˆनो वैदिक धर्म मूल रूपमा भन्ने ग्रन्थमा राम्रो प्रकाश पारेका छन् । सामान्यतया वेद भन्नाले ऋक, यजु, साम र अथर्व संहितालाई लिने गरिएको छ । तर ब्राहृमण, आरण्यक र उपनिषद् पनि वेदकै व्याख्या भएकाले यी सबै ग्रन्थहरूलाई समेत वेद नै भन्ने गरिएको छ । यसमध्ये संहिता युगलाई पूर्व वैदिक युग र अन्य वैदिक ग्रन्थलार्य उत्तर वैदिक युगको उपज मानेर विद्वान्हरूबाट समय विभाजन भएको छ । संहिताहरूमा पनि ऋग्वेद संहितालाई सर्वाधिक प्राचीन मानिएको छ । यो ग्रन्थ संसारभरिकै सर्वाधिक पहिले लिपिबद्ध भएको ग्रन्थमा पनि पर्दछ । तर कहिले लिपिबद्ध भएको हो भन्ने कुरामा भने विद्वान्हरूबीच मतैक्य छैन ।
कसैले यसलाई तीन हजार ३०० वर्ष पहिले लिपिबद्ध भएको मानेका छन् भने कसैले चारहजार वर्ष, कसैले छ हजारवर्ष, कसैले नौ हजार वर्ष र कसैले २७ हजार वर्ष पहिलेका मानेका छन् । विद्वान्हरूका अनुसार ऋग्वेदका २१ शाखा छन् । यसमध्ये हाल प्रचलनमा रहेको शाखाको नाम शाकल शाखा हो । तर शाकल शाखा भन्नुभन्दा शैशिरीय शाकल ऋग्वेद मन्त्रसंहिता भन्दा हरेक दृष्टिले बढी शुद्ध हुने तर्क शिवराज आचार्य कौण्डिन्न्यायgm स्वाद्ध्यायशालाको छ ।
वस्तुतः रूपपक्षको कुरो गर्दा ऋग्वेसंहिता दश मण्डलमा विभाजित वृहद्आकारको ग्रन्थ हो । यसका प्रथम मण्डलमा १९१ सूक्त छन् भने दशौं मण्डलमा पनि त्यति नै सूक्त छन् । त्यसपछि दोस्रोदेखि नवौंतकका मण्डलमा क्रमशः ४३, ६२, ५८, ८७, ७५, १०४, १०३ र ११४ सूक्त छन् । यसरी कुल मिलाउँदा १० २८ सूक्त र १० हजार ५५२ मन्त्र छन् । तर सारपक्षको कुरो गर्दा यो ग्रन्थ केवल मन्त्र र मण्डलको संहिता मात्र नभई ज्ञान, विज्ञान र व्यवहारको सरोवर पनि हो भन्नुपर्दछ । प्रथमतः विश्वकल्याण र मानव हितका लागि यज्ञमण्डपमा अग्नि देवताको आहृवान गरिएको मन्त्रबाट -अग्निमिडे पुरोहितं' -पहिलो मण्डलको पहिलो सूक्तको पहिलो मन्त्र) सुरु भएको ऋग्वेद संहिता, 'समानिवः आकृति समानि हृदयानिव' -दसौं मण्डल)को अन्तिम सूक्तको अन्तिम मन्त्र) अर्थात संसारमा दुःख पनि छ र सुख पनि छ । त्यसैले जीवनमा आफूले सुख मात्र पाउने र नचाहनेको दुःखलाई टाडैबाट विदा गर्ने हो भने प्रत्येक मानिसले मानव समाजका निम्ति मात्र नभई समग्र प्राणीसमाजकै लागि आफै समान व्यवहार गर्नुपर्दछ । जस्तो बोलिवचन र व्यवहारआफूलाई मन पर्दैन त्यस्तै बोली, वचन र व्यवहार अरूलाई पनि गर्नु हुँदैन भन्ने जस्ता समानताको सन्देश दिएर समाप्त भएको छ । यस बाहेक त्यसको लगत्तै अगाडि आएका मन्त्रहरूले 'सङ्गच्छध्वं संववदध्व' भन्दै अर्थात् मानिसले जीवनमा चाहेको कुरो पाउन र नचाहेको कुरा हटाउन दैनिक जीवनमा अपनाउनुपर्ने सिद्धान्त र पालन गर्नुपर्ने नियम तर्फ संकेत गरेको प्रसङ्गलाई पनि यहाँनेर विर्सन हुँदैन ।
झट्ट हेर्दा वैदिक मन्त्रहरू स्वर र वर्णहरूको सामूहिक रूप मात्र हुन् कि जस्तो लाग्न पनि सक्छ । मन्त्रहरूको रूपपक्षलाई मनन गर्दा स्वरवर्णहरूको सामूहिक रूपनै हुन् । तर सारतः भन्ने हो भने यो त वाहिरीरूप मात्र हो । मन्त्रहरूका भित्रीरूप त्यतिमा मात्र सीमित छैनन् । आफैमा मन्त्रद्रष्टाऋषिको स्वरूप मानिएका वैदिक मन्त्रहरूमा मातृकागणहरूको यसरी गुम्फन भएका छन् कि विधि र विधानअनुसार सम्यकरूपले प्रयोग गर्ने हो भने उच्चारण मात्रैले पनि धेरै हदसम्म प्रयोग कर्ताको इष्टापूर्व हुन सक्छन् । आज विश्वमा जति पनि समस्या देखिएका छन् ती सबै बिग्रेको मानवगतिविधिकै नतिजा हुन् । वेदले बताए अनुसार आहार, विहार, विचार र व्यवहारलाई संयमित गर्ने हो भने आधाभन्दा बढी समस्या स्वतः समाधान हुन्छन् । न हावा दुषित हुन्छ न पानी । त्यस्तै न माटो दुषित हुन्छ न मानिसको मन, मस्तिष्क र शरीर नै दूषित हुन पुग्छन् । शरीर दुषित नहुनु भनेको स्वस्थ रहनु हो । स्वस्थ शरीर समाजका निम्ति यसै पनि वरदान मानिन्छ । त्यसमाथि सबैको मन र मस्तिष्क पनि स्वच्छ भइदिने हो भने त के चाहियो र समाज आफैंमा रामराज्यमा परिणत हुन पुग्छ । न त्यहाँ हत्या, हिंसा, आतङ्कले स्थान पाउँछ न दुराचार, व्यभिचार, भ्रष्टाचारको गन्ध आउँछ ।सबै आ-आफ्नै अनशासित हुन्छन् । कसैले कसैलाई केही भन्नै पर्दैन र कसैले कसैलाई केही सिकाउनै पर्दैन । फलतः साधारण खर्च कटौती हुन पुग्छ र त्यसलाई विकास निर्माणमा लगानी गर्न सकिन्छ । एकले अर्कोको खुट्टातान्ने, शोषण गर्ने, ठग्ने, लुट्ने प्रवृत्ति सदाका लागि अन्त्य हुन पुग्दछ । रोग, भोक, शोकबाट मुक्तिपछि मानिसले यसै संसारमा बसेर यसै जीवनमा स्वर्गीय सुख पाउँछन् । यस बाहेक यसको वैज्ञानिक पक्ष त आफ्नो स्थानमा छँदैछ ।
त्यसैले वैदिक मन्त्र र आशयलाई भाषाको दृष्टिले क्लिष्ट लाग्छ भने यसका भाष्यलाई नै भए पनि पाठ्यक्रममा समावेश गरी औपचारिक शिक्षा दिने परम्परा बसाउने हो भने गणतान्त्रिक नेपालको यात्रा धेरै हदसम्म सहज हुने अपेक्षा गर्न सकिन्छ ।