काठमाडौँ, असार २३ गते । लोडसेडिङको चर्को मार अनि महँगो ऊर्जाबाट आजित नेपालीका लागि एउटा खुशीको खबर छ । खुशीको खबर के भने 'नेपाली विद्यार्थीले कपाललाई प्रयोग गरेर सोलार प्रविधिको विकास गरेका छन् ।'
काइदाको कुरो, यो प्रविधिले जापानबाट आयात गरेको सोलार प्रविधिले जस्तै विद्युत् उत्पादन गर्छ, यही बिजुलीले घर झिलिमिली पार्न पनि सकिन्छ ।
कपालबाट सोलार प्यानल प्रविधिको विकास गरेका छन्, टि्रनिटी कलेजको कक्षा १२ मा पढ्ने विज्ञानका विद्यार्थी मिलन कार्की र हरिहर अधिकारीले ।
दुई वर्षअघि पढ्दै गर्दा घरको बत्ती लोडसेडिङले झ्याप्पै निभ्यो, हरिहरले भने । मैनको उज्यालोमा पढ्न कठिन भएपछि वैकल्पिक ऊर्जाको विषयमा सोच्न थाल्यौँ र सुरु गर्यौँ अध्ययन, अनुसन्धान- मिलनले जवाफ फर्काए ।
वैकलिपक ऊर्जामा सबैभन्दा भरपर्दो सौर्य ऊर्जा थियो र त्यसका लागि सोलार प्रविधि आवश्यक थियो । सोलार प्यानल त बनाउने तर सोलार प्यानलमा प्रयोग गर्ने सिलिकन र सिलिनियम कसरी ल्याउने भन्ने चिन्ताले विज्ञानका विद्यार्थी हरिहर र मिलनलाई चिन्तित बनायो ।
विज्ञानको अर्धज्ञानले उनीहरूलाई भन्यो, सिलिकनलाई कपालले विस्थापित गर्न सक्छ र उनीहरू जुटे- नयाँ प्रविधिको विकास गर्न ।
विज्ञानको भाषामा कपाल कुचालक हो, कपालमार्फत सौर्य प्रविधिको विकास गर्न यसलाई अर्धचालक बनाउन जरुरी थियो । उनीहरूले त्यसको उपाय पनि पत्ता लगाए ।
उपाय के थियो भने कपाललाई नुनपानीमा डुबाउने र त्यसमा अग्र्यानिक प्रमोटर्सको प्रयोग गर्ने । नभन्दै कुचालक कपाल अब अर्धचालक बन्यो । टि्रनिटी साइन्स एन्ड टेक्निकल गिल्ड समूह बनाएका विज्ञानका यी विद्यार्थीलाई अध्ययन गर्न थप हौसला मिल्यो ।
सौर्य प्रविधिको नयाँ प्रयोगमा कपाललाई प्रयोग गर्नुमा एउटा खास कारण छ, हरिहरले भने- "त्यो कारण के भने कपालमा कोरटेग हुन्छ, त्यसमा आयोनिक कम्पाउन्ड हालेर अर्धचालक कपालको पुछारमा 'एसओटू' र 'सीयूटूओ'को लेपलगाई घाममा छाडे सौर्य ऊर्जा शोषण गर्न थाल्छ ।"
यसरी सोलार तयार हुन्छ तर त्यसबाट बढी सौर्य ऊर्जा शोषण गर्न थुप्रै कपाल प्रयोग गरेर बनाइएका सेललाई जोड्नुपर्दछ, सेल जोडेपछि सोलार प्यानल बन्छ, जसलाई विद्युत् उत्पादनका लागि प्रयोग गर्न सकिन्छ ।
जेनतेन दुःखजिलो गरेर कपालबाट सौर्य ऊर्जाको विकास गरियो तर त्यसको भविष्यका विषयमा भने विद्यार्थी चिन्तित छन् ।
यसलाई ठूलो प्रयोगशाला र सरकारी स्रोत साधन खर्च गरेर अझ प्रभावकारी बनाउन पाए अँध्यारोमा बस्दै आएका कतिले उज्यालो पाउँथे तर विडम्बना न त विज्ञानमा अध्ययन-अनुसन्धानका लागि गैरसरकारी निकायले ध्यान दिन्छन् न त सरकारले पैसा नै खर्च गर्छ- विद्यार्थी हरिहर र मिलनको चिन्ता छ ।