पोखरा, भदौ ३१ गते । गत विजेता सचित प्रधानले तेस्रो मिस्टर हिमालयको उपाधि पनि आफ्नै नाममा गराएका छन् । उनी ६० केजी तौल समूहमा विजेता बनेका हुन् । त्यसलाई ओभरअलमा छ प्रतिस्पर्धीलाई पन्छाउँदै उनले उपाधिसहित पुरस्कार स्वरूप एक लाख रुपियाँ हात पारेका छन् ।
प्रतियोगितामा नेपाल व्यायाम मन्दिरका श्याम श्रेष्ठ रनरअप बने । उनले नगद ५० हजार रुपियाँ जिते भने आफ्नो तौल समूह ७० केजीमा स्वर्ण पदक पाएका थिए । त्यस्तै सोही व्यायाम मन्दिरका ज्ञाननारायण महर्जन तेस्रो हुँदै नगद ४० हजार रुपियाँ प्राप्त गरे । पर्फेक्ट जिमका काठमाडौँका किरण श्रेष्ठ चौथो बने । उनको नाममा ३० हजार पर्यो । ५५ केजी तौलमा स्वर्ण पदक जितेका डिस्प्रोडो जिमका दयाराम दिवाकरले पाँचौँ स्थान हासिल गर्दै २० हजार रुपियाँ प्राप्त गर्न सफल भए ।
यसैगरी प्रतियोगितामा वीरगञ्जका अर्जुन बर्नवाल छैटौँ स्थानमा रहँदै नगद १५ हजारबाट सम्मानित हुँदा खुला तौल समूहका विजेता सुनन्द शाक्य भने सातौँ स्थानमा रहँदै १० हजार रुपियाँ पाएका थिए ।
दुईदिने प्रतियोगितामा विभिन्न जिल्लाका ९६ खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव हरिबाबु चौधरीले नगदसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगिताकै अवसरमा मोफसलमा पहिलोपटक महिला खेलाडी निर्मलाले समेत प्रदर्शनी गरिन् ।