काठमाडौँ, मङ्सिर १३ गते । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशीविदेशी प्रतिक्रियावादीहरू संविधानसभा विघटन गर्ने षड्यन्त्रमा लागिपरेको बताउनुभएको छ ।
ललितपुरमा शनिबार आयोजित प्राध्यापकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले अग्रगमन र प्रतिगमनबीचको लडाइँ अहिले निणर्ायक बिन्दुतिर अघि बढिरहेको छ भन्नुभयो ।
उहाँले अग्रगमन, जनताको हकअधिकार र ऐतिहासिक जनयुद्ध र जनआन्दोलनका उपलब्धिविरुद्ध साङ्गठित रूपमा षड्यन्त्रहरू भइरहेकाले ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्न सबै पक्ष सतर्क र एकजुट हुनुपर्ने बताउनुभयो ।
उहाँले सामन्तवादी अवशेषका रूपमा रहेको प्रतिक्रान्तिकारी शक्तिले अझै पनि टाउको उठाउनसक्ने ठाउँ रहेको जिकिर गर्दै नेपाल त्यो खतराबाट मुक्त हुन सकेको छैन भन्नुभयो ।
नेता प्रचण्डले सत्ता सम्हालिरहेका अग्रगमन र नेपालको प्रगतिका पक्षधरहरू नभएकाले अहिले राजनीतिक गतिरोध अन्त्य हुनुका साटो झन्झन् बढेकाले जनभावनालाई प्रतिविम्बित गर्दै परिवर्तन संस्थागत गर्न र अग्रगमनतिर अघि बढ्न प्राध्यापकहरूले समेत ज्ञानविज्ञान, राजनीति र शिक्षाका क्षेत्रमा कलम चलाउनु आवश्यक रहेको बताउनुभयो ।