काठमाडौँ, साउन १४ गते । अन्तर्राष्ट्रिय अपराधीका रूपमा चर्चित प|mान्सेली नागरिक चाल्र्स शोभराज गुरुमुखलाई एक अमेरिकी नागरिकको हत्या आरोपमा सर्वाेच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।
न्यायाधीशद्वय रामकुमारप्रसाद शाह र गौरी ढकालको संयुक्त इजलासले शुक्रबार परिस्थितिजन्य प्रमाणका आधारमा गुरुमुखले हत्या गरेको ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो । सर्वाेच्चले गुरुमुखलाई जाली राहदानीसम्बन्धी छुट्टै मुद्दामा एक वर्ष कैद र दुई हजार जरिवानासमेत गरेको छ । प्रत्यक्ष प्रमाणको अभाव भए पनि विभिन्न परिस्थितिजन्य प्रमाणका आधारमा अपराधी ठहर गरिएको, अदालतसमक्ष गरिएको गुरुमुखको इन्कारी बयान सम्पूर्ण असत्य भएको र भारतको अदालतसमक्ष उनले नेपालमा दुई नागरिकको हत्या गरी आएको स्वीकारोक्ति बयान दिएकाले दुई विदेशी नागरिक हत्याको पुष्टि हुन आएको न्यायाधीश शाहले बताउनुभयो ।
३५ वर्षअघि वि.सं. २०३२ सालमा नेपाल आएका बेला गुरुमुखले दुई विदेशी नागरिकको हत्या गरेका थिए । थाइल्यान्डको बैङ्ककमा विन्तान्जा नामक नागरिकलाई हत्या गरी उनकै पासपोर्ट प्रयोग गरी नेपाल आएका गुरुमुखले क्यानाडेली नागरिक अरमान्ट लरेन्ट क्यारियरको हत्या गरेका थिए ।
त्यसपछि उनी थाइल्यान्ड गएका र केही दिनपश्चात् पुनः नेपाल र्फकेका थिए । नेपाल आएपछि उनले २०३२ पुस ७ गते अमेरिकी नागरिक सुश्री कोन्निजो ब्रोन्जिजलाई प्रेमजालमा पारी हत्या गरेका थिए । त्यस घटनाका आरोपी गुरुमुखको खोजी प्रहरीले सुरु गरेपछि मृतक क्यानाडेली नागरिक क्यारियरको पासपोर्ट प्रयोग गरी उनी नेपालबाट भारततर्फ भाग्न सफल भएका थिए ।
भारतमा पनि डकैतीलगायतका घटनाका अभियुक्त गुरुमुखलाई पक्राउ गरी त्यहाँ १० वर्षको कैद गरिएको थियो । कैद भुक्तानका क्रममा भारतको तिहाड जेलबाट भाग्न खोजेपछि उनलाई थप १० वर्ष कैद गरिएको थियो । भारतमा कैदी जीवन बिताएपछि उनी पुनः वि.सं. २०६० सालमा नेपाल आएका थिए ।
नेपाल आएका बखत उनलाई राजधानीस्थित होटल याक एन्ड यतिबाट २०६० असोज ३ गते प्रहरीले विशेष सुराकीका आधारमा पक्राउ गरेको थियो । त्यहाँ बस्दा उनले आˆनो नाम एलेन गोटियर लेखाएका थिए तर शोभराजकै नामबाट दर्ता किताबमा हस्ताक्षर गरेपछि उनको नक्कली परिचय भएको रहस्य खुलेको थियो । आˆनो विभिन्न नामले परिचय दिँदै हिँडेका छद्मभेषी गुरुमुखलाई प्रहरीले पक्राउ गरी कर्तव्यज्यान र जाली राहदानी मुद्दा चलाएको थियो । दुवै मुद्दामा काठमाडाँै जिल्ला अदालतले २०६५ साउन २८ मा दोषी ठहर गर्दै कर्तव्यज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद तथा जाली राहदानीमा एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला गरेको थियो ।
त्यस फैसलाउपर गुरुमुखले पाटन पुनरावेदन अदालतमा पुनरावेदन गरेका थिए । पाटन पुनरावेदन अदालतले पनि काठमाडौँ जिल्ला अदालतको फैसलालाई सदर गरेपछि पुनः सर्वाेच्च अदालतमा पुनरावेदन गरिएको थियो । सर्वाेच्च अदालतमा न्यायाधीश शाह र ढकालको इजलासमा १० पटक सुनुवाइ गरिएको थियो ।
सुनुवाइकै क्रममा इजलासले गुरुमुखविरुद्ध भारत सर्वाेच्च अदालतले गरेको फैसला र त्यहाँ उनले गरेका बयानलगायतका कागजात बुझेका थिए । भारतको अदालतसमक्ष गुरुमुखले दिएको बयान र नेपालमा भएका हत्या घटनाक्रम मिलेपछि गुरुमुखले नै हत्या गरेको पुष्टि भएको हो ।
विभिन्न प्रमाणका आधारमा गुरुमुखले नै दुई विदेशी नागरिकको हत्या गरेको पुष्टि भएको ठहर गर्दै इजलासले तल्लो अदालतबाट सर्वस्वसहित जन्मकैद हुनेगरी गरेको फैसलालाई सदर गरेको सर्वाेच्चका सहायक प्रवक्ता हेमन्त रावलले बताउनुभयो । गुरुमुख अहिले राजधानीस्थित केन्द्रीय कारागारमा छन् । क्यानेडियन नागरिक अरमान्ट लरेन्ट क्यारियरको हत्या अभियोगमा गुरुमुखविरुद्ध दर्ता गरिएको अर्काे कर्तव्यज्यान मुद्दा भने भक्तपुर जिल्ला अदालतमा छ । त्यो मुद्दा अहिले मुल्तबी अवस्थामा रहेको छ ।
यसैबीच, ६५ वषर्ीय चाल्र्स शोभराज गुरुमुखलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनेपछि उनकी २२ वषर्ीया पत्नी निहिता विश्वास इजलासमै धुरुधुरु रोएकी थिइन् । गहभरि आँसु झार्दै अदालतबाट बाहिरिने क्रममा विश्वासले सर्वाेच्च अदालतबाट अन्याय भएको प्रतिक्रिया दिइन् ।
'शोभराजले हत्या गरेको एउटा पनि प्रत्यक्ष प्रमाण छैन, यस्तो अवस्थामा पनि आशङ्काका भरमा अदालतले अपराधी ठहर गर्यो', सर्वाेच्च अदालत परिसरमा पत्रकारहरूसँग प्रतिक्रिया दिँदै उनले भनिन्- यो फैसलाविरुद्ध पनि म प्रतिवाद गर्छु, न्यायाधीशले न्याय होइन अन्याय गरे ।