कोहलपुर, साउन १४ गते । नेपालगन्जमा फैलिएको झाडापखालाको अवस्था बुझ्न इपिडिमियोलोजी महाशाखाबाट प्रयोगशाला विज्ञसहितको चिकित्सक टोली शुक्रबार नेपालगन्ज पुगेको छ । दुई दिनदेखि अचानक फैलिएको झाडापखालाले महामारीको रूप लिनसक्ने अवस्था आएपछि स्वास्थ्यकर्मीको टोली नेपालगन्ज आइपुगेको हो । प्रयोगशाला विज्ञ सुमन ठाकुर र चिकित्सक प्रमोद खनालले शुक्रबार नेपालगन्जमा स्वास्थ्यका क्षेत्रमा कार्यरत सरकारी र गैरसरकारी निकायसँग भेटी अवस्थाका विषयमा जानकारी लिनुभएको छ ।
अस्पतालमा भर्ना भएका बिरामीहरूमा कडाखालको झाडापखालाको लक्षण देखिएकाले हैजाको परीक्षण गर्न बिरामीको दिसा र पानी परीक्षणको लागि नमूना काठमाडौँमा पठाइएको जनस्वास्थ्य प्रमुख धीरजङ्ग शाहले बताउनुभयो । नेपालगन्जमा हैजा परीक्षणका लागि प्रयोगशाला र स्वास्थ्यकर्मी नभएकाले परीक्षण हुनसकेको छैन । शनिबारसम्ममा हैजा हो वा होइन भन्ने कुराको पुष्टि हुने जनस्वास्थ्य प्रमुख शाहले बताउनुभयो ।
नेपालगन्ज नगरको २, ३, ४, ५ र १४ नम्बर वडामा दुई दिनदेखि अचानक झाडापखालाका बिरामी बढेका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालयले ती ठाउँहरूको पानीको नमूना परीक्षणका लागि काठमाडौँ पठाएको जनाएको छ । झाडापखालाका कारण शुक्रबारसम्म पाँचजनाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज, भेरी अञ्चल अस्पताल र नेपालगन्ज युनाइटेड अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दोछ । बिरामीको चाप बढेकाले अस्पतालको सिँढी र भूइँमा राखेर चिकित्सकहरूले उपचार गरिरहेका छन् । अस्पतालको एउटै शय्यामा दुईभन्दा बढी बिरामी राखिएको छ । धेरैजसो बालबालिका र महिला झाडापखालाको प्रकोपमा परेका छन् ।
झाडापखालाको प्रकोप न्यूनीकरण गर्न नगरमा पानीको शुद्धता परीक्षण, सरसफाइको अवस्था, रोगको प्रकोपको अवस्था अध्ययनका लागि छुट्टाछुट्टै टोली परिचालन गरिएको जनस्वास्थ्य प्रमुख शाहले बताउनुभयो ।
शुक्रबार बसेको जिल्ला दैवीप्रकोप अन्तर्गतको स्वास्थ्य समितिको बैठकले झाडापखालाको प्रकोप बढेका ठाउँहरूमा स्वास्थ्यकर्मी परिचालन गर्ने, पानी शुद्ध पार्ने औषधिको वितरण गर्ने निर्णय गरेको छ । नगरको डुबान प्रभावित ठाउँमा झाडापखालाको प्रकोप फैलिएको हो ।