अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
शनिवार
 
काष्ठमण्डप कि होममण्डप
बसन्त महर्जन
 

नेपालको राजधानी काठमाडौँको नाम काष्ठमण्डपसँग सम्वन्धित छ । प्रचलित कुनै पनि भाषामा 'काठमाडौँ' को सोझो अर्थ लाग्दैन तसर्थ पनि काष्ठमण्डप शब्दकै अपभ्रंश वा अङ्गे्रजी लवज हो भन्न सकिन्छ । यस शब्दको व्यापक प्रयोग अङ्गे्रजीभाषामा भएको थियो भने पछिमात्रै नेपालीहरूले पनि काठमाडौँ भन्न थालेका हुन् । काठमाडौँको पूर्वरूप काष्ठमण्डप भएपछि यो कति पुरानो वा कहिलेदेखि प्रचलनमा आएको भन्ने सन्दर्भमा विमर्श गर्नु पर्ने हुन्छ ।

राजधानी काठमाडौँको हनुमानढोका दरवार परिसरको गद्दीबैठक सामुन्ने पश्चिमतिर चौबाटोमा रहेको तीन तल्ले विशाल भवन नै काष्ठमण्डप हो । यसलाई स्थानीय भाषामा 'मरुसतः' वा 'मरुसत्तल' भनिन्छ तर 'मरु' मण्डपको अपभ्रंश मात्र हो । २१ मिटर चौडा र १९ मिटर अग्लो यस वास्तुको मौलिकता होममण्डप हो । त्यही होममण्डपलाई काठको अधिक प्रयोगले स्थायी बनाएपछि काष्ठमण्डपका रूपमा प्रख्यात भएको बुझ्न सकिन्छ ।

भाषा वंशावलीमा काष्ठमण्डप

काष्ठमण्डपको निर्माणका सम्वन्धमा भाषावंशावलीमा उल्लेख छ । नेपाली भाषामा लेखिएका वंशावलीहरू नै भाषावंशावली हुन् । भाषावंशावली सन् १८२५ देखि लेखिन थालेको थियो । भाषावंशावल्ाीमा यस्तो उल्लेख छ-

'राजा लक्ष्मीनरसिंह मल्लको शासनकालमा कान्तिपुरको जात्रा हेर्न मान्छेको रूपमा स्वर्गबाट कल्पवृक्ष पनि पुगेका रहेछन् । मान्छेहरूका बीच उभिएर हेरिरहेको कल्पवृक्षलाई 'विसेत' भन्ने एक तान्त्रिकले चिनेछन् र उनले तत्कालै तन्त्रबाट कल्पवृक्षलाई यताउता जान नसक्ने गरी बाँधिदिएछन् । विसेतको इच्छा सिंगो रूखबाट एउटा विशाल सत्तल बनाउने थियो र उनले सोही अनुसार ठूलो रूखको माग कल्पवृक्ष समक्ष राखे । कल्पवृक्षले त्यस्तो रूख दिने वाचा गरेपछि मात्र तान्त्रिकले कल्पवृक्षलाई छाडेको थियो । सोही अनुसार कल्पवृक्षले सालको रूखको बिउ दिएर गएको थियो र त्यही बिउबाट बनेको विशाल रूखको काठले बनाइएको सत्तल नै काष्ठमण्डप वा मरुसत्तल हो ।'

ऐतिहासिक स्रोतसामग्री

भाषावंशावलीअनुसार राजा लक्ष्मीनरसिंह मल्लको समयमा मात्रै काष्ठमण्डपको निर्माण भएको देखिन्छ । उनी सत्रौँ शताब्दीको उत्तरार्घका राजा हुन् । त्यस अर्थमा नेपालको राजधानी काठमाडौँ नामको पूर्व रूप सत्रौँ शताब्दीभन्दा पुरानो होइन तर काष्ठमण्डपको उल्लेख यसभन्दा अघि नै भइसकेको पाइन्छ । राजा नरेन्द्रदेवको समयमा लेखिएको इस्वी सम्वत ११४३ सेप्टेम्वर २४ -नेपाल सम्वत २६३) को 'नामसङ्गीति' हस्तलिखित ग्रन्थको पादटिप्पणीमा 'काष्ठमण्डप'को नाम उल्लेख गरिएको छ र हालसम्म पाइएअनुसार सर्वप्रथम उल्लेख भएको ग्रन्थ पनि यही हुन आउँछ । यसपछि नेपाल सम्वत २९८ मा राजा अमृतदेवको राज्यकालमा लेखिएको 'पञ्चरक्षा' नामको ग्रन्थको पुष्पिकामा '...अष्टाधिका नवति शतद्वय सम्वत्सरे माघ मासे पूर्णमास्या शनिश्चर दिने राजाधिराज परमेश्वर कुलतिलका मृतदेवस्य विजय राज्ये । श्री काष्ठमण्डप दक्षिण दोलकाः धिवासित...' लेखिएको छ । यसबाट काष्ठमण्डप त्यस समयभन्दा अघि नै बनिसकेको प्रष्ट हुन्छ । काष्ठमण्डपको भित्तामा पुराना पुराना ताम्रपत्रहरू टाँसिएको पाइन्छ र तीमध्येे सवैभन्दा पुरानो चौधौँ शताब्दीको छ ।

ऐतिहासिक स्रोतहरूअनुसार काष्ठमण्डप लिच्छविकालमा नै बनिसकेको प्रष्ट हुन्छ । लिच्छविकालमा काठमाडौं सहर दक्षिण कोलिग्राम र कोलिग्राम गरी दुई भागमा विभक्त थियो । लिच्छविकालीन अभिलेखहरू संस्कृत भाषामा भए पनि स्थानवाचक नामहरू स्थानिय नेपालभाषामा हुन्थ्यो तर त्यसलाई संस्कृतकरण गर्दै लग्ने प्रवृत्तिको विकास भएको पनि बुझिन्छ । सम्भवतः दक्षिण कोलिग्राम र कोलिग्राम नाम रहनुअघि त्ाी दुईको नाउँ क्रमशः 'यंगल' र 'यम्बु' थियो । स्थानवाचक नामहरू संस्कृतमा स्थापित गरे पनि प्रचलनमा रहँदै आएका स्थानीय भाषाका नाउँहरू जनजिब्रोबाट हटि नसकेको र लिच्छविहरूको अन्त्यपछि दक्षिणी कोलिग्रामको 'यङ्गल' र कोलिग्रामको 'यम्बु' नाम नै औपचारिक रूपमा पुनः प्रचलनमा आयो । यी दुई ठाउँलाईं आजभोलि 'थःन'े र 'क्वःने' नामले पनि चिनिन्छ । काष्ठमण्डप आजभोलि दक्षिण कोलिग्राम, 'यंगल' वा 'क्वःने' इलाकाभित्र पर्दछ । एउटा ताम्रपत्रमा यस सत्तललाई 'यंग्रमण्डो' अर्थात यंगलको मण्डप भनिएको छ जुन त्यहीं टाँगिएको कोले -नाप्ने भाँडो) मा अङ्कति छ ।

लेखको थालनीमै उल्लेख गरिएको थियो, काष्ठमण्डप वास्तवमा होममण्डप हो । यस मण्डपको बीचमा अहिले पनि यस्तो सङ्केत पाइन्छ, न जसबाट यहाँ होम गरिन्थ्यो भन्ने प्रस्ट हुनआउँछ । यसलाई गोरखनाथपन्थसँग सम्वन्धित गरिए पनि ऐतिहासिक स्रोतसामग्रीहरूमा त्यसको सङ्केत नपाइँदा बीचमा रहेको गुरु गोरखनाथको भनिएको मूर्तिलगायत अन्य कुराहरू पछि मात्रै स्थापना गरिएको देखिन्छ ।

निर्माता

माथि उल्लिखित प्रमाणहरूबाट भाषावंशावलीको खण्डन हुन्छ तर भाषावंशावलीमा उल्लेख भएभन्दा अघि नै काष्ठमण्डपको निर्माण भएको भन्ने प्रमाणित गर्ने स्रोत सामग्रीहरू बाहेक कहिले, किन, कसले यसको निर्माण गराएको भन्ने कुराको स्पष्ट ऐतिहासिक स्रोत सामग्रीहरूको अभाव छ । डा. त्रिरत्न मानन्धर ने. सं. ११० मा राजा गुृणकामदेवले यसको निर्माण गराएको उल्लेख गर्छन् तर नेपालको इतिहासमा गुणकामदेव नामका दुई राजा छन् । गुणकामदेव प्रथमको राज्यकाल ई. सं. ९८०-९९० हो । एउटा छुट्टै राज्य स्थापना गरी त्यसको नाम कान्तिपुर राखिएको कुरा वंशावलीमा उल्लेख छ । कान्तिपुरमा उनले अन्य धेरै कुराहरूको पनि निर्माण गराएको हुन सके पनि काष्ठमण्डप पनि उनैले बनाएको भन्ने ऐतिहासिक स्रोतहरू भने पाइएको छैन ।

छत्रबहादुर कायस्थको भनाइमा नेपाल सम्वत २४० तिर यंगलमा राजा शिवदेवले एउटा काठको मन्दिर बनाएको र यसको नाम काष्ठमण्डप हो भन्ने उनको मत छ । कायस्थकै अनुसार यो राजाको राज्यकाल ने. सं. २१८ देखि २४६ सम्म हो । इतिहासमा लिच्छविकालका तीनजना र मध्यकालका एकजना गरी शिवदेव नामका राजाहरू चारजना छन् ।

काष्ठमण्डपको सम्वन्ध भारतको नालन्दाबाट आएका प्रख्यात तान्त्रिक आचार्य पद्मसम्भवसँग पनि जोडिएको छ । इ.सं. ७३० मा पद्मसम्भव नेपालको बाटो भई तिब्बत पुगेका थिए र नेपाल बसाईमा उनले धेरै ठाउँमा धर्म देशना गरेका थिए । उनको जीवनी पुस्तकमा यंगल -काठमाडौँ) को विशाल भवनमा बसेर पनि धर्म देशना गरेका थिए भन्ने उल्लेख भएबाट डा. कमलप्रकाश मल्ल सो विशाल भवन काष्ठमण्डप हुन सक्ने अनुमान गर्छन् । काष्ठमण्डपमा बसेर पद्मसंभवले प्रवचन दिएको मान्ने हो भने यो त्यस समयभन्दा अघि नै निर्माण भएको हुनआउँछ ।

निष्कर्ष

काष्ठमण्डप त्यस्तो समयमा बन्यो होला जुन बेला बनाउनेलाई आफ्नो कृतिका सम्वन्धमा शिलालेखहरू राख्ने चासो थिएन वा राखिएकै भए पनि नासियो वा लुप्त अवस्था छ । कुनै पनि वास्तुको निर्माण कार्य सकिएपछि त्यसको प्रतिष्ठा गर्नुपर्छ तर काष्ठमण्डपको प्रतिष्ठा हालसम्म पनि नभएको हुँदा यसको अभिलेख नराखिएको अनुमान वा तर्क गनेहरू पनि होलान् । भाषावंशावलीअनुसार जबसम्म नून र तेलको भाउ एउटै हुँदैन तबसम्म काष्ठमण्डपको प्रतिष्ठा हुनसक्दैन । प्रत्येक वर्ष माघ १ गते विधिपूर्वक पूजा गरी नुन र तेलको भाउ सुनाउने चलन रहेको भनिएपनि त्यस दिन नून र तेलको भाउ सुनाउने कार्य गरिन्न । बरु त्यस दिन काष्ठमण्डपको दक्षिणतिर रहेको अर्कै डबलीमा कर्माचार्य थरका तान्त्रिक पूजारीबाट विधिवत् होम गराइन्छ र यसको सम्पूर्ण जिम्मेवारी स्थानीय ज्यापू समुदायले पाएको छ । होम सम्पन्न भएपछि काष्ठमण्डपमा चढी ध्वज फहराइन्छ उक्त कार्यमा मानन्धर समुदायका नेवारहरूको सहायक भूमिका रहेको हुन्छ । होम गर्ने, ध्वज फहराउने र योमर्‍हीले अभिषेक गरी त्यसलाई प्रसादको रूपमा बाँड्ने परम्पराबाट बुझ्न सकिने एउटै कुरा हो- काष्ठमण्डपको प्रतिष्ठा उहिल्यै भइसकेको हो र त्यस दिन परम्परानुसार बुसादँ -वर्षबन्धन) मनाएको हो । यहीँनेर ध्यान दिनु पर्ने गम्भीर र महत्वपूर्ण अर्को कुरा के पनि रहेको छ भने, होम कार्य भइरहने बेलामा नै काष्ठमण्डपको ठीक अगाडि ज्यापू जातिले नै भेडा बली दिई भैरवको पूजा गरेको हुन्छ र समेबजि पनि बाँडिन्छ । काष्ठमण्डपमा भेडाको बली दिने र समेबजि दिने परम्पराको अर्थ खुल्न सकेको छैन ।

कल्पवृक्षले सालको रुखको बिउ दिएर गएको थियो र त्यही बिउबाट बनेको विशाल रुखको काठले बनाइएको सत्तल नै काष्ठमण्डप वा मरुसत्तल हो ।

 
अन्य शीर्षक
.
.
सहज छैनन् अगाडिका बाटा
सशक्त कविको अवशान
रोग निदानमा 'रिमोट सेन्सिङ'
दुःख पाइयो, बढी जान्ने भएर
'टिकीटाका'मा जमेको स्पेन
.
जङ्गल नमासिकनैपनि आम्दानी
लौराले नापिन्छन् वर-वधु

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home