अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
हिमताल विस्फोटको भयमा बाह्रबिसेवासी
कृष्ण अधिकारी/रासस
 

बाह्रबिसे -सिन्धुपाल्चोक, माघ ११ गते । हिमताल फुटेर ठूलो बाढी आई कतै गाउँ नै बगाएर लैजाला कि भन्ने चिन्ताले बाह्रबिसेका ७७ वषर्ीय रत्नकाजी श्रेष्ठलाई सधँै सताउने गर्दछ । पछिल्लोपटक २०४४ सालमा आएको बाढीले पाँचजनालाई बगाएको, थुप्रै घरहरू नष्ट गरेको, सयौँ बस्तुभाउ बगाएको तथा सुनकोसी जलविद्युत्गृहको बाँधमा पुर्‍याएको क्षतिको सम्झना उहाँलाई अहिले पनि ताजै छ ।

'हेर्दाहेर्दै नदीम्ाा ठूलो बाढी आयो, मानिसको भागाभाग भयो । कतिका घर गर्लम्मै बगायो, बस्तुभाउ कता हो कता ? माथिबाट रूख, काठपात, ढुङ्गामुढा बढारेर बाढी आएको थियो । मरेका सिनोहरूले कति दिन त गाउँमा दुर्गन्ध नै भयो' उहाँ ती दिन सम्झँदै भन्नुहुन्छ- 'अहिले पनि मन ढक्क फुलेर आउँछ, यो उमेरमा फेरि त्यस्तो दुःखद घटना देख्न नपरोस् ।'

यसो त २००२ सालमा लक्ष्मीपूजाको दिन आएको बाढीले बाह्रबिसेका धेरै घर बगाएको घटना होस् वा २०३८ मा आएको हिमबाढीले थुप्रै घर, बस्तुभाउ, जग्गाजमिन र राजमार्ग र पुलहरू समेत बगाएको बारेमा उहाँलाई राम्रो जानकारी छ ।

यसैगरी, फेरि पनि हिमाली क्षेत्रमा रहेका थुप्रै हिमताल फुट्ने खतरामा छन्, जुनसुकै बेला पनि विस्फोट भई धेरै बस्ती, खेतबारी बगाउन सक्छ भन्ने जानकारी भए पनि त्यसबाट कसरी बच्ने भन्नेतर्फ समुदायस्तरमा पनि अहिलेसम्म कुनै तयारी नभएको र राज्यले पनि यसतर्फ कुनै ध्यान नदिएको उहाँले बताउनुहुन्छ ।

बर्सेनि आउने बाढीले भोटेकोसी नदीको सतह झन्डै १० मिटर माथि बढेको र वषर्ायाममा बाढीको भयले स्थानीयवासी घर छोडेर माथि जङ्गलतिर भाग्ने गरेको बताउँछन् । २०५६ सालमा नदीम्ाा डोजर लगाएर पानीको सतह केही घटाए पनि अहिले पुरिएर फेरि उस्तै बनाएको छ ।

'नेताहरूले चुनावको बेला अनेक आश्वासन त दिन्छन् तर काम केही हुँदैन । बाढीले कतिबेला बगाउने हो भन्ने चिन्ताले हामीलाई छोडेको छैन' स्थानीय भगवती थापाले गुनासो गर्नुभयो ।

गरिबी, सामाजिक पछौटेपन तथा चेतनाको अभावका कारण भोटेकोसी नदी किनारमा मानिसको बस्ती बाक्लो रहेको छ । २०४४ सालमा आएको जस्तै ठूलो बाढी आएमा भोटेकोसी नदी किनारका बस्तीहरू सुकुटे, बलेफी, खाडीचौर, लामोसाँघु, बाह्रबिसे, साखुवा, चाकु, हिन्दी, तातोपानी र लिपिङ गाउँमा ठूलो जनधनको क्षति हुनुका साथै थुप्रै भौतिक संरचना र खेतीयोग्य जमिन बगाउने इसिमोडको अध्ययनले देखाएको छ । हाल यस क्षेत्रमा त्यतिबेलाको जस्तो बाढी आएमा करिब नौ सय घरका करिब पाँच हजार आठ सय जनसङ्ख्या प्रत्यक्ष प्रभावित हुनेछन् भने त्यसमा थप १० मिटर बढी बाढी आयो भने एक हजार ६५३ घरका १० हजार जनसङ्ख्या विस्थापित हुनसक्ने देखिन्छ । यसबाट १५९ देखि १९७ लाख अमेरिकी डलरभन्दा बढीको नोक्सानी हुने बताइएको छ ।

यस किसिमको सम्भावित बाढीबाट नेपाल-चीन मितेरी पुलदेखि दोलालघाटसम्मको २० किमि अरनिको राजमार्गमा क्षति पुग्नुका साथै खाडीचौर, बाह्रबिसेको पुल तथा सुनकोसी र भोटेकोसी जलविद्युत् आयोजनाका बाँधस्थल पनि भत्काउने खतरा रहेको छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र

-इसिमोड) ले जलवायु परिवर्तनका कारण हिन्दकुश हिमालय क्षेत्रमा २०० भन्दा बढी हिमताल विस्फोटको खतरामा रहेको जनाएको छ । तीमध्ये नेपालमा मात्रै २० वटा ताल रहेका छन् । विगतमा भएका २४ वटा ठूला हिम बाढीहरूमध्ये १४ वटा नेपालमा र १० वटा तिब्बती क्षेत्रबाट आएको थियो ।

२०४४ सालमा भोटेकोसीमा आएको हिमबाढीले तातोपानी र कोदारीमा पाँचजनाको मृत्यु भएको थियो भने १९१ जना घाइते, ४१ घर बगाएको, ४७ घर नष्ट भएको, दुईवटा पक्की पुल भत्काएको र १० वटा साना पुल तथा थुप्रै पानीघट्ट बगाएको थियो । अरनिको राजमार्गको लामोसाँघु-कोदारी खण्डका थुप्रै कल्भर्टहरू बगाउँदा करिब २७ किमी सडक बिग्रन गई एक महिनाभन्दा बढी समय यातायात सुचारु हुन सकेको थिएन ।

सो बाढीले सुनकोसी जलविद्युत् आयोजनाको बाँध भत्काउनुका साथै लामोसँघु-बाह्रबिसेको प्रसारण लाइन बिग्रँदा एक महिना विद्युत् आपूर्ति बन्द भएको थियो ।

प्रतिसेकेण्ड तीन हजार तीन सय घनमिटरका दरले आएको सो बाढीले करिब नौ सय घरपरिवारका बासिन्दा प्रत्यक्ष प्रभावित भएका थिए भने ३० लाख अमेरिकी डलर बराबरको क्षति भएको थियो ।

सन् १९३५ मा तिब्बतको तारा को ताल विस्फोट भई आएको बाढीले मानवीय क्षति नगरे पनि नदी किनारका थुप्रै खेतबारी, पुलपुलेसा तथा बस्तुभाउ बगाएको थियो ।

सन् १९६४ मा झाङझाङग्वो ताल विस्फोट हुँदा पनि ठूलो नोक्सान भएको थियो ।

त्यसबाहेक, सन् १९८७ जुन ३० मा आएको बाढीले अरनिको राजमार्गको ठाउँठाउँमा क्षति भएको थियो । सन् १९९६ जुलाई २२ मा आएको अर्को बाढीबाट ५४ जनाको मृत्यु भएको थियो भने २२ घर बगाएको थियो ।

हिमबाढीको उच्च जोखिममा रहेको यस नदी किनारामा मानव बस्ती बस्ने क्रमलाई रोक्नु आवश्यक भएको स्थानीय ग्रामीण विकास संस्थाका शम्भु सापकोटा बताउनुहुन्छ- 'यसका लागि सरकारले घर निर्माणसम्बन्धी आचारसंहिता कडाइका साथ लागू गर्नुपर्छ र विद्यालय, विद्युत् आयोजनाहरूजस्त्ाा विकास निर्माणका कामहरू गर्दा पनि ध्यान दिनुपर्छ ।'

सम्भावित बाढीबाट बच्न विभिन्न ठाउँमा आकस्मिक सूचना घन्टीहरू -साइरन) राखिएको भए पनि त्यसबारे स्थानीयवासी अनभिज्ञ रहेको बताउँछन् । 'खै बर्सेनि जलवायु तथा मौसम विज्ञान विभागले आएर नदीमा पानीको सतह नाप्ने गर्दछ तर त्यसबारेमा हामीलाई केही बताएको छैन' स्थानीय विष्णुभक्त श्रेष्ठले भन्नुभयो- 'यसरी हामीलाई थाहै नदिई काठमाडौँमा बसेर बनाउने रिपोर्टबाट हामीले के आश गर्ने, हामी वषर्ायाम लाग्न सुरु गरेदेखि कतिबेला मरिने हो भन्ने चिन्तामा हुन्छौँ ।'

विगतमा इम्जा, च्छोरोल्पाजस्त्ाा केही हिमतालको असामान्य वृद्धि भएको र डिग चो, छोबुङजस्त्ाा हिमताल विस्फोट भइसकेको अवस्थामा यहाँका हिमतालहरूको बारेमा स्थानीयवासीलाई सचेत गराउनेतर्फ इसिमोडले ध्यान दिएको बताउनुहुन्छ सो संस्थाका वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ डा. अरुणभक्त श्रेष्ठ ।

हिमक्षेत्र, हिमनदी तथा हिमतालसम्बन्धी पूर्व जानकारीबारे स्थानीयवासी, सञ्चारकर्मी तथा नीतिनिर्मातासम्म पुर्‍याउन सकिएमा यस क्षेत्रमा हिमताल विस्फोटको बाढीबाट हुने क्षतिको पूर्वसावधानी अपनाउन, पूर्वतयारी गर्न तथा रोकथामका उपायहरू अपनाई क्षति न्यूनीकरण गर्न सकिने उहाँको भनाइ छ ।

पृथ्वीको तापक्रम वृद्धिसँगै हाम्रा हिमनदीहरू पग्लने क्रममा तीव्रता आउँदा हिमतालहरू बढ्न गई विस्फोट हुने क्रम बढ्न थालेको छ ।

यसले जतिबेला पनि ठूलो प्राकृतिक विपत्ति ल्याउने खतरा बढाएको छ तर त्यसबाट कसरी बच्न सकिन्छ भन्नेतर्फ स्थानीयवासीमा आवश्यक सूचना र जानकारीको अभावका कारण सानो विपत्तिबाट पनि ठूलो क्षति हुने हुँदा त्यसतर्फ सम्बन्धित निकायको समयमै ध्यान जानु जरुरी देखिन्छ ।

 

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home