काठमाडौँ, माघ २३ गते। महिला अधिकारकर्मीहरूले असमान शक्तिकै कारण महिलामाथि हिंसा बढेको आरोप लगाउनुभएको छ।
'नाई भनौँ, न्याय गरौँ', नारासहितको १०० दिने अभियानको सोमबार यहाँ आयोजित समीक्षात्मक कार्यक्रममा अधिकारकर्मीहरूले राज्यको महिलाप्रति हेर्ने प्रवृत्तिमा अझै सकारात्मकपन नआएकाले समस्या समाधान हुन नसकेको बताउनुभयो। महिलामाथिको हिंसा पुरुषकै कारणले मात्र नभई महिलाकै कारण महिलाहरू प्रताडित हुनुपरेको ठहर अधिकारकर्मीको छ।
अधिकारकर्मी तथा आरेक संस्थाकी अध्यक्ष डा. रेणु राजभण्डारीले महिलाको चेतना वृद्धिसँगै पुरुष केन्दि्रत अभियान सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो। महिलाहरूको मौनता तोड्न नसकेर पनि हिंसाका घटना बढिरहेको चर्चा गर्दै भण्डारीले अहिलेको प्रमुख लडाइँ पुरुषोत्व प्रवृत्तिविरुद्धको लडाइँ हो भन्नुभयो।
सञ्चारिका समूहकी उपाध्यक्ष निर्मला शर्माले महिलाका केही घटनाका समाचार सम्प्रेषण भए पनि महिला हिंसा केन्दि्रत समाचार सम्प्रेषण हुन नसकेको बताउनुभयो। क्रियाशील महिला पत्रकार समाजकी उपाध्यक्ष सुभेच्छा विन्दुले महिला हिंसाको मुद्दा महिलाको मात्र मुद्दा नभइ सामाजिक मुद्दा भएकाले सबै एक भएर यसको विरुद्धमा लाग्नुपर्ने विचार राख्नुभयो।
महिला मानवअधिकार रक्षक राष्ट्रिय सञ्जालको आयोजनामा भएको कार्यक्रममा डिसेम्बर १५ देखि सुरु भएको १०० दिने अभियानको समीक्षा तथा भावी कार्ययोजनाका बारेमा छलफल भएको थियो। अभियान मार्च २१, २०१२ सम्म सञ्चालन रहने आयोजकले बताएको छ।