नेपालको राजनीतिक इतिहासलाई हेर्दा विभिन्न वंशका राजाहरूले राज गरेको पाइन्छ। यसमा क्रमशः गोपाल तथा महिषपाल, किराँत, लिच्छवि, मल्ल र अन्त्यमा शाहवंशहरू रहेका छन्। यसरी प्राचीनकालमा राज गरेका भनिएका गोपाल तथा महिषपालका खासै लामो इतिहास देखिँदैन। धेरै समयसम्म राज गरेको देखिने किराँतहरूको इतिहास लामो भए पनि ऐतिहासिक खोजी भने भएको छैन। यसपछिका अन्य वंशका राजाहरू लिच्छवि, मल्ल, शाहहरूको भने ऐतिहासिक कुराहरू संरक्षित अवस्थामा रहेका छन्।
खासगरी प्राचीनकालमा नेपालको इतिहास गोपाल तथा महिषपाल वंशबाट सुरुवात भएको देखिए पनि विभिन्न प्रमाणका आधारमा राजनीतिक तथा सांस्कृतिक रूपबाट किराँतकाललाई नै इतिहासको आरम्भ भएको मानिएको पाइन्छ। देशी विदेशी ग्रन्थकारहरूका साहित्यिक वर्णनमा नेपाल उपत्यकाभित्र तत्कालीन समयमा राज्य गर्ने किराँत राजाहरूको सङ्ख्या २८-३३ पिँढी र उनीहरूको शासन अवधि पनि एक हजारदेखि एक हजार ९०० वर्षको हाराहारीमा उल्लेख भएको पाइन्छ। सबै ग्रन्थकारको विवरणमा राजाहरूको सङ्ख्या, नामावली र शासन अवधिका बारेमा भने मतैक्य पाइँदैन। समग्रमा हेर्दा आजम्म पाइएको विवरण अनुसार किराँत राजाहरूको नामावली, सङ्ख्या र शासन अवधिका बारेमा गोपाल राजवंशावली अनुसार किराँतका प्रथम राजा श्रीएलम् र र ३२ औं राजा श्रीखिगु गरी जम्मा ३२ पुस्ताका राजाहरूको शासन अवधि जम्मा एक हजार ९६३ वर्ष ८ महिना देखिन्छ। त्यस्तै भाषावंशावली अनुसार पहिलो किराँत राजा श्रीयलम्बर भोग वर्ष ९० र अन्तिम राजा गलिज भोगवर्ष ८१ समेत जम्मा २८ राजाहरू र उनीहरूको शासन अवधि एक हजार ७४० वर्ष ३ महिना पाइन्छ। त्यसैगरी योगी नरहरिनाथको विवरण अनुसार पहिलो राजा श्रीएलमवर्ष ९० र अन्तिम राजा श्रीखिगु वर्ष ८५ गरी ३२ राजा र शासन अवधि एक हजार ८६३ वर्ष ८ महिना र स्वामी प्रपन्नाचार्यको विवरण अनुसार पहिलो राजा श्री यलम्बर र अन्तिम राजा वैजसमेत २८ राजाले र जम्मा एक हजार ७३६ वर्ष शासन गरेको उल्लेख छ।
त्यस्तै लीलाभक्त मुनंकर्मीले किराँत शासन र राजाहरूको बारेमा पहिलो र दोस्रो वंशावली भनेर दुईवटा विवरण दिएका छन्। यस अनुसार पहिलो वंशावलीमा राजाहरूको सङ्ख्या २८ र शासन अवधि एक हजार ६० वर्ष र दोस्रो वंशावलीमा राजाको सङ्ख्या २७ र राज्य व्यवस्थाको अवधि एक हजार ६३६ वर्ष १० महिना उल्लेख गरेका छन्। यसैगरी विदेशी लेखकहरूमा कर्कपेटि्रकका अनुसार पहिलो राजा यलुङ् ९० वर्ष ३ महिना र अन्तिम राजा गलिजंग ८१ वर्ष गरी जम्मा २८ राजा र शासन अवधि एक हजार ५८१ वर्ष १ महिना, के. पी. जयसवालका अनुसार ३२ राजा भएको भनिए पनि ३० जनाको मात्र नामावली र शासन अवधि ७०० वर्ष, डेनियल राइटका अनुसार प्रथम राजा यलम्बर र अन्तिम राजा गस्ती गरी जम्मा २९ जना राजाको नामावली उल्लेख गरे पनि शासन अवधिका बारेमा भने यलम्बरको मात्र १३ वर्ष उल्लेख भएको छतर उनले अन्यका बारेमा केही उल्लेख गरेका छैनन्। यस प्रकारले किराँत राज्य व्यवस्थाका बारेमा धेरैले धेरै प्रकारका विवरण दिएका छन्।
यसरी प्राचीन कालमा किराँतहरूले नेपालको राजनीतिक इतिहासमा लामो समयसम्म राज्य व्यवस्था सञ्चालन गरी राजनीतिक, सांस्कृतिक, सामाजिक क्षेत्रमा योगदान पुर्याएको भए पनि यो जातिको इतिहासका बारेमा वैज्ञानिक अनुसन्धान भने हुन बाँकी नै रहेको अवस्था छ। यसरी अनुसन्धानको अभावमा आजसम्म यो वंशका बारेमा ऐतिहासिक प्रमाण देखिएका छैनन्। यही कारण किराँतहरूको इतिहास ओझेलमा परेको छ। यति मात्र होइन कतिपय व्यक्तिले समय समयमा किराँतहरूको इतिहास मेटाउने प्रकारका भ्रामक अभिव्यक्ति दिने गरेको पाइन्छ।
लामो समयसम्म राज्य व्यवस्था सञ्चालन गरी देशमा राजनीतिक, सांस्कृतिक, सामाजिक तथा न्यायिक संरचना खडा गरी योगदान पुराएका किराँतका बारे आजसम्म ऐतिहासिक खोजी हुन नसक्नु दुःखलाग्दो विषय हो। इतिहासको खोजी गरी त्यसलाई लोप हुनबाट जोगाएर संरक्षण गर्नु राज्य पक्षको दायित्व हो तर राज्यपक्ष यस बारेमा मौन रहेको देखिन्छ। त्यसैले विगतमा जे भएको भए पनि आजको लोकतान्त्रिक प्रणालीको सरकारले किराँत इतिहासका बारेमा बृहत् योजना तयार गरी अनुसन्धान गर्नुपर्ने देखिन्छ। यसका लागि शिक्षा तथा संस्कृति मन्त्रालय, पुरातत्व विभाग, आदिवासी जनजाति उत्थान प्रतिष्ठान, किराँती संस्थाहरूमा किराँत राई यायोक्खा, किराँत याक्खा छुम्मा, किराँत याक्थुङ, किराँत सुनुवार समाज, आदिवासी जनजाति महासङ्घ जस्ता सरकारी तथा गैर सरकारी निकायले संयुक्त पहलमा कार्य गर्नु आवश्यक छ। काठमाडौं उपत्यका, उपत्यका बाहिर र विदेशी भूमिमा समेत गरी तीन चरणमा खोजी गरिनु राम्रो हुनेछ। उपत्यकाभित्र पशुपति क्षेत्र वरिपरि, पाटन, साँखु प्रमुख रूपमा रहेका छन् भने उपत्यका बाहिर पूर्वको खोटाङ, भोजपुर, ओखलढुङ्गा, सुनसरी, मोरङ लगायतका क्षेत्रहरू र पश्चिमतिर कैलाली, कञ्चनपुर, डोटी लगायतका क्षेत्रलाई लिन सकिन्छ। विदेशी भूमिको हकमा पाकिस्तान, भारत, भुटान, बर्मासमेतमा खोजी हुनुपर्दछ। किनभने प्राचीन ग्रन्थ वेद, पुराण, रामायण, महाभारत लगायतका इतिहासमा किराँत बारे दिएको विवरणमा उल्लिखित देशहरू पनि किराँतसँग सम्बन्धित भएको पाइएका छन्। यस्तै कतिपय ग्रन्थकारले प्राचीनकालमा किराँतहरू हिमालय -नेपाल, कुमाउँ, गढवाल, जालन्धर र कश्मिर)को दक्षिण समुद्रसम्म, पश्चिम पाकिस्तानको तप्तकुण्डदेखि पूर्व बर्मासम्म बसोबास रहेको उल्लेख छ।
किराँतहरूका बारेमा राज्य पक्ष र गैर सरकारी संस्थाहरू मिलेर बृहत रूपमा अनुसन्धान गरिएन भने तथ्य बाहिर आउन गाह्रो छ किनभने कुनै व्यक्ति वा एउटा संस्थाले पूर्ण अनुसन्धान गर्न सम्भव देखिँदैन। यसबाट राज्यको प्राचीन इतिहासको लामो कालखण्ड अन्धकार हुनेछ। मुलुकले इतिहास नै गुमाउनेछ र किराँत भनिएका जाति पनि एक दिन इतिहास बिनाका हुनेछन्। á