काठमाडौँ, चैत १८ गते। नेपाली भाषाको वर्णविन्यासका सम्बन्धमा केही समयदेखि देखिएको विवादका सम्बन्धमा सम्बन्धित नियकाहरूको मौनताप्रति प्रश्न उठाउँदै नेपाली भाषा शिक्षक समाजलेे ती निकायहरूलाई मौनता चिर्दै अन्योल हटाउन ध्यानाकर्षण गराएको छ।
समाजका अध्यक्ष दामोदर ढुङ्गानाले शुक्रबार एक विज्ञप्ति जारी गरी परिवर्तित वर्णविन्यासलाई पछ्याएर अगाडि बढेका त्रिभुवन विश्वविद्यालय, नेपाल प्रज्ञाप्रतिष्ठान, पाठ्यक्रम विकास केन्द्र, उच्च माध्यमिक शिक्षा परिषद्जस्ता संस्थाहरूसँग परामर्श गर्न पनि माग गर्नुभएको छ।
विज्ञप्तिमा उल्लेख भनिएको छ- एकातर्फ नेपाली भाषाको पठनपाठनका निकायहरू भाषाका नियम परिवर्तन गर्दै अध्ययन र अध्यापन गर्ने अनि अर्कातर्फ स्थापित लेखकहरूले पुरानो नियमको वकालत गर्ने परिपाटीले नेपाली भाषाका सामान्य पाठक, लेखक तथा प्रशिक्षक र विद्यार्थीमा छाएको अन्योलप्रति नेपाली भाषा शिक्षक समाजको गम्भीर ध्यानाकर्षण भएको छ।
नेपाली भाषाका केही विद्वान्द्वारा 'ललितपुर घोषणापत्र' का माध्यमबाट व्यक्त विचारहरू अहिलेको परिवर्तनभन्दा पनि नेपाली भाषाको आधिकारिक शब्दकोश 'नेपाली बृहत् शब्दकोश' मा स्थापित मान्यताका विपरीत रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ- व्यक्तिविशेषका अभिरुचि आआ
ˆनै होलान् तर व्यक्ति वा समूहको रुचिका आधारमा भाषिक नियमहरू पछ्याउँदै अगाडि बढ्ने हो भने भाषा दुर्घटित नहोला भन्न सकिन्न।
भाषाका नियम आधिकारिक र मानक हुनुपर्ने र भाषाका प्रयोक्ताहरूमा एकरूपता हुनुपर्ने ठम्याइ पनि नेपाली भाषा शिक्षक समाजको रहेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ- परामर्श गरी उपयुक्त निकास निकाल्नुपर्नेमा दशक अगाडिको परिवर्तनभन्दा पुरानो मान्यतालाई अँगाल्न खोज्नु पक्कै पनि उपयुक्त हुन सक्दैन। साथै यस्तो परिस्थितिमा नेपाली भाषाका परिवर्तित नियमलाई आत्मसात् गरेर अगाडि बढेका संस्थाहरूले मौनतालाई चिर्दै अन्योल हटाउन आवश्यक पहलका निम्ति समाज ध्यानाकर्षण गराउन चाहन्छ।
समाजले नेपाली भाषाका प्रयोक्ता र प्रशिक्षकहरूमा उत्पन्न अन्योल हटाउन, सम्बन्धित निकाय, विद्वान् लेखक, प्रकाशक संस्था आदि सबै पक्षले व्यक्तिगत डम्फु नबजाई भाषाको संरक्षण र बढोत्तरीतर्फ ध्यान केन्दि्रत गर्न पनि अनुरोध गरेको छ।