बजारमा खाना पकाउने एल.पी. ग्यासको कालोबजारी भइरहेकाले सर्वसुलभ बन्न नसकेको यथार्थ थप प्रमाणित भएको छ। ग्यासको कृत्रिम अभाव तेस्र्याई उपभोक्ताको ढन्डेसो खुस्काउन पल्किएका व्यापारीलाई वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट स्वयंले फेला पार्नुभएको हो। काठमाडौँको शान्तिनगरस्थित जीवनाथ थपलियासँग अपरिचित व्यक्ति बनेर आपूर्ति मन्त्री भट्टले ग्यास लिन खोज्दा सुरुमा दिन नमानेको तर एक सिलिन्डर ग्यासको चार हजार ५०० रूपियाँ तिर्न राजी भएपछि स्वीकारोक्ति जनाएको खबर रोचक मात्र होइन, घोचकसमेत छ। बजार कतिसम्म भ्रष्ट भइसकेको रहेछ ? बुझ्न योभन्दा अर्को सबल प्रमाण खोजिरहनु पर्दैन। ग्यासको अभाव जनाई भित्रभित्रै बढी मोल लिएर रातारात धनाढ्य हुन चाहने व्यापारी केवल जीवनाथ एकमात्र नभएकामा दुईमत रहँदैन। नयाँ वानेश्वर प्रहरी प्रभागले थालेको अनुसन्धानबाट व्यापारी जीवनाथसँग नारिएका अन्य पक्ष पनि सार्वजनिक होलान् नै तर मूल कुरो व्यक्तिविशेष पक्राउ पर्नु वा व्यक्तिविशेषको कालोबजारीको पर्दाफास हुनुमात्र होइन, मुलुकमा व्याप्त कालोबजारीलाई कसरी सधैँका लागि अन्त्य गर्नसकिन्छ, त्यतातिर सरोकारी पक्ष गम्भीर एवं इमानदार हुनैपर्छ। कृत्रिम अभाव तेस्र्याएर बढी मोल लिने व्यापारीमा ग्यासबिक्रेता मात्रै छैनन्, बेलाबखत पेट्रोलियम पदार्थ, चिनी, नुन जस्ता सामग्रीमा समेत यसको विद्रूप देख्दै आइएको छ। बजारको वास्तविकता बुझ्न मन्त्री भट्ट आफै अग्रसर हुनुलाई साधुवादको विषय भने मान्नुपर्छ। यसअघि पनि ग्यास प्लान्टमा गएर उहाँले वस्तुस्थिति अवलोकन गर्नुभएको र सम्बद्ध पक्षलाई कारबाहीको घेरामा लिनुभएको यथार्थ बिर्सन मिल्दैन। वर्तमान सरकार गठन भएयता उपभोक्ता हितका दिशामा विभिन्न काम भएका छन्। कुहिएका, कीरा परेका खुवाबाट बनाइने मिठाई, गुँदपाक, गुणस्तरहीन दूध तथा दुग्धजन्य पदार्थ, बोसोमिश्रति घिउ र अस्वस्थ माछामासुबारे गहिरो निगरानी भएको मान्नैपर्छ तर यस काममा निरन्तरता नरहनु चाहिँ दुःखद पक्ष बनेको छ।
दसैँ, तिहारताका देखाइएको सक्रियताबाट आम उपभोक्ता निकै उत्साहित थिए। सीमित जनशक्ति र सानो बजेटको परिधिमा रहेर पनि समन्वयात्मक प्रयासद्वारा सम्बद्ध निकायले जे जस्तो सक्रियता देखाए, त्यसलाई जनसाधारणले बिर्सिएका छैनन्। सम्बन्धित निकायको अग्रसारिताबाट मिसाबटखोर, नाफाखोर व्यापारी झस्किएका पनि हुन् तर पछिल्ला समयमा तिनले पुनः टाउको उठाउन थालेको उदाहरण मन्त्री भट्ट स्वयंको अनुभूतिले प्रस्ट्याएको छ। बजार अनुगमनको कार्यलाई मौसमी बनाइन्जेल परिणाम हासिल हुन नसक्ने भएकाले सक्रियतामा निरन्तरता जरुरी बनेको छ। नियमित अनुगमनको परिपाटी बसेका खण्डमा अवाञ्छनीय प्रवृत्ति स्वतः पाखा लाग्दै जानेछ। रातारात बजार सुध्रने अवस्था भने छैन। व्यापक अनियमितता र अराजकताको भुमरीमा रहेको बजारलाई क्रमिक आधारमा मात्र सुधार्नसकिन्छ। यस दिशामा सम्बन्धित निकाय सामूहिक प्रतिबद्धताका साथ अग्रसर हुने हो भने कालाबजारिया, नाफाखोर तथा मिसाबाटखोर निरूत्साहित बन्दै जानेछन्। गलत धन्दा मच्चाउनेलाई सम्बद्ध निकायकै कर्मचारीले जोगाउने गरेको आरोप पनि छ। उपभोक्ताको स्वास्थ्यलाई हानि पुर्याउने, घातक साबित हुने वस्तु बेचबिखन गर्नेमाथिसमेत कडा कारबाही नहुनुले आशङ्कालाई बल गरेको छ। विगतमा समातिएका ठग व्यापारीमाथि कडा कारबाही भएका खबर सार्वजनिक सूचनामा नआउनुले पनि शङ्कालाई मौका दिएको हो। विष्फोटक 'बम'भन्दा खतरनाक चुहिने सिलिन्डर अथवा गुणस्तरहीन सिलिन्डरमा ग्यास बेच्नेलाई समेत कारबाही नहुनुले शुभ सङ्केत गरेको छैन। आँटी छोरालाई बाघले खान नसक्ने नेपाली आहान हृदयङ्गम गरी ठूलो आँट र साहसका साथ सम्बन्धित पदाधिकारी जुमुर्किनैपर्छ। चिरप्रतीक्षित उपभोक्तामुखी सद्कार्यमा तमाम तह र तप्काले अवश्य सघाउनेछन्। सच्चा व्यापारी, उद्यमी, व्यवसायीको समेत साथ रहने भएकाले सरोकारी निकाय जाग्नैपर्छ। अन्यथा निरीह, असचेत, आम उपभोक्ताको कल्याण छैन।