काठमाडौँ, चैत २५ गते। नेकपा एमाले अध्यक्ष झलानाथ खनालले शान्तिप्रक्रिया र संविधान निर्माण पूरा नभएसम्म राजधानी नछाड्ने प्रतिबद्धता गर्नुभएको छ।
टेलिफोनमार्फत शान्तिप्रक्रिया र संविधान निर्माणसम्बन्धी सुझाव लिन सुरु गरेका अध्यक्ष खनालले मुस्ताङवासीसँग शनिबारको कुराकानीमा यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। टेलिफोन कुराकानीमा एमाले मुस्ताङका अध्यक्ष चन्द्रमोहन गौचनले शान्तिप्रक्रिया र संविधान लेखनको महìवपूर्ण जिम्मेवारी छाडेर राजधानी बाहिर नजान अध्यक्ष खनाललाई आग्रह गरेपछि उहाँले यस्तो प्रतिबद्धता व्यक्त
गर्नुभएको हो।
नेकपा -एमाले) संसदीय दलले नेता तथा सभासद्हरूलाई काठमाडौँ उपत्यका नछाड्न हृविप जारी गरेको भोलिपल्ट भारत भ्रमणमा गएको भनेर आलोचित अध्यक्ष खनालले प्रमुख दलका शीर्ष नेताहरू जनदबाबको बेवास्ता गरी राजधानीबाहिर जाँदा शान्ति र संविधान निर्माणकार्यमा असर परेको बताउनुभयो।
टेलिफोन कुराकानीका क्रममा नेपाली काँगे्रस मुस्ताङका जिल्ला नेता आनन्द शेरचनले प्रमुख दलहरू मिलेर जनताको भावनाअनुसार नयाँ संविधान बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले शान्तिप्रक्रिया अल्झाउने र संविधान नलेख्ने माओवादीको जालझेलबाट दुवै पार्टी सतर्क रहन सुझाव दिनुभयो।
नागरिक अगुवा रामचन्द्र अधिकारीले विगतमा भएका सहमतिहरू इमानदारीपूर्वक कार्यान्वयन भए समस्या समाधान हुने धारणा व्यक्त गर्नुभयो।
मुस्ताङवासीको सुझाव सुनेपछि अध्यक्ष खनालले निर्धारित समयमै शान्तिप्रक्रिया र संविधान निर्माणका लागि अन्य दलका नेताहरूलाई पनि दबाब दिन आग्रह गर्नुभयो।
"जेठ १४ मा संविधान नबने के गर्नुहुन्छ ?" भन्ने मुस्ताङवासीको प्रश्नमा अध्यक्ष खनालले भन्नुभयो, "त्यस्तो सङ्कट आए 'महाविनाश र अन्धकार' को बाटोमा मुलुक जानसक्छ तर अहिले नै त्यतातर्फ नसोचौँ।"
उहाँले जेठ १४ भित्रै संविधान जारी गरी समुन्नत नयाँ नेपाल निर्माण गर्नुको कुनै विकल्प मुलुकसामु नरहेको बताउनुभयो।