अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
विचार/विवेचना
 
पशुपतिनाथका भट्ट, भण्डारी र भेटीघाटी
गणेश अधिकारी
 

आज चैत २६ गते २०६८ सालको दिन भगवान् पशुपतिनाथको इतिहासमै एउटा महत्त्वपूर्ण दिन सावित भएको छ। राजा गीर्वाणयुद्ध विक्रम शाहको पालादेखि अर्थात् विसं १८६७ देखि सुरु भएको पशुपतिनाथको भेटीघाटीको सार्वजनिकीकरण गरेर पशुपति क्षेत्रकै विकासमा लगाउने मुद्दाले २०१ वर्षपछि किनारा पाएको छ। विगत दुई शताब्दीसम्म यो भेटीघाटी सार्वजनिक नगरेर विशुद्ध रूपमा भट्टपुजारी र पशुपतिकै सेवक भण्डारीहरूको खल्तीमा व्यक्तिगत रूपमा जाने परम्परा थियो। यस परम्परालाई तोडेर समस्त नेपालीले मात्र होइन विश्वभरिकै तमाम हिन्दूले चाहेको कुरा आज दुई शताब्दीपछि आएर सम्मानित सर्वोच्च अदालतको एउटा निर्णयले "मन्दिर तथा पूजा व्यवस्था नियमावली २०६८ लागू गर्ने बाटो खोलिदिएपछि यो ऐतिहासिक अवसर प्राप्त भएको छ। नेपाल सरकारले नियमावली पास गरेको खबर र सम्पादकीयसमेत यसै राष्ट्रिय दैनिकमा छापिएको कुरालाई आधार मानेर एकजना विद्वान् वकिलले विगत २०० वर्षकै इतिहास कायम राखिपाउनका लागि सम्मानित सर्वोच्च अदालतमा 'स्टे-अर्डर'को याचना लिएर गएका भए पनि सम्मानित अदालतबाट सो नभएपछि भगवान् पशुपतिनाथले न्याय पाएका छन्।

पशुपतिक्षेत्र विकास कोष परिषद् बैठकले यो नियमावली तयार गर्न सो कोषका वर्तमान सदस्य सचिव सुशील नाहाटाको संयोजकत्वमा एउटा उपसमिति बनाएको थियो। यो उपसमितिले तयार गरेको मन्दिर तथा पूजा व्यवस्था नियमावली मिति २०६८ फागुन २ गते परिषद् बैठकमा पेस भयो। नियमावलीले पनि पङ्क्तिकारकै संयोजनमा २०६५ सालमा बनेको नियमावली निर्माण उपसमितिले बनाएर नेपाल सरकारबाट स्वीकृतसमेत गराई कार्यान्वयनमा ल्याएको -पछि रोक लगाइएको) "पशुपतिक्षेत्र विकास कोष कार्यव्यवस्था नियमावली २०६६ लाई नै आधार मानेको देखियो तर यसले अधिल्लो नियमावलीको नियम १२ को "भट्टका लागि चाहिने योग्यता"को '-क)' मा रहेको "नेपाली नागरिक वा परम्परा अनुसार नियुक्ति पाउन सक्ने व्यक्ति" भन्ने वाक्यांशलाई हटाइदिएको पाइयो। वर्तमान नियमावली अथवा मन्दिर तथा पूजा व्यवस्था नियमावलीको नियम १५ को "भट्टका लागि चाहिने योग्यता"को '-क)' मै "परम्परा अनुसार भट्टका रूपमा नियुक्त हुनसक्ने शैवमार्गी त्रिलिङ्गा द्रविड ब्राहृमण" राखियो।

यसै विषयलाई लिएर सो बैठकमा गरमागरम छलफल भयो। पङ्क्तिकार बाहेक अन्य उपस्थित सदस्यको राय अनुसार बैठकले नियमावलीलाई पारित गरेर स्वीकृतिका लागि नेपाल सरकारमा बुझाउने निर्णय हुने देखेपछि सो निर्णयप्रति असहमति जनाउँदै पंक्तिकारले माइन्युटमा "नोट अफ डिसेन्ट" लेख्नुपर्ने बाध्यता भयो।

तर पङ्क्तिकारको मनसाय नियमावली लागू नहोस् भन्ने कदापि थिएन। कारण यो नियमावलीको एउटा सबैभन्दा ठूलो विशेषता के रहेको थियो भने यसको निर्माण गर्ने उपसमितिमा अन्यका अतिरिक्त स्वयं मूलभट्ट महाबलेश्वर र चारै कवलका भण्डारीका प्रतिनिधि शिवशरण भण्डारीसमेत रहेर नियमावलीको मस्यौदामा हस्ताक्षर गर्नुभएको थियो। अघिल्लोपटक पङ्क्तिकारको संयोजकत्वमा बनेको उपसमितिमा यो कुराको त्रुटि रहन गएको थियो। त्यसको दाँजोमा यो नियमावलीको निर्माण उपसमितिमा भेटीघाटीका आजसम्मका सरोकारवालालाई समेत राखेर अघिल्लोभन्दा केही बढी प्रजातान्त्रिक विधि अपनाइएको थियो। सरोकारवालाले नै हस्ताक्षर गरिसकेपछि 'पशुपतिनाथको भेटीघाटी आज उप्रान्तदेखि हामी छुँदैनौँ र सो पशुपतिक्षेत्र विकास कोषको ढुकुटीमा जाओस् र हामी नियमावली अनुसार तलब लिएर काम गर्छौ' भन्ने अर्थ हुन्थ्यो र हुन्छ।

पङ्क्तिकारले सो नोट अफ डिसेन्टमार्फत पशुपतिमा नेपाली नागरिक ब्राहृमणले पुजारी भएर पूजा गर्ने अधिकार सुरक्षित गर्न खोजेकै हो। कारण आजसम्म पशुपतिमा पुजा गर्ने पुजारी भट्ट भनेका नेपाली नागरिक होइनन्। तिनीहरू भ्ाारतीय नागरिक हुन्। यो कुरामा धर्मको नाममा कसैले द्विविधा लिनुपर्ने कुरा छैन। कुरा यति मात्र हो कि भारतको विन्ध्याचल पर्वतभन्दा दक्षिणतर्फका शैवमार्गी त्रिलङ्गा शुक्ल यजुर्वेदी द्राविड ब्राहृमणहरू ल्याएर पशुपतिको पूजा गराउने परम्परा आजभन्दा करिब १४ सय वर्ष अघिदेखि चल्दै आएको छ। जिरो बराबरको राजकीय अधिकार अथवा यसो भनौं आफैंँलाई फाँसीसम्म दिने विधेयकमा हस्ताक्षर गर्न बाध्य भएको राजतन्त्रलाई बेलायतले एउटा 'सो पिस' को रूपमा त्यो परम्परालाई धान्दै आएको छ। यस दृष्टिले पशुपतिमा भारतीय भट्टको पुजारी परम्परालाई हामी नेपालीले नयाँ रूप पनि दिन सक्छौं। तर त्यो नयाँ रूप दिने अधिकार नेपाल र केवल नेपालको हो अरु कसैको होइन। फेरि नेपालमा त्रिलङ्गा द्राविड ब्राहृमणको कमी छैन। -आजभन्दा दसौं हजार वर्ष पहिलाका कर्नाटक, महाराष्ट्र र आन्ध्रप्रदेशका आदिवासी ब्राहृमणलाई त्रिलङ्गा द्राविड भनिन्थ्यो ) । मदन भट्टका अनुसार हाल नेपालमा यिनको सङ्ख्या करिब ५०० जति छ। उदाहरणका रूपमा पशुपतिकै आगमघरमा आजभन्दा करिब २२ पुस्ता अघिदेखि बस्तै आउनुभएका मदन भट्ट नै हुनुहुन्छ। मदन भट्टका नेपाल आउने आदि

पिताको नाम शाम्बसदाशिव भट्ट हो। उनकै सन्तान योगेश्वर भट्टले पशुपतिनाथ र आगमघरको पूजा एउटैले गर्ने गरेका थिए। पछि यी दुवैका पुजारीलाई अलगअलग गर्ने परम्परा बसेअनुसार आगम घरको पूजा गर्ने योगेश्वरका सन्तान मदन भट्ट आज पनि आगमघरका पुजारी हुनुहुन्छ। स्मरणीय कुरा के भने आगमघर भनेको भगवान् पशुपतिनाथको पूजा कसरी गर्नुपर्छ भनि सिकाउने 'पूजाविधि प्रशिक्षण संस्था हो। मदन भट्टका पुर्खालाई नेपाल संवत् ८३४ अथवा सन् १७२४ को वरिपरितिर तत्कालीन राजा जगज्जय मल्लले बनाइदिएका कागजपत्र आज पनि उहाँसँग सुरक्षित छन्। यसैगरी अर्काे उदाहरण लिनुपर्दा विद्वान् विद्यानाथ भट्टको आउँछ। इतिहासविद् बालचन्द्र शर्माको 'नेपालको ऐतिहासिक रूपरेखा' अनुसार "प्रतापमल्लको पालामा दक्षिण भारतबाट स्वामी ज्ञानानन्द र लम्बकर्ण भट्ट नामक दुई तान्त्रिक नेपाल आए। यिनै लम्बकर्णबाट राजा प्रतापमल्लले तन्त्रशास्त्रको ज्ञान प्राप्त गरेका थिए।" विद्यानाथ भट्ट तिनै लम्बकर्णका सन्तान हुनुहुन्छ। यसैगरी गिरिधारी भट्टसमेत आदि अनेक त्रिलङ्गा द्राविड ब्राहृमण हुनुहुन्छ। यी त्रिलङ्गा द्राविड ब्राहृमणहरू खास नेपाली नागरिक हुन् र यिनीहरू श्ैावमार्गी तथा शुक्ल यजुर्वेदी पनि हुन्। शुक्ल यजुर्वेद अनुसार श्रीयन्त्रको प्रयोग गरेर शिवको पूजन गर्ने विधिमा पनि उहाँहरू प्ाारङ्गत हुनुहुन्छ। फरक यति मात्र छ कि अघिल्ला मूलभट्टले पशुपतिनाथको पूजा गर्ने कामबाट अवकास लिएर हिंड्ने बेलामा उनीपछि आउने मूलभट्टलाई मन्दिरभित्रै पशुपतिकै मूर्ति सामुन्ने अन्तिम दीक्षा दिएर पुरानो मूलभट्ट त्यहाँबाट हिंडेपछि पुनः उसले मन्दिर प्रवेश नगर्ने परम्परा छ। यसै परम्पराले गर्दा यसभन्दा अघि मूलभट्टमा नियुक्त गरिनुभएका नेपाली नागरिक ब्राहृमण डा.विष्णु दाहाललाई वर्तमान मूलभट्ट महाबलेश्वरले दीक्षा दिन नमानेपछि मामिला झनै अल्भिmन पुगेको थियो।

विन्ध्याचल पर्वतभन्दा दक्षिणकै द्राविड ब्राहृमणलाई नै ल्याएर पशुपतिनाथको पुजारी बनाउने परम्परालाई नै कायम राख्ने हो भने पनि नेपाली नागरिकता दिने एउटा विशेष परिस्थिति अहिलेकै संविधान निर्माणकै क्रममा राखेर भट्ट नियुक्ति हुनुभन्दा अगाडि उनलाई पशुपतिनाथको पूजा गर्ने सेवा अवधिसम्मका लागि नेपाली नागरिकता दिएर पुजारी बनाउन पनि सकिन्छ। भट्ट पुजारीले आˆनो सेवा अवधिपछि नेपालकै नागरिक भएर बस्न रुचाए सो नागरिकतालाई निरन्तरता दिने र फर्केर भारत नै जान चाहे नेपालको नागरिकता फिर्ता गर्ने सर्त राख्न सकिन्छ। यहाँ रहँदा जन्मेका उनका छोराछोरीलाई यहीं बस्न चाहे यहींको नागरिकता दिने र नचाहेमा बाबुआमासँगै भारत र्फकेर जाने पनि गर्न सकिन्छ। यसो गर्दा पशुपतिसँग गाँस्ािएको हाम्रो राष्ट्रियता उचो रहने कुरामा दुईमत नहोला।

केही दिन अगाडि चैत २० गतेका दिन पशुपति परिसरमै नयाँ नियमावली सार्वजनिक गर्ने क्रममा पशुपति क्षेत्र विकास कोषले संस्कृतिमन्त्री श्री गोपाल किरातीको उपस्थितिमा एक पत्रकार सम्मेलनको आयोजना गरेको थियो। सो पत्रकार सम्मेलनमा एकजना पत्रकारले "अघिल्लो नियमावली पनि तपाईंले नै स्वीकृत गर्नु गराउनुभएको थियो, अहिलेको पनि तपाईले हो, अब नेपाली नागरिक पुजारी हुन पाउने कि नपाउने भनेर प्रश्न राखेका थिए। "सबै कुरा एकैचोटि खोज्दा हात लाग्यो सुन्ना हुने भएकाले यतिखेर यति मात्रै गरिएको छ"भन्ने जवाफ आयो मन्त्रीको।

जे होस् आजदेखि पशुपतिक्षेत्र विकास कोष मन्दिर तथा पूजा व्यवस्था नियमावली २०६८, लागू भएको छ। इतिहासमा कहाँ के भयो वा के भएनभन्दा पनि अब यस नियमावलीको व्यावहारिक पक्षतिर सबैले लाग्नुपर्ने भएको छ। ऐन नियम जस्ता कुराले एकै पटकमा पूर्णता पाउने होइन। यसलाई समय सान्दर्भिक बनाउँदै जानका लागि समय समयमा संशोधन गर्नुपर्ने पनि हुन्छ। र त्यो गर्नु पनि पर्छ। यतिखेरै पनि खासगरी पशुपतिमा काम गर्ने भण्डारीको सामाजिक सेवा सुविधामा केही कमी महसुस यस कारणले पनि देखिएको छ कि सम्पूर्ण पशुपतिको सेवा सुरक्षा हजारौं वर्षदेखि यही समुदायले गर्दै आएको थियो र छ। उचित समयपछि यसमा संशोधन गरेर उनीहरूको हितको संरक्षण गर्नुपर्छ।

नियमावलीमा रहेको "त्रिलिङ्गा द्राविड ब्राहृमण" भन्ने शब्दावलीले धेरै नेपालीलाई झस्काएको अवश्य छ तर यी माथिका प्रमाणका आधारमा हेर्दा ती शब्दावलीले सधैँभरि भारत मात्र नजनाएर नेपाल पनि जनाएको छ। सवाल यहाँ त्रिलिङ्गा द्राविडको होइन बरु सवाल नेपाली नागरिक ब्राहृमणको हो जसले आगम घरको प्रशिक्षण अनुसार पशुपतिनाथको पूजा गर्न सकोस्। अन्तिममा रहृयो कुरा राजनीतिक व्यवस्थापनको। शदियौंदेखि रहेको र खासगरी विगत २०० वर्षदेखि हटाइनुपर्ने मुद्दा बनेर पशुपतिमा रहेको व्यक्तिगत रूपमा भेटीघाटी बाँडेर खाने परम्पराको आजदेखि अन्त्य हुँदैछ। राजनीतिक नेतृत्वविना यो सम्भव थिएन। किलोलाई उखेल्न त्यसको फेदैमा खनेर प्रचण्ड सरकारको पालामा पानी हालिएको थियो तर हल्लाएर उखेल्ने काम वर्तमान व्यवस्थापन र त्यसमध्येमा पनि व्यवस्थापनको नेतृत्वमा रहेका सदस्य सचिव सुशील नाहाटाको अथक प्रयत्न, कोषाध्यक्ष नरोत्तम वैद्यको शदियौंदेखिका भेटीघाटीका सरोकारवाला समुदायलाई विश्वासमा लिने अथक प्रयास र भण्डारीका प्रतिनिधि एवं पुराना र पाका पत्रकार शिवशरण भण्डारीको सुझबुझपूर्ण व्यवहार नभइदिएको भए फेरि पनि यो सम्भव थिएन। त्यसकारण यी तीनै व्यक्तित्वलाई राष्ट्रले देख्ने गरी सम्मान गर्नुपर्छ। (लेखक पशुपतिक्षेत्र विकास कोष परिषद्का सदस्य हुनुहुन्छ।)

 

 
अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home