काठमाडौँ, चैत २५ गते। साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.०९ अङ्कले वृद्धि भई अन्तिम दिन ३०२.४४ अङ्कमा पुगेको छ ।
तीन सयको अङ्कभन्दा कममा नेप्से आइपुगेको अवस्थामा लगानीकर्ताहरूको चिन्ता निकै बढेका बेला नेप्से परिसूचक र कारोबार दुवैमा सामान्य सुधार देखिएको छ।
शान्ति प्रक्रियाको अन्त्य हुने सङ्केत देखिएको र आगामी जेठ १४ भित्रमा नै नयाँ संविधान आउने सम्भावना बढ्दै गएका बेला आगामी दिनमा पनि नेप्सेमा सुधार आउन सक्ने विज्ञहरूले बताएका छन्।
यस साता नेपाल स्टक एक्सचेञ्जमा १२५ कम्पनीहरूको कारोबार भएको छ, जस अनुसार ४६३८ कारोबारबाट १४ करोड १४ ल्ााख ८८ हजार रुपियाँ बराबरका आठ लाख एक हजार ३६ कित्ता सेयरहरू खरिद-बिक्री भएका छन्। गत साता १२५ कम्पनीहरूको कारोबार भएको थियो, जस अनुसार ५२७५ कारोबारबाट १३ करोड ७६ ल्ााख ९६ हजार रुपियाँ बराबरका सात लाख १४ हजार तीन सय ९४ कित्ता सेयरहरू खरिद बिक्री भएका थिए।
कारोबार रकममा गत साताको तुलनामा २.७५ प्रतिशतले वृद्धि भएको हो। कुल कारोबारमध्ये 'क' वर्गका कम्पनीहरूको मात्र चार करोड ८० लाख रुपियाँ बराबरको कारोबार भएको छ। यो कुल कारोबारको ३३.९४ प्रतिशत हो।
'क' वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.८७ अङ्कले वृद्धि भई ७४.९६ अङ्कमा आई पुगेको छ।
यस साता कारोबार रकम -पाँच करोड २१ लाख रुपियाँ) तथा सेयर कित्ता -दुई लाख ९० हजार सात सय २० कित्ता)को आधारमा नेपाल इन्भेस्टमेन्ट बैङ्क र कारोबार सङ्ख्या -दुई सय ९८ वटा)को आधारमा तिनाउ विकास बैङ्क अग्रस्थानमा रहेको छ।
यस साता नेपाल स्टक एक्सचेञ्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रहृयो। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरूको कुनै पनि कारोबार भएन।