अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
विचार/विवेचना
 
जातमा सीमित हुँदैछ राजनीति
जे.के. विश्वकर्मा
 

एक्काइसौं शताब्दीको पहिलो दशकमै नेपाल नामको यस भूमिमा उथलपुथल गराउने प्रयत्न हुँदैछ, अनौठो सूत्रको प्रयोग गरेर। हाम्रो घर भाँडिदैछ, हामी भाँडिदैछौं। तथ्य आफैं बोल्छ, त्यसलाई भित्रको वा बाहिरको कुनै पनि रूप र प्रकारको लगानी चाहिँदैन, प्रशिक्षण पनि चाहिँदैन। कुनै एक समयमा असाध्यै मिलेका ओल्लो घरका अखण्ड र समृद्धिको युगल जोडी देखेर पल्लो घरको सुरक्षालाई खपिनसक्नु भएछ। सुरक्षाको चिन्ता थियो- अखण्ड र समृद्धिको जोडी मभन्दा समृद्ध नबनुन्, चिन्तन थियो- अखण्ड र समृद्धिको घर कसरी भाँडौं। अखण्ड र समृद्धिको घर भाँडिएमा सुरक्षालाई इन्साफ गर्न बोलाउँछन्। आफैँ जान्ने सुन्ने हुन पाइन्छ। जहाँ ऊ 'लाटो देशको गाँडो तन्नेरी' बन्न पाउँछ। सुरक्षाले वर्षौं लगाएर लाखौं डलर खर्च गरेर गजबको सूत्र प्रतिपादन गर्‍यो, जात र बोको। अर्थात् जाँड, तरुनी र बोक्सीको। तदनुरूप सुरक्षाले एकान्तमा लगेर समृद्धिलाई सुटुक्क भनेछ- 'तिम्रा श्रीमान् जाँड र तरुनीमा सल्किएका छन्। नपत्याए आज राति जाँड खाए नखाएको मुख सुँघेर जाँच।' फेरि अखण्डलाई पनि एकान्तमा सुटुक्क भनेछ- 'तिम्री श्रीमती बोक्सी रहिछिन्। नपत्याए आज राति जाँच।'

'विनाशकाले विपरीत बुद्धि' भने झैं अखण्ड त्यस राति निदाएको बहाना गरिरहेको थियो। उता समृद्धिले पनि लोग्नेले जाँड खाएको छ कि भनेर मुख सुँघ्न लागिछिन्। अब त्योभन्दा बढी के चाहियो, झगडाको लागि। अखण्ड भन्न थाल्यो- 'सुरक्षाको सल्लाह ठीकै रहेछ, तँ बोक्सी रहिछेस्, मलाई खान खोज्दै थिइस्।' उता समृद्धि पनि भन्न थालिन्- 'तिमी पनि जँड्याहा रहेछौं अर्कै नकचर्नीसँग लठारिन थालेका रहेछौ।' उनीहरूको घर भाँडियो। पति-पत्नीको झगडा मिलाउन आइपुग्यो उही सुरक्षा। भगवान्ले बाँधिदिएको त्यो सुन्दर जोडीलाई सुरक्षाको जात र बोको सूत्रले सम्बन्ध विच्छेद गर्ने अवस्थामा पुर्‍यायो। उता इन्साफ दिने सुरक्षा हिरो बन्यो।

त्रेता युगमा भगवान रामचन्द्रलाई वनवास जानुनै थियो, भूमिको भार हर्न। त्यसैले कैकेयीमा कुविचारले डेरा जमायो। उनले राजासँग दुईवटा वर मागेरै छाडिन्, रामलाई १४ वर्ष वनवास र भरतलाई अयोध्याको राजा। द्वापरयुगको अन्त्य अवश्यम्भावी थियो। त्यसैले द्वारकावासी यादवहरू मदिराले मत्त भएर काटाकाट गर्दा स्वयं भगवान् कृष्णले त्यसलाई रोक्न कुनै चासो देखाएनन्। अर्जुनको गाण्डिव धनु बेकम्मा बन्यो, न त स्त्रीहरूको सुरक्षा गर्न सके, न त बालबच्चाको नै। प्रारब्धको फल भनौं वा गलत कर्मको नतिजा, नेपालमा राजसंस्थाको अन्त्य अवश्यम्भावी थियो। त्यसैले दैवको कृपास्वरूप राजा बनेका ज्ञानेन्द्र शाहलाई राजनीति गर्ने रहर चढ्यो। अन्ततः राजनीतिमा त्यो स्वाभाविक थियो- कि विजय, कि पराजय।

अब लागौं जातमा सीमित हुँदै गरेको नेपालको अप्राकृतिक राजनीति तर्फ। अहिलेको अप्राकृतिक राजनीति कुनै युगमा पनि समृद्धितर्फ जानै छैन। अप्राकृतिक यसर्थ कि- मानिस जातको यो चेतनशील प्राणी कहिल्यै पनि पूर्णताबाट अपूर्णता तर्फ, फराकिलोबाट, साँघुरोतर्फ, उज्यालोबाट अँध्यारोतर्फ, उन्नतिबाट अवनतितर्फ, समृद्धिबाट भोकमरीतर्फ, मेलमिलापबाट झैझगडातर्फ, ज्ञान र विवेकबाट अज्ञानतातर्फ, प्रविधिबाट ढुङ्गेयुगतर्फ, मानवताको बृहत् पहिचानबाट जातको साँघुरो पहिचानतर्फ र्फकनै चाहँदैन। तर नेपालको राजनीतिलाई मानवताको बृहत् पहिचान र परिचयबाट जातिवादको साँघुरो घेरातर्फ फर्काउन जबर्जस्ती प्रयास हुँदैछ। अखण्ड र समृद्धिको आशंका, कैकेयीको कुविचार र यादवहरूको मदिरामत्त नेपालको अप्राकृतिक राजनीतिमा प्रयोग हुँदैछ, ग्रहण गरिँदैछ। अहिलेको अप्राकृतिक राजनीतिलाई मलजल गर्ने 'सुरक्षा'हरू एनजीओ र आइएनजीको नाममा यत्रतत्र छँदैछन्। यतिविघ्न बुद्धि भुट्दा पनि कहीँकतै नपोल्नु हामी नेपाली जाती विचित्रका प्राणी रहेछौं।

क्रमिक विकासको सिद्धान्तका प्रतिपादक डार्विनलाई गुरु मान्ने हो भने हामी बाँदरको विकसित रूप हौं। बाँदरको एउटा प्रजातिको विकसित रूपचाहिँ आर्य र बाँदरको अर्को प्रजातिको विकसित रूपचाहिँ अनार्य। अनि बाँदर जातिको क्रमिक विकास कहिलेबाट अवरुद्ध भयो ? त्यही बाँदरको प्रजातिबाट विकास भएका हामी आर्य र अनार्यहरू निमेष बराबरको विवेक प्रयोग गर्न पनि चुकिरहेका छौ कि, विकासवादी सिद्धान्तमा जातीयता कहीँकतै देखिदैन। अनि नेपालमा चाहिँ जातीय राजनीति कसले गरायो ? किन गरायो ? नेपालको राजनीतिलाई जातीयताको सूत्रद्वारा उथलपुथल हुनबाट रोक्ने हो भने सबैले सोचौं कि जातीयताको भर्‍याङ चढेर गन्तव्यमा पुगिन्न। ओबामा जातीयताको भर्‍याङ नटेकेरै अमेरिकाको राष्ट्रपति बने।

धर्मशास्त्रलाई आधार मान्ने हो भने हामी मनुका सन्तान हौं। हाम्रो टाउकामा चिमट्दा जति दुख्छ, पाउमा चिमट्दा पनि त्यति नै दुख्छ। पाउ तल्लो कोटीको अङ्ग हो भनेर सफा नगर्न वा काटेर फाल्न कोही पनि तयार हुँदैन। त्यसर्थ तीनै मनुका सन्तान शिरबाट पैदा हुने एक जाति, कुमबाट पैदा हुने अर्को जाति र पाउबाट पैदा हुने अर्कै जाति हुनै सक्दैनन्। विवेक भुट्ने र भुटिने क्रममा जातिवाद सिर्जना भएको हो। भूगोल, हावापानी, सूर्यको किरण, खानपान इत्यादिको प्रभावमा हजारौं वर्षमा मानिसको रूप र रङमा भिन्नता आउनु स्वाभाविक हो। त्यसकारण पनि नेपालमा भइराखेको अहिलेको जातिवादको राजनीति अप्राकृतिक छ। अप्राकृतिक यात्राको विश्राम वियोगान्त नै हुन्छ। त्यसैले जातीय राजनीति गरेर वियोगान्त परिणाम नबेहोरौं।

विवेकलाई बेचेर वा विवेकलाई बन्धकी राखेर जातिवादको भुमरीमा हामफाल्नु अन्ततः यो मुलुकको अखण्डतामा तुषारापात गर्नु नै हो। अहिले आत्म-निर्णयसहितका जातीय राज्यको माग त्यहीँ अप्राकृतिक राजनीतिको प्रतिफल हो। आत्मनिर्णयको अधिकारका बारेमा लेनिन भन्छन्- 'राष्ट्रको आत्मनिर्णयको अधिकारको अर्थ राजनीतिक रूपमा छुट्टइिर् स्वतन्त्र राज्यको स्थापना गर्ने भनी बुझ्नुपर्दछ। आत्मनिर्णयको अधिकारलाई स्वतन्त्र राज्यको अस्तित्वभन्दा फरक बुझ्नु गलत हुनेछ।' लेनिनको त्यहीँ सिद्धान्त अन्तर्गत सन् १९३५ मा खडा भएको सोभियत सङ्घ अन्ततः सन् १९९० मा १५ वटा मुलुकमा विभाजन हुन पुग्यो। जातीय राज्यकै लागि नयाँ दल खोल्नेसम्मका हल्ला अखबारमा छापिएकै छन्। जातिवादको वकालत गर्नेहरूमा यतिसम्म सोच्ने क्षमता पनि छैन कि जनआन्दोलन-२, ०६२/०६३ जातीय राज्य खडा गर्नका लागि भएकै थिएन। शान्ति र संविधानको महाअभियान छाडेर, सर्वोच्चको फैसलाको महत्वलाई बेवास्ता गर्दै जातीय राज्य नमिल्ने भए शान्ति र संविधान नै चाहिन्न भन्ने अवस्थामा पुगेका छन्, जातको नाममा राजनीति गर्नेहरू।

यतिबेला विभिन्न दलका जनजातीय नेताहरू स्वायत्त जातीय प्रदेश स्थापनाका लागि संयुक्त जातीय मोर्चा निर्माण गर्ने र आवश्यक परे पार्टी नै खोल्ने अभियानमा जुटिरहेका छन्। जातीय राजनीतिको पारो कति चढ्दैछ भन्ने कुरालाई यी तथ्यले पुष्टि गर्दछ। 'स्वायत्त जातीय प्रदेश स्थापना गर्न सकारात्मक नभएको भन्दै जनजाति नेताले अधिकारका लागि जातीय मोर्चा मात्र होइन आवश्यक परे पार्टी नै खोल्ने रणनीति बनाएका छन्। यो अभियानमा एमाले उपाध्यक्ष अशोक राईसहित नेता किरण गुरुङ, पृथ्वी सुब्बा गुरुङ, पासाङ्ग शेर्पा लगायतका छन्। त्यस्तै काँग्रेसका विजयसन्तोषी राई र इन्द्रबहादुर गुरुङ र माओवादीबाट महासचिव रामबहादुर थापा बादल, देव गुरुङ, हितमान शाक्य, र गोपाल किराँती पनि बैठकमा सहभागी थिए।' -नयाँ पत्रिका, चैत ७, ०६८) 'जनजातिको मुद्दा उठाउँदा पार्टीले बहिष्कार गर्छ भने म त्यो घेरा तोड्न तयार छु, समयले मागे हामीले पार्टी नखोले पनि जनताले त खोल्छन्।', 'देशले मागे नयाँ पार्टी गठन हुन्छ, अहिले अधिकारका लागि दलमा शीर्ष नेताहरूको विश्वासपात्र मानिनेहरू पनि जनजातिको संयुक्त मोर्चाको पक्षमा छन्।'

-क्रमशः पृथ्वी सुब्बा गुरुङ र आनन्दसन्तोषी राई, नयाँ पत्रिका, चैत ७, ०६८)।

उपरोक्त कथित नेताहरूले भनेझैं जातीय मोर्चा निर्माण गर्दै जाने हो भने नेपालमा झण्डै ११८ वटा जातीय मोर्चा बन्नेछन्। २०६८ को जनगणनाको प्रारम्भिक नतिजाले करिब ११८ जातजाति नेपालमा रहेको देखाएको छ। जातीयवादी राजनीतिज्ञहरूले तथ्य बुझ्नै सकेका छैनन्। झापामा बस्ने मगर र कैलालीमा बस्ने मगरले बीचको मगरात प्रदेशबाट के सहुलियत र सुविधा प्राप्त गर्ने ? ताप्लेजुङको नेवारले उपत्यकाको नेवाः राज्यबाट के सहुलियत र सुविधा प्राप्त

गर्ने ? काठमाडौँ नेवाः राज्य घोषित हुँदा खोटाङको नेवार ताली बजाएर बस्ने ? कि मुलुकभरिका नेवारजति काठमाडौँमा बसाइँ सर्ने ? अनि कुनै एउटा जातिको नेता बनेर मुख्यमन्त्री भएको जातीय राज्यको कुनै नेतालाई अरु जातिले किन मन्त्री मान्ने ? त्यो अधिकारको उपभोग गर्न उसले पाउने कि नपाउने ? सुरक्षाको सल्लाह मान्ने अखण्ड र समृद्धि, कैकेयीमा पसेको कुविचार, द्वारका निवासी यादवहरूको मदिरामत्त र राजनीति गर्न तम्सिने ज्ञानेन्द्र शाह र जातीयतावादी राजनीतिज्ञबीचको भिन्नता कहाँ भेट्टाउने ? नेपालीजातिको नेता बनिसकेका मझौला नेताहरू कोही जातीय घेरामा, कोही मधेसको भूगोलमा, कोही हिन्दी भाषाको टापुमा सीमित हुन चाहिरहेको देख्दा लाग्छ- यो अप्राकृतिक यात्राको विश्राम ब्रहृम, विष्णु र महेश्वरले चाहे पनि संयोगान्त बन्नेछैन। आजसम्म यो धर्तीमा प्रकृतिविपरीतको यात्रा सफल भएको कहीँकतै छैन। जातिवादी अप्राकृतिक राजनीतिको यात्रा सोभियत सङ्घ, नाइजेरिया, सुडान, युगोस्लाभिया, युगान्डा कतै संयोगान्त बन्न सकेन र आजसम्म सङ्घीयताको आधार जातीयतालाई बनाएकै कारण समृद्धि हासिल गरेका मुलुक पृथ्वीलोकमा चाहिँ एउटा पनि छैनन्। नेपाल अपवाद हुनै सक्दैन।

 
अन्य शीर्षक
महिनावारी तथा पाठेघरसम्बन्धी समस्या
भाषाको स्वतन्त्र मार्गमा अवरोध नगरौं
दोस्रो विवाहको संस्कृति
बजेटको बखेडा
सम्पर्क भाषामा संस्कृतको स्थान
झिनामसिना होइन, मूल कुरातिर लागौं
जंगली च्याउ खानु कि नखानु
विद्यार्थीको अन्योल, अभिभावकको चिन्ता
राजनीतिक वस्तुस्थिति
उच्चशिक्षाका लागि स्वदेश कि विदेश ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home